ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमणले पाठेघर, लिङ्गलगायत शरीरका अन्य भागमा क्यान्सर हुन सक्छ । यस्ताे क्यान्सरको रोकथामका लागि विश्वका विभिन्न देशले एचपीभीविरुद्धको खोप लगाउन सुरु गरिसकेका छन् । तर, नेपालमा क्यान्सरका कारण मृत्यु हुनेको तथ्याङ्क हेर्ने हो भने पाठेघरको मुखकाे क्यान्सरबाट मृत्यु हुनेको संख्या सबैभन्दा माथिल्लो स्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार एचपीभीविरुद्धको खोपको प्रभावकारिता ९८ प्रतिशत छ । यसै विषयमा खोपविज्ञ डा. रमेशकान्त अधिकारीसँग गरिएको कुराकानीः
एचपीभी भनेको के हो ?
एचपीभी भनेको ह्युमन प्यापिलोमा भाइरस हो । यो भाइरस क्यान्सर गराउन सक्ने क्षमता भएको भाइरस हो । र, एचपीभीको संक्रमण भएका व्यक्तिलाई १०/१५ वर्षपछि पनि बिस्तारै पाठेघरको मुखको सतहका ‘तन्तु’हरूमा परिर्वतन ल्याउँछ ।
समयमै यसको पहिचान भयो वा पत्ता लगाउन सकियो भने क्यान्सर नहुन सक्छ । तर, पहिचान भएन भने क्यान्सर हुन्छ । एचपीभीका कारण सबैभन्दा धेरै हुने भनेको पाठेघरको मुखको क्यान्सर हो । त्योबाहेक गुँदद्वारको क्यान्सर, लिङ्गको क्यान्सर, घाँटीको क्यान्सर पनि गराउन सक्छ ।
एचपीभी भनेको यस्तो भाइरस हो, जसको संक्रमण लामो समयसम्म बसिरह्यो भने त्यसले पाठेघरको क्यान्सरसँगै भल्भा क्यान्सर पनि बनाउन सक्छ । मानिसका विभिन्न अंगहरूमा क्यान्सर गराउन सक्ने भएका कारणले त्यसबाट बच्नका लागि एचपीभीविरुद्धको खोपको आवश्यकता पर्छ ।
एचपीभीविरुद्धको खोप कस्तो हो ?
एचपीभीकाे सङ्क्रमणबाट क्यान्सर त हुन्छ नै, यसबाहेक शरीरमा मुसाहरू आउने, घाँटीमा संक्रमण भयो भने बोली धोद्रे आउने, बेलाबेलामा श्वासप्रश्वासको समस्या देखिने हुन सक्छ । र, अन्त्यमा फेरि क्यान्सर नै हुने गर्छ । त्यसैले यो खोप लगाउनुको मुख्य उद्देश्य क्यान्सरबाट बच्नकै लागि लगाइने खोप हो ।
एचपीभीविरुद्धको खोप कसलाई लगाइन्छ ?
यो खोप ९/१० वर्षको उमेरमा लगाउने गरिन्छ । सामान्यतया यो खोप यौन गतिविधि सुरु हुन सक्ने उमेरभन्दा पहिले नै लगाउनुपर्छ । कम उमेरमा बिहे हुने या आजकाल केटाकेटी सम्बन्धमा रहेर चाँडै नै यौन सम्पर्क हुन सक्ने सम्भावना भएका देशहरूमा सकेसम्म चाँडै लगाउने भनिएको छ ।
विकसित देशहरूमा यो खोप केटीलाई मात्र नभएर केटाहरूलाई पनि लगाउन थालिएको छ । एचपीभीको संक्रमण केटाहरूलाई पनि हुन्छ । उनीहरूलाई यसको संक्रमणबाट जोगाउन सकियो भने महिलामा हुने क्यान्सरबाट बचाउन सकिन्छ भनेर उनीहरूलाई पनि यो खोप दिन थालिएको छ ।
चाँडै भनेको ९ वर्षदेखि १५ वर्षसम्मकालाई लगाउने भनिएको हो । ९ वर्षदेखि १५ वर्षसम्मकालाई एक किसिमबाट लगाइन्छ भने १५ वर्षभन्दा माथिको उमेरकालाई पनि दिइन्छ ।
एचपीभी खोपको आवश्यकता नेपालमा कति देख्नुहुन्छ ?
