इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले एक हप्ताको अन्तरालमा लागुऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर–५ मनिकापुरका २८ वर्षीय रामचन्द्र चौधरी,जानकी गाँउपालिका–९ का विशाल भातती सोही ठाउँका हर्क परियार र टीकापुर–१ का जीवन चौधरी छन् ।
उनीहरूको साथबाट प्रहरीले २ सय २० ग्राम खैरो हेरोइन बरामद गरेको हो । त्यस्तै टीकापुर प्रहरीले विभिन्न अपराधमा संलग्न तीन जना फरार प्रतिवादीहरूलाई समेत पक्राउ गरेको छ । इलाका प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक (डीएसपी) उद्धव भाट हाजिर भएलगत्तै लागुऔषध कारोबार र अपराधिक गतिविधि नियन्त्रणको लागि विशेष अपरेसन टोली नै बनाएका छन् ।
पछिल्लो समय कैलालीको टीकापुर सुरक्षाको हिसाबले संवेदनशील बन्दै गएको छ । टीकापुर नेपाल–भारत सीमा जोडिएका कारण लागुऔषध कारोबार र तस्करी प्रमुख समस्या बन्दै गएको छ । माघयता मात्रै लागुऔषधमा १३ जना पक्राउ परेका छन् ।
एक वर्षअघि लागुऔषध कारोबार विवादमा भुपेन्द्र बडुवालको विभत्स हत्या भएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १५:५३