‘विश्वविद्यालय विश्वविद्यालय जस्तो अनुभूत हुँदैन । अहिले छिर्दै गर्दा विश्वविद्यालयमा छिरिरहेको जस्तो लाग्दैन,’ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको प्राङ्गणमा रहेका स्नातकोत्तरमा अध्यनरत विनोद धमलाले निराशा पोखे ।
‘कस्तो हुनुपर्थ्यो त विश्वविद्यालय ?’
‘हराभरा र सिस्टम बसेको हुनुपर्थ्यो,’ उनले भने । तर, हिजोआज विश्वविद्यालयको प्राङ्गण डाइभिङ सिक्ने थलो र चरन क्षेत्र बनेको छ । ‘ज्ञानको थलो बन्नुपर्ने होइन र ?’ उनले प्रतिप्रश्न गरे । यो त विश्वविद्यालयको बाहिरी आवरण हो ।
विश्वविद्यालयभित्र पनि बेथितिको चाङ छ । ‘ई–लाइब्रेरी छैन । ल्याबमा सामग्री छैन । सरहरूले विदेशमा पीएचडी गर्दाको फोटो देखाएर पढाउनुहुन्छ । फोटो हेरेर के सिकिन्छ ? गाउँबाट मास्टर्स गर्न आएको । बिहानदेखि बेलुकासम्म कलेजमा बस्नुपर्छ । खोई रोजगार ?’ उनी प्रश्न गर्छन् ।
क्याम्पसको प्राङ्गणमै रहेकी स्नातकोत्तरमा अध्ययनरत रविना मिश्रको गुनासो पनि उस्तै छ । ‘छात्राबासको समस्या कसले समाधान गर्छ ? छात्राबासको प्रयोजनका लागि बनाएको भवनमा विद्यार्थीलाई राख्नुपर्छ । साथीहरूले होस्टेल पाएको छैन । गाउँदेखि टाढाबाट आएका विद्यार्थी कहाँ बस्ने ?’ उनले विद्यार्थीहरूको छात्राबासको समस्या सुनाइन् ।

०००
विश्वविद्यालयको प्राङ्गण यतिबेला स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावले तातेको छ । क्याम्पस वपरिपरिका चिया पसलमा विद्यार्थी नेताको उपस्थिति बढेको छ । तर, यसपटक प्रचारप्रसारको शैली फेरिएको छ । विगतमा जस्तो तडकभडक छैन । सामान्य पर्चा बाँडिएको छ । स्वतन्त्र उम्मेदवारहरूले पर्चासमेत नबाँडी मत मागिरहेको देखिन्थ्यो ।
क्याम्पसको प्राङ्गणमा अध्यक्षका उम्मेदवारहरू विद्यार्थीसँग मत माग्न व्यस्त देखिन्थे । विद्यार्थीहरू आफ्नो समस्या उम्मेदवारसँग राखिरहेका थिए ।
१४ वर्षपछि विश्वविद्यालयमा हुन लागेको चुनावले उत्साही देखिन्थे विद्यार्थीहरू । ‘१४ वर्षपछि स्ववियु चुनाव हुँदै छ । स्नातक पढ्दा मत दिन पाएका थिएनौँ । यसपटक पाउने भयौँ,’ मिश्रले भनिन्, जो नेतृत्वमा जितेर आउनुहुन्छ सबै विभागको विद्यार्थीको समस्या के छ ? कुन क्षेत्रमा समस्या छ त्यसको पहिचान गर्ने नेतृत्व विश्वविद्यालयलाई आवश्यक छ,’ मिश्रले भनिन् । विश्वविद्यालयको समस्या समाधान गर्न विनोद र रविना स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएका छन् ।
तर, केन्द्रीय क्याम्पसमा कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपालगायतका मुख्य दलका भ्रातृ संगठन र स्वतन्त्र विद्यार्थीसमेत चुनावी प्रतिस्पर्धामा छन् । सबै उम्मेदवारको एजेन्डा लगभग उस्तै छ- विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउने ।

अत्याधुनिक विश्वविद्यालय बनाउने नेविसंघको परिकल्पना
कांग्रेस निकट नेविसंघले अध्यक्षमा श्यमराज ओझालाई अगाडि सारेको छ । उनको नेतृत्वमा नेविसंघ चुनावी मैदानमा छ । ‘व्यवस्थित र अत्याधुनिक विश्वविद्यालय हाम्रो परिकल्पना हो यसैलाई आधार बनाएर घोषणपत्र तयार पारेका छौँ,’ नेविसंघका उम्मेदवार श्यामराज ओझाले शिलापत्रसँग भने, ‘क्यालेन्डर पालना गर्नुपर्ने, राजनीति नियुक्तिबाट पदाधिकारी हुन नहुने, २४ घण्टा पुस्तकालय खुला हुनुपर्ने, विश्वविद्यालय अनुसन्धानको केन्द्र बनाइनुपर्ने हाम्रो एजेन्डा छ ।’
उनी लामो समयदेखि विश्वविद्यालयको नीतिगत, संरचनागत, पाठ्यक्रमको सुधारको विषयमा आवाज उठाउँदै आएको दाबी गर्छन् । ‘शौचालयदेखि क्यान्टिन र होस्टेलसम्मको सुधार गर्नुपर्ने छ । यसका लागि उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