सीमित संख्यालाई मात्र लिएर पाठेघरको क्यान्सर यति मात्रै हुँदोरहेछ भन्न मिल्दैन । नेपालको तथ्याङ्क हेर्ने हो भने ब्रेस्ट क्यान्सर सबैभन्दा धेरै देखिएको छ, तर मृत्यु सबैभन्दा धेरै पाठेघरको क्यान्सरबाटै हुने गरेको छ । त्यसैले पाठेघरको क्यान्सरको प्रभाव हेरौँ । यसले परिवारमाथि वा व्यक्तिमाथि पार्ने प्रभाव हेर्नुपर्छ । त्यस कारणले यो खोपको आवश्यकता नेपालमा धेरै छ ।
यो खोप कति डोज लगाइन्छ ?
९ देखि १५ वर्षसम्ममा दुई डोज लगाइन्छ । र, १५ वर्षभन्दा माथिको उमेरकालाई तीन डोज लगाउनुपर्छ । दुुई डोज दिँदा त्यति प्रभावकारी नहुने भएका कारण तीन डोज दिने भनिएको हो ।
तर, विश्व स्वास्थ्य संगठनले डिसेम्बरमा गरेको रिभ्युअनुसार ९ वर्षदेखि १५ वर्षसम्मकालाई अब एक मात्र डोज दिए पनि पुग्ने भनिएको छ । दुई डोजजत्तिकै एक डोज प्रभावकारी भएको भनिएको छ । तर, १५ वर्ष नाघेकाहरूको हकमा भने एक डोजले काम गर्दैन । उनीहरूलाई दुई डोज, तीन डोज पनि चाहिन सक्छ । सुरु गर्ने उमेरमा एक डोजले पुग्ने भनिएको छ । फेरि यो गाडासिलको हकमा मात्र हो । अरु कम्पनीको खोपमा अध्ययनअनुसार लगाउनुपर्ने हुन्छ ।
यो खोपको अभ्यास अन्तर्राष्ट्रियस्तरमा कस्तो छ ?
विकसित देशहरूमा यो खोप केटीलाई मात्र नभएर केटाहरूलाई पनि लगाउन थालिएको छ । एचपीभीको संक्रमण केटाहरूलाई पनि हुन्छ । उनीहरूलाई यसको संक्रमणबाट जोगाउन सकियो भने महिलामा हुने क्यान्सरबाट बचाउन सकिन्छ भनेर उनीहरूलाई पनि यो खोप दिन थालिएको छ ।
केटाहरूलाई लगाउने अलि सम्पन्न मुलुकहरूमा मात्र भइरहेको छ । अन्यथा यो खोप केटीहरूलाई मात्र दिने गरिएको छ ।
एचपीभीविरुद्धको खोप कति सुरक्षित छ ?
सुरक्षित छ । यसको प्रभावकारिता ९८ प्रतिशत छ । यो खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । एचपीभी शरीरका अंगहरूमा प्रवेश गरे पनि खोपका कारण संक्रमण हुँदैन ।
अर्को कुरा, यसको साइड इफेक्ट केही पनि हुँदैन । सुई दिइएको ठाउँमा सामान्य दुख्ने र सुनिने हुन्छ । कसैकसैलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आऊलाजस्तो हुने हुन सक्छ, एक/दुई दिन ।
कुनै स्कुलहरूमा कोही विद्यार्थी बेहोस भयो भने अरु पनि बेहोस भएको देखिएको छ । त्यस्तो अवस्थामा उनीहरूलाई सुताएर लगाउनुपर्छ । जसरी हुन्छ, सहज रूपमा खोप लगाउनुपर्छ । उभिएर कहिल्यै पनि खोप लगाउनु हुँदैन । र, खोप लगाइसकेपछि १५ मिनेट जति आराम गर्न लगाउनुपर्छ ।
नेपालमै सन् २०१६ मा गरिएको अध्ययनअनुसार कुनै पनि किसिमको ‘साइड इफेक्ट’ देखिएको छैन ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ ०८:३५