निरा आचार्यको हत्या रहस्यमय बन्दै गएको छ । कपनस्थित सरस्वती नगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको ८ वैशाखमा चक्कु प्रहारबाट बीभत्स हत्या भएको थियो ।
आचार्यको हत्या भएको एक साता बितिसक्दा पनि प्रहरीले हत्याराबारे अझैसम्म कुनै ‘क्लु’ नै फेला पार्न सकेको छैन । निराका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिन थालेका छन् । निराका आफन्तले निराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिन थालेका छन् । निरा हत्याबारे प्रहरीले अनुसन्धान गर्न छुट्टाछुट्टै समितिसमेत बनाएको छ ।
उपत्यका प्रहरी कार्यालय रानी पोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ । त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयले एसपी रवीन्द्र रेग्मीको नेतृत्वमा समिति बनाएको छ । त्यस्तै, प्रहरी वृत्त बौद्धले समेत प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धान समिति बनाएको छ । यीबाहेक जिल्ला प्रहरी कार्यालय काठमाडौंले समेत सादा पोशाकका प्रहरी निरीक्षकको टोलीमा छुट्टै प्रहरी टोली खटाएको छ ।
निरा हत्याबारे विभिन्न कार्यालयले छुट्टाछुट्टै प्रहरी टोली खटाए पनि अझैसम्म कुनै टोलीले हत्याबारे खास ‘क्लु’ भने फेला पार्न सकेको छैन । उपत्यका अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले निरु हत्याबारे अनुसन्धान अझै जारी रहेको बताए ।
यो पनि : कपनमा दिनदहाडै भएको निराको बीभत्स हत्याबारे प्रहरी अनुसन्धान अझै जहाँको त्यहीँ
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भने अनुसन्धान सही ट्र्याकमा रहेको भन्दै ढिलो चाँडो हत्यारा पक्राउ पर्ने दाबी गरे । ‘क्लु नै नभेटिएको भन्ने होइन । हामी अनुसन्धानको सही ट्र्याकमा छौँ । हत्यारा पत्ता लाग्छ,’ उनले भने ।
प्रहरीले निराको हत्या आर्थिक कारणले भने नभएको दाबी गरेको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘निराको हत्या आर्थिक कारण भएको जस्तो देखिँदैन । उनको बाहिर कुनै व्यक्तिसँगको दुस्मनी पनि देखिएको छैन । बाहिर आशंका गर्ने कुनै ‘क्लु’ फेला परेको छैन ।’
निराको हत्या भएको पसलभन्दा केही दूरीमै उनकै श्रीमान् योगेन्द्र आचार्यले छुट्टै इलेक्ट्रिकल पसलसमेत सञ्चालन गरेका छन् । तर, उनका श्रीमान्ले समेत हत्याबारे कुनै चाल नपाएको प्रहरीले जनाएको छ । निराकी एक छोरी छन् ।
प्रहरी स्रोतका अनुसार निरा र उनका श्रीमान् योगेन्द्रबीचको सम्बन्ध सुमधुर नभए पनि सामान्य रहेको बताएको छ ।हालसम्म प्रहरीले निराका नजिकका करिब २० जनाभन्दा बढी व्यक्तिमाथि सोधपुछ गरिसकेको छ ।
सीआईबीले देखायो चासो
निरा हत्याको करिब एक हप्ता बित्न लाग्दासमेत पत्ता नलागेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समेत चासो देखाएको छ । ठूला र जटिल खालका अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरीको सीआईबीले मंलगबारबाट घटनाबारे चासो देखाएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) को सिधा सम्पर्कमा रहेर काम गर्ने सीआईबीलाई प्रहरी प्रधान कार्यालयबाट अनुसन्धानका लागि पत्राचार नभए पनि घटना जटिल बन्दै गएपछि सीआईबीले चासो दिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
‘हामीलाई अनुसन्धान गर्ने निर्देशन आएको छैन । तर, बीभत्स हत्या भएका कारण हामीले चासोमा राखेका छौँ,’ एसएसपी आचार्यले भने । निराले सञ्चालन गरेको पसल र आसपासको सडकछेउका सीसीटीभी फुटेजसमेत नहुँदा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको छ ।
प्रहरीले चाबाहिलदेखि निराले सञ्चालन गरेको पसलसम्म जाने बाटोको सीसीटीभी फुटेज संकलन गरेर हत्या गरिएको समयसँग शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धान थालेको छ ।
यो पनि : निरा पाण्डेको हत्यामा संलग्नमाथि कारबाही हुन्छ: गृहमन्त्री श्रेष्ठ
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० १६:५२