‘स्ट्यान्ड अप कमेडी’ बाट अरुलाई हँसाउने अपूर्व क्षितिज सिंहका लागि वर्ष २०७९ सुखद रहेन । नेवारी समुदायको आस्थामाथि आघात पुग्ने गरी कमेडी गरेको जाहेरीपछि प्रहरीले उनलाई १२ भदौमा पक्राउ गरी हिरासतमा लियो ।
'कमेडी क्याफे'को युट्युब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा सिंहले गरेको स्ट्यान्डअप कमेडी भिडियो पोस्ट गरिएको थियो । जसमा सिंहले भनेका छन्, ‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ । नेवारी टोन । क्या मीठो गरी बोल्छन् नि नेवारहरू । 'त' भन्नै सक्दैनन् । 'त' लाई 'ट' भन्छन् । क्या मजाको सुनिन्छ नि । 'त' भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको ?’
यसबाहेक महिला, नेवारी खानालाई लिएर पनि अपूर्वले गरेको कमेडीप्रति नेवा: अभियन्ताले आपत्ति जनाएका थिए ।
यो कमेडीले नेवा: भाषा, संस्कृति र सभ्यतामाथि अपमानजनक व्यंग्य गरेको भन्दै ११ भदौमा ८५ जनाले अपूर्वविरुद्ध प्रहरीमा जाहेरी दिए । आफूविरुद्ध जाहेरी परेकै दिन युट्युबबाट भिडियो हटाउँदै अपूर्वले माफी मागे । त्यसको भोलिपल्ट उनी पक्राउ परे । यसपछि अपूर्व पक्राउको घटना बहसमा आयो । कसैले कमेडीका नाममा कसैको आस्थामाथि चोट पुर्याउन नहुने तर्क गरे भने धैरैले कमेडी गर्दैमा पक्राउ गरी मुद्दा चलाउन लागिएकोमा विरोध जनाए । नेकपा एमालेले त अपूर्वमाथि अत्याचार भएको भन्दै रिहाइका लागि संसदमै आवाज उठायो ।
उनको पक्षमा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘आई एम सरी अपूर्व क्षितिज’ अभियान नै चलाए । ८ दिनसम्म हिरासतमा राखिएपछि जाहेरीकर्ताहरूले अपूर्वले माफीसमेत मागिसकेकाले क्षमा दिन प्रहरीलाई अनुरोध गरे । तर, धेरै शीर्षकमा जाहेरी आएको भन्दै प्रहरीले उनलाई छोडेन । उनीविरुद्ध चारवटा मुद्दा चलाइएको थियो ।
यसैबीचमा अपूर्व बिरामी भएर वीर अस्पतालमा भर्ना भए । केही दिनपछि उनलाई कोरोना संक्रमण पुष्टि भयो । यही कारण २३ भदौमा उनलाई साधारण तारेखमा रिहा गरियो । तर, ३१ असोजमा प्रहरीले उनलाई फेरि पक्राउ गर्यो । त्यसपछि उनी ३ कात्तिकमा २ लाख ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा भए ।
कुनै समुदाय, क्षेत्र वा जातिमाथि व्यङ्ग्य गरिएको सामग्री विवादित बनेको यो नै पहिलो घटना थिएन । तर, यसै कारण कलाकारलाई जेल कोचिएको घटनाचाहिँ विरलैमध्ये एक थियो । यसअघि कमेडियन प्रनेश गौतमलाई व्यङ्ग्यात्मक भिडियोकै कारण हिरासत लैजाँदा प्रहरीको खुब आलोचना भएको थियो । त्यसपछि उनलाई रिहा गरेको प्रहरीले अपूर्वको हकमा कुनै लचिलोपन देखाएन । बरु अभियन्ताले माफी माग्दासमेत छोड्न मानेन । संघीय चुनावको मुखमा जातिवादी राजनीति गर्ने केही अभियन्ताले अपूर्वको विषयमा राजनीति गरेको ठम्याउन गाह्राे पर्दैन ।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १५:३४