महासागरको घमण्ड बढेपछि
थोपाहरू आज आन्दोलनमा छन्
एक आम्खोरा पानी उघाएर समुन्द्र रित्तिन्न
यो भनाइ सत्य हो कि
थोपाथोपा मिलेर सागर बन्छ
यो सत्य सत्य हो
आज छिनोफानो गर्नुछ
आज स्थापित गर्नुछ
थोपाको सार्वभौमिकता
उसको स्वाधिनता
हो आज नाथे थोपाहरू
आन्दोलनमा छन्
कर्कलोको पानीसमेत सम्हालिएर जोगिएर
आज टक्क पातमै अडेको छ
भन्दैछ जमिनमै नखस्ने अरे
भन्दैछ खोलामै नपस्ने अरे
बरु घामको तापले सुकेर
आफूलाई आहुती दिन तयार छ रे
धाराको टुटीको अन्तिम थोपा
सिमेन्टेड भुइँमा बजारिएर
थोपाहरूको जयजयकार गाउँदै
आफूलाई छ्यालब्याल पार्यो अरे
किनाराका प्रत्येक छालहरू
फेरि फर्केर सागरमै गएनन् रे
थोपाथोपामा बदलिएर
बालुवामै भूमिगत भए अरे
प्रिय थोपाहरू ! तिमीहरूको आन्दोलन
समुन्द्रको अहंकारविरुद्ध हो
बीचैमा कतै बरालिएर
स-साना तलाउहरू नबन्नू
एक नयाँ सुन्दर समुन्द्र बन्नू
र आफूभित्र सबैलाई
ससम्मान बाँच्न दिनू
तिमीहरूलाई शुभकामना
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९ १६:२६