डडेल्धुरामा बाघको हड्डीसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका संचालन गर्ने २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तड छेडेदह गाउँपालिका–७ घर भई मार्तडीमै सितल मदिरा स्टोर सञ्चालन गर्ने २७ वर्षीय वीरबहादुर ओली रहेका छन् । पक्राउ परेका उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।
.jpg)
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टका अनुसार दुवैजनालाई शनिबार राति अमरगढी नगरपालिका–५ बाट पक्राउ गरिएको हो । उनीहरूको झोलाबाट टाउको जस्तो देखिने अस्थिपञ्जर, चारवटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बाङग्राको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नली हड्डी जस्तो देखिने हड्डी १० थान, विभिन्न प्रकारका स–साना हड्डी २७ गरी जम्मा ९६ थान हड्डी बरामद गरिएको छ । उनका अनुसार ४.०५ किलो हड्डी बरामद गरिएको हो । बरामद गरिएका हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेल्धुरालाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १६:५२