नेपाल–भारत सीमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ । बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसानहरू यो समयमा भने बगरलाई तरकारी बारी लगाएर हरियाली बनाउँछन् । जसले उनीहरूलाई केही राहत दिन्छ । उनीहरू बगरखेतीबाट मासिक ३० देखि ५० हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछन् ।
बगरमा परिणत भएको छिमेकीको जमिनलाई सदुपयोग गर्दै स्थानीय किसानहरूले राम्रो आम्दानीको स्रोत बनाइरहेका छन् । हिउँदे तरकारी बाली लगाएर लगानी अनुसारको फल प्राप्त भइरहेको कैलालीको धनगढी उपमहागनरपालिका १० की प्रमिला बखरियाले बताइन् । ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ,’ उनले भनिन् ‘यसमा समय अनुसारको सबै तरकारी लगाएका छौँ ।,’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरभुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएकी छन् ।
हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा बचेको बगरमा नै किसानहरू तरकारी एवम् विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको संख्या बढ्दै गएकाे छ ।
धनगढी उपमहागनरपालिका वडा नम्बर १० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगर खेती गर्दै आइरहेका छन् । उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरभुजा, खुर्सानी, तरभुजालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । ‘बगरमा हुने सबै खाले तरकारी लगाएका छौँ, कम खर्चमा राम्रो उत्पादन हुन्छ,’ उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानहरूले सदुपयोग गरिरहेका हुन् ।
जुगेडाकै माया रानाले पनि ७ वर्षदेखि बगर खेती गर्दै आएकी छिन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छाैँ,’ उनले भनिन्, 'आम्दानी राम्रै भइरहेको छ ।'
किसानहरूले बगरमा फलाएकाे तरकारी धनगढीको हाट बजार लगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ ।बजारको कुनै समस्या नरहेकाे उनीहरूकाे भनाइ छ । बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभई अन्य किसानहरूले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन् । अनारकली रानाले पनि अरुकै जग्गामा विगत १० वर्षदेखि तरकारी फलाउँदै आएकी छन् ।

छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ । ‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौँ', उनले भनिन्, 'उनीहरूले पनि हामीलाई सहजै आफ्नो जमिन दिन्छन् ।,’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुने हुँदा सबैले यो खेती गर्दैनन् । तर केहीले बगरमै साना टहरा बनाएर पनि यसमा काम गरिरहेका छन् ।

विगतमा सीमा क्षेत्रका नदी किनारका बगरखेतीमा विशेष गरेर भारतीय किसानहरूले तरकारी खेती गर्दै आएका थिए । अहिले नेपालीहरू पनि बगर खेतीमा आकर्षित हुँदै जाँदा भारतीयहरू विस्थापित हुन थालेका छन् । मंसिर पुसदेखि लगाउन सुरु हुने बगर खेतीको उत्पादन जेठसम्म हुने गर्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ ०७:२८