सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले खानेपानी सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि निर्माण नगर्दा ५ सय ६३ घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।
२०७७ फागुनमा थालनी गरेर मुस्लिम र थारु वस्तीलाई लक्षित गरी नगरपालिकाको समन्वयमा गैरसरकारी संस्था नवज्योति केन्द्र र युनडीपीले केही समयअगाडि निर्माण गरिदिएको डिप बोरिङ खानेपानी परियोजना सञ्चालनमा नआउँदा स्थानीयहरू पानी खानबाट वञ्चित बनेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बसोवास गर्दै आएका मुस्लिम र थारु समुदायका लागि विशेष लक्षित र अन्य ४ वटा टोल बेलघारी टोल, पदमपुर टोल, गणेशपुर टोल, पशुपतिनगर टोल र भवानपुर टोल स्थानीयवासीलाई बिहान र बेलुका ३-३ घण्टा पानी वितरण गर्ने गरी निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा नगरपालिकाले बेवास्था गर्दै आएको छ ।
बेलघारी खानेपानी परियोजनाका अध्यक्ष अकबर खान खानेपानी सञ्चालनका लागि १८ पटक नगरपालिका धाउँदा पनि कार्यविधिकै अल्झनले परियोजना सञ्चालन हुन नसकेको गुनासो गर्छन् । १ करोड ६५ लाख लगानी गरेर परियोजना बनाएको नवज्योतिले निर्माण सम्पन्न भएपश्चात परियोजना निर्माण पूर्व स्थानीयहरूसँग भएको सहमति पूरा नगरी सञ्चालन र व्यवस्थापनका लागि कुनै पहल नगरी नगरपालिकालाई हस्तान्तरण गरेपछि थप समस्या सिर्जना भएको अध्यक्ष खान बताउँछन् ।
नवज्योतिसँग सहमति हुँदा जग्गादानकर्ताको शिलालेख राख्ने र घरको एक जनालाई सीप अनुसारको रोजगारी दिने सहमति भएको थियो तर नवज्योतिले सहमति अनुसार स्थानीयका माग पूरा नगरी काम सकेर हिँडेको उनको भनाइ छ । ‘यही विषयलाई लिएर पटक-पटक नगरपालिका धाउँदा पनि हाम्रो कुरा सुनुवाइ भएन । हामीले कार्यविधि नबन्दासम्म पाइपलाइन विस्तार भएका स्थानहरूमा पानी सञ्चालनको अनुमति दिनुस् भन्दासमेत उहाँहरू कुरै सुन्न मान्नु हुन्न, ’ अध्यक्ष खानले भने ।
नवज्योतिसँग सहमति हुँदा जग्गादानकर्ताको शिलालेख राख्ने र घरको एक जनालाई जागिर दिने, परियोजनाको १५० मिटर वरिपरिका स्थानीयलाई सुख्खायाममा नि:शुल्क पानी वितरण गर्नेलगायतका सहमति भएका थिए । तर, नवज्योतिले माग पूरा नगरी परियोजना नगरपालिकालाई हस्तान्तरण गरी हिँडेको छ । गत पुसमा बेलघारीमा समुदायको भेलासमेत बसेको थियो । समुदायमा खानेपानी उपलब्ध गराउन बसेको यो भेलाले नगरपालिकालाई तत्काल खानेपानी विस्तार गर्न अनुरोध गरेको थियो ।
नगरको स्वामित्वअन्तर्गत उपभोक्ता समितिमार्फत खानेपानी वितरण गर्ने भेलाको योजना थियो । पुस ९ मा बसेको भेलाको निर्णय नम्बर ७ ले खानेपानी परियोजना सञ्चालनका लागि समावेशी आधारमा खानको अध्यक्षतामा समेत उपभोक्ता समिति गठन गरिसकेको अवस्था छ । नवगठित उपभोक्ता समितिले वीरेन्द्रनगर नगरपालिकालाई परियोजना सञ्चालनका लागि अख्तियारी दिन पत्रसहित अनुरोध गत पुसमै गरेको थियो । तर, अहिलेसम्म खानेपानी सञ्चालनका विषयमा कुनै पहल हुन सकेको छैन ।
तत्काल खानेपानी वितरणको काम सुरु गर्न बारम्बार नगरपालिकालाई अनुरोध गरिरहेको नवज्योति केन्द्रकी पर्यवेक्षक जरमाया बाठा बताउँछिन् । ‘विपन्न समुदाय र खानेपानीको चरम अभाव भएको स्थान छनोटमा बेलघारीमा आयोजना सञ्चालन गरिएको हो । यसअघि सुर्खेत उपत्यका खानेपानीलाई आयोजना स्वामित्व दिने भन्ने पनि भएको थियो । तर, कानुनी अड्चन र नगरपालिकालाई स्वामित्व दिएपछि झन् प्रभावकारी रहने योजनामा हामीले गत महिनामै स्वामित्व हस्तान्तरण गरिसकेका थियौँ,’ उनले भनिन् ।
यता वीरेन्द्रनगर नगरपालिका भने परियोजना सञ्चालनमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ । ‘वीरेन्द्रनगर नगरपालिका र उपत्यका खानेपानी संस्थाबीच अन्डर स्टान्डिङ्ग गरेर कानुन निर्माणको प्रक्रियामा छौँ । उहाँहरूलाई केही निकास दिनु पर्छ वास्तवमा उहाँहरूलाई समस्या परेको छ । मेयरसाप संयोजक रहेको कार्यदल बनेको छ । मेयर साप बाहिर हुनुहुन्छ बैठक बस्न पाएको छैन । अबको केही दिनमा यो समस्या हल हुन्छ,’ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भने ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९ १६:३९