नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाईगोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाईगोरु दैलेख लैजान स्वीकृति दिएको थियो। नगरपालिका प्रमुख डा. धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभई ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन्।
तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन्। सो प्रकरणपछि चौतर्फी विरोध भएको छ भने घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिएको छ।
गृह मन्त्रालयले मृत भेटिएका ३० वटा गौहत्या प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ।
शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको जनाएको छ।
गाई मारिनुको कारणबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन गृहले समितिलाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६ १६:३६