प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अमेरिकाबाट अवैध करोडौँ रकम भित्र्याउन खोज्ने पृथ्वी शाहलाई पक्राउ गरेको छ ।
शुक्रबार सीआईबीको टोलीले शाहलाई काठमाडौंबाट पक्राउ गरेको हो । शाहलाई आजै सीआईबीको टोलीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।
अमेरिकाबाट शाहले नेपाल भित्र्याउन खोजेको ४० करोड रुपैयाँ शंकास्पद भएको भन्दै फिर्ता पठाउन अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । शाहले दर्ता गरेका कम्पनीहरू व्यवसायिक प्रयोजनका लागि भन्दा पनि आर्थिक चलखेल गर्नका खडा गरिएको अनुसन्धानले देखाएको थियो ।
शाहले माउण्ड कैलाश इनर्जी लिमिटेड, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रालि, वर्ल्ड एक्स्पोर्ट एण्ड इम्पोर्ट प्रा.लि, वल्र्ड फस्ट होलिडे प्रालि, वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेण्ड प्रालि, वर्ल्ड वाइड रेमिट प्रालि लगायतका नामका कम्पनीमार्फत विभिन्न देशबाट अवैध रूपमा रकम नेपाल ल्याउने गरेको राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानबाट खुलेको थियो । शाह भारतीय मुद्रा अपचलनमा अदालतबाट दोषी ठहर भएका व्यक्ति पनि हुन् ।
तर, तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गर्भनर महाप्रसाद अधिकारीलाई रकम छोड्न निर्देशन दिएका थिए । यही विषयले विवादको रूप लिँदा तत्कालीन अर्थमन्त्री शर्माको जोडबलमा सरकारले २४ चैत २०७८ मा गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सँगसँगै अधिकारीमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति सरकारले बनाएको थियो ।
तर, पछि सर्वोच्चको अन्तरिम आदेशपछि ६ वैशाखमा गभर्नर अधिकारी जिम्मेवारीमा फर्किएका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १७:००