यसपालि काठमाडौंको तापक्रम माइनसमा झरेको छैन । जसै तापक्रम माइनसमा जान्छ, हामीलाई घरबाट निस्कन हम्मेहम्मे पर्छ । हिमाली क्षेत्रमा बसोबास गर्नेबाहेकका कुरा गर्ने हो भने माइनस तापक्रम हाम्रा लागि कम कठिन हुँदैन ।
तर कल्पना गर्नुस् त, तापमान माइनस ५० डिग्री सेल्सियस भएको शहरमा जनजीवन कसरी चलिरहेको होला ? हो, रुसको याकुत्सक शहरमा तापक्रम शून्यदेखि ५० डिग्री सेल्सियससम्म छ । तैपनि जिन्दगी चलिरहेकै छ ।
अझ डरलाग्दो कुरा त के भने, चिसो यतिमै रोकिनेवाला छैन । त्यहाँको मौसम विभागले तापमान माइनस ६२ डिग्री सेल्सियस पुग्ने चेतावनी दिएको छ । तर, यति चिसो भएको यो पहिलोपल्टचाहिँ होइन । त्यहाँको तापक्रम माइनस ७१ डिग्री सेल्सियससम्म भएको इतिहास पनि छ ।
यस्तोमा त्यहाँका मानिसहरू कसरी बाँचिरहेका छन् ? यति कठाेर मौसम भएको शहर छोडेर त्यहाँका मानिस अन्त कतै किन गइरहेका छैनन् ? उल्टै त्यहाँकाे जनसंख्या किन बढिरहेको छ, आउनुस् आज तपाईंलाई हामी संसारकै चिसो याकुत्सक शहर र त्यहाँका मानिसबारे बताउँछौँ । यी जानकारी हामीले रुसी सञ्चारमाध्यमसहित विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारेका हौँ ।
०००
रुसको राजधानी मस्कोबाट ४९०० किलोमिटर पूर्वमा पर्छ, जुन साइबेरियाको याकुटिया राज्यको राजधानी हो । सीएनएनका अनुसार, याकुत्सक संसारको सबैभन्दा चिसो शहर हाे, जहाँ साढे ३ लाखभन्दा बढी मानिस बसाेबास गर्छन् । यहाँ तापमान शून्यदेखि ४० डिग्री सेल्सियससम्म हुनु सामान्य मानिन्छ । अक्टुबरदेखि अप्रिलसम्म ७ महिना यहाँ अत्यधिक चिसो हुन्छ ।
तस्वीरः राेयटर्स ।धेरै जाडाे भएको बेला यहाँ गाडी चलाउन समस्या हुन्छ । स्लेट वेबसाइटका अनुसार, याे शहरमा बस्ने मानिसले घरबाहिर निस्कँदा चस्मा लगाउनु घातक हुन्छ । किनकि अत्यधिक चिसाेले धातु जम्छ र अनुहारमा टाँसिन सक्छ । शहरका सडक र घरहरू बरफले ढाकिएका हुन्छन् । माछासमेत जमेको देख्न सकिन्छ ।

चिसोमा कैयौँ दिनसम्म घाम देखिँदैन । सामान्यतया सूर्योदय बिहान १०ः३० बजे हुन्छ । दिउँसो ३ नबज्दै डुब्छ । जाडोमा खासगरी यहाँ हावा नछिर्ने कपडा, हरिणको छालाबाट बनेको जुत्ता, लामो कोट र स्कार्फ लगाइन्छ ।
डिसेम्बरदेखि फेब्रुअरीमा चिसो अत्यधिक हुन्छ । तैपनि बजार बन्द हुँदैन । यो बेला चिसो यति कठोर हुन्छ, ड्रिल मेसिनले पनि चीजहरू काट्न मुस्किल हुन्छ । चिसो माइनस ४० डिग्री सेल्सियस हुनासाथै विद्यालयहरूमा छुट्टी दिइन्छ । अहिले पनि त्यहाँ स्कुलहरू बन्द छन् । यस्तो बेला अनलाइनमा पढाइ हुन्छ ।
पानीका लागि बरफ तताउनुकाे विकल्प छैन । जमेको नदीबाट मानिसहरू बरफका टुक्रा ल्याउँछन् । त्यसलाई तताएपछि त्यही पिउँछन् । चिसोमा यहाँ पानी जम्ने मात्र होइन, ढुंगासमेत कडा हुन्छ । करिब १० मिनेट मात्रै बाहिर बस्दा पनि थाकिन्छ । २० मिनेटमा अनुहार र औँलाहरू सुन्निन थाल्छन् । त्यसैले कुनै पनि हालतमा मानिसहरू आधा घण्टाभन्दा बढी समय बाहिर बस्दैनन् । व्यापारीहरू भने हावा नछिर्ने बाक्लाे कपडा लगाएर बजारमा बस्छन् ।

चारैतिर बरफैबरफ भए पनि यहाँ सार्वजनिक यातायातको अवस्था निकै राम्रो छ । तर, त्यसलाई पर्खिन चाहिँ चिसाेले मुस्किल बनाउँछ । त्यसैले धेरैजसो मानिस ट्याक्सीको प्रयोग गर्छन् । गाडी हुनेहरूले त्यसलाई न्यानो ठाउँमा लगेर कम्बलले छोपेर राख्छन् । धेरै जाडो भएको बेला गाडी स्टार्टमै छोडिन्छ ।
घरलाई न्यानो बनाउनका लागि ग्यासोलिनसँगै ब्याट्रीको प्रयोग गरिन्छ । ठन्डीका बेला रहन-सहन महँगो हुन्छ । ग्यासोलिनको मूल्य तीन गुणासम्म बढ्छ । खानापिना पनि महँगो हुन्छ, किनकि चीजहरूलाई हरेकपल्ट तातोमा राखिरहनुपर्छ ।
यो क्षेत्रमा सुन, युरेनियम र हीराका खानीहरू पनि छन् । त्यसबाट यहाँका मानिसहरूले राम्रो कमाइ गर्छन् । त्यसैले यति कठिन हुँदासमेत यहाँका मानिसले शहर छोड्दैनन् । बरु यहाँको जनसंख्या लगातार बढिरहेको छ ।
साइबेरियाको यो जाडो ज्येष्ठ नागरिकका लागि बढी खतरनाक हुन्छ, किनकि बाटोमा बरफ जम्छ । चिप्लेर बुढापाकाहरू लड्ने खतरा हुन्छ । यसरी लडेर हड्डी भाँचिएका धेरै घटना छन् ।
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९ ०७:४७