बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार राजीनामा दिने भएका छन् । धादिङबाट प्रतिनिधिसभामा निर्वाचित उनले बिहीबार काठमाडौंमा शपथ लिएका थिए ।
शपथ लिएसँगै मुख्यमन्त्री पाण्डे हेटौँडाका लागि हिँडिसकेको उनको निजी सचिवालयले जानकारी दिएको छ । उनले मुख्यमन्त्रीबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि टिकाटिप्पणी सुरु भएको थियो । ‘मुख्यमन्त्रीज्यू हेटौँडाका लागि हिँडिसक्नुभएको छ । भोलि प्रदेश प्रमुखलाई राजीनामा बुझाउनुहुनेछ,’ उनीनिकट स्रोतले शिलापत्रसँग भन्यो ।
मुख्यमन्त्री पाण्डेको निजी सचिवालयले बागमतीको प्रदेश प्रमुख कार्यालयलाई बिहीबार राजीनामा आउनेबारे जानकारी गराइसकेको छ । पाण्डे ११ कात्तिक २०७८ मा नेकपा एमाले पार्टी विभाजन भएपछि साढे ३ वर्ष लामो एमाले नेतृत्वको सरकार ढाल्दै गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । यसअघि संघीय मन्त्रीसमेत भइसकेका पाण्डे मुख्यमन्त्रीकै लागि २०७४ मा भएको प्रदेशसभा सदस्य निर्वाचन लडेका थिए ।
प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशसभामा एकल बहुमत रहेको एमालेबाट मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र पाण्डे प्रमुख दाबेदार थिए । तर, संसदीय दलमा डोरमणि पौडेल र शाक्यबीच भएको प्रतिस्पर्धामा पौडेल विजयी भएका थिए