एमालेनिकट अनरेरास्ववियुको नाराः भिजन टेन–टेन
एमालेनिकट अनेरास्ववियुले अध्यक्षमा प्रकाश विष्टलाई अगाडि सारेको छ । विष्टको नेतृत्वले ‘भिजन टेन टेन–टेन’ नारा दिएर विद्यार्थीसँग मत मागिरहेको छ । एकेडेमिक विकासमा १० र संस्थागत विकासमा १० वटा नारा बनाएर अनेरास्ववियुले विद्यार्थीसँग मत मागिरहेको छ ।
‘विद्यार्थीलाई रिसर्च सेन्टरमा जोड्नुपर्छ । पुस्ताकालय २४ सै घण्टा सञ्चालन गर्नुपर्छ । सक्षम सेवा आयोग, क्यालेन्डर पालना, अनुसन्धान केन्द्रको सबलीकरणको एजेन्डा अनेरास्ववियुको छ,’ उनले भने, ‘आइडल विश्वविद्यालय कस्तो हुनुपर्छ भनेर विद्यार्थीमाझ पुगिरहेका छौँ । परम्परागत बाटोमा चलिरहेको स्ववियु संरचना अब चल्दैन,’ उनले भने ।

राजनीति भागबन्डा बन्द हुनुपर्छ–अखिल क्रान्तिकारी
मओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट अध्यक्षमा विपिन विकले उम्मेदवारी दिएका छन् । राजनीति भागबन्डा र हस्तक्षेप बन्द हुनुपर्ने एजेन्डा क्रान्तिकारीको छ । ‘पूरा नहनुे ठूला–ठूला सपनाहरू बाँडेका छैनौँ । विश्वविद्यालयले सर्टिफिकेटधारी बेरोजगार उत्पादन गरेको छ । रोजगारमुलक उद्यमशील तयार पार्ने एजेन्डा छ,’ विकले भने ।
प्रविधिमैत्री विश्वविद्यालय बनाउन पहल गर्ने उनको योजना छ । ‘शिक्षकले २०४५ सालदेखिको नोट पढाउने गरेको छ । च्यातिएको नोट नै पढाएर बस्ने दिनको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्छ । पढ्दै कमाउदै कार्यक्रमलाई कार्यन्वयन गर्नुपर्छ ।’

राजनीतिको अखडा र भागबन्डाको अन्त्य– अनेरास्ववियू
एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू पनि चुनावी मैदानमा छ । अनेरास्ववियूबाट समीर गौतमले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियूले विश्वविद्यालयलाई राजनीतिको अखडा र भागबन्डाको अन्त्य गर्नुपर्ने एजेन्डा ल्याएको छ ।
‘त्रिवि अस्तव्यस्त छ । समयमा नतिजा आउँदैन । क्यालेन्डरअनुसार कोर्स पूरा हुँदैन,’ गौतमले भने, ‘विश्वविद्यालय राजनीति गर्ने अखडा र भागबन्डामा चलेको छ । यसको अन्त्य गर्न उम्मेदवारी दिएको हुँ ।’ प्रश्नपत्रमा सुधार, प्रविधिमा जोड, परीक्षा प्रणालीमा सुधार गर्ने उनको दाबी छ ।

शिक्षाको स्वरुपमा परिवर्तन: स्वतन्त्र उम्मेदवार
त्रिविमा स्वतन्त्र विद्यार्थीले समेत उम्मेदवारी दिएका छन् । पार्टीनिकट नरहेका विद्यार्थीहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । स्वतन्त्रको नेतृत्व दीपक जोशीले गरेका छन् । उनले शिक्षाको स्वरुपमा परिवर्तन गर्ने एजेन्डा ल्याएका छन् । ‘सार्वजनिक र निजी शिक्षामा खाडल छ, यसलाई चिर्न आवश्यक छ,’ जोशीले भने, ‘अहिलेको शिक्षाको स्वरुपमा परिवर्तन गर्न स्वतन्त्र उम्मेदवारी दिएको हुँ । पुरानै सोचबाट त्रिवि चलिरहेकाले छ, अपग्रेड गर्नुपर्छ ।’
पार्टीको नाममा हुने अराजक गतिविधको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ । ‘विश्वविद्यालय भनेको विचार आदानप्रदान गर्ने भूमि हो । पार्टीको नाममा हुने राजनीति गर्ने तर विद्यार्थीको समस्या समाधान नगर्ने चलन छ । विश्वविद्यालयमा दलहरूको हाबी हुनुहुन्न । ज्ञान, क्षमाताको आधारमा विश्वविद्यालय चल्नुपर्छ,’ उनले भने ।
यसरी केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा १२ जनाको उम्मेदवारी परेको छ । सचिवमा ९ जना, कोषाध्यक्षमा ८, प्रत्यक्ष र समानुपातिक गरी सदस्यमा ३३ गरी ६२ जनाको उम्मेदवारी परेको छ । २१ सदस्य स्ववियु समिति निर्वाचनबाट गठन हुनेछ ।

विद्युतीय मतदान, तयारी पूरा
५ चैतमा हुने चुनावको तयारी पूरा भएको क्याम्पस प्रशासनले जनाएको छ । यसपटक विद्युतीय मतदान हुने क्याम्पसका प्रधानाध्यापक ध्यानेन्द्र राईले बताए । ‘तयारी पूरा भएको छ । तोकिएको समयमा विद्युतीय मतदान हुन्छ । डेमो गरेर हेरेका छौँ,’ उनले भने ।
स्ववियुले क्याम्पसमा सुधार आउने उनको विश्वास छ । ‘१४ वर्षपछि चुनाव हुँदैछ । विद्यार्थीको प्रचारप्रसारमा उत्साहित छन् । स्ववियुमा आउने नेतृत्वसँग मिलेर काम गर्छौं,’ उनले भने । उनका अनुसार मतदाता विद्यार्थी ३ हजार ४ सय २६ जना छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ २०:२४