नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार रहेको ऊर्जा क्षेत्रको विकासका लागि सम्पूर्ण ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरेका छन् ।
सिंहदबारस्थित मन्त्रालयमा आज पदवहालीका क्रममा उनले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै मुलुक र जनतालाई लाभ हुने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे । सबैको विज्ञताको भरपुर सदुपयोग गर्दै मन्त्रालय र मातहत निकायको कामलाई प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा बस्नेतको जोड थियो ।
ऊर्जामन्त्री बस्नेतले मुलुकको विकासका निम्ति ऊर्जाको विविध आयामको अवसरको भरपुर सदुपयोग गर्न जरुरी रहेको भन्दै उक्त प्रयोजनका निम्ति नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे । 'देशको समृद्धिले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्छ । मानिसमा पैदा भएको निराशालाई आशावादी बनाउने ढङ्गले परिणाममुखी काम गर्न जरुरी छ,' उनले भने ।
मन्त्री बस्नेतले मुलुक विशिष्ट परिस्थितिमा रहेकाले विशिष्टीकृत ढङ्गले काम गर्न जरुरी रहेको खाँचो औँल्याए । 'मानिसमा आशावाद जगाउन जरुरी छ । मुलुकको आवश्यकताका आधारमा ‘टिम स्पिरिट’का साथ इमान्दारीपूर्वक काम गर्न सबै सक्रिय हुनुपर्छ,' उनले भने ।
ऊर्जामन्त्रीको पहिलो निर्णय
ऊर्जामन्त्री बस्नेतले पदबहालीसँगै पहिलो निर्णयका रूपमा विश्व मौसम सङ्गठन (डब्लूएमओ) बाट विकास भई मन्त्रालयमा रहेको ‘साउथ एसिया फ्लास फ्लड गाइडेन्स सिस्टम’ तथा डब्लूएमओसँग सम्बन्धित कार्यका लागि समन्वय र सहकार्य गर्न सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखालाई फोकल शाखा र उक्त शाखाका सी.डी.हाइड्रोलोजी सुनिल पोखरेललाई नेशनल फोकल प्वाइन्ट तोक्ने निर्णय गरिएको छ ।
ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले अनुभवी र निर्भिक मन्त्री पाएको भन्दै मन्त्रीको स्पिरिटमा मन्त्रालयको कामलाई नतिजामुखी बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गरे । उनले मन्त्रालय मातहत निकायको कामलाई प्रभावकारी समन्वयका साथ अघि बढाउने उल्लेख गरे ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १९:२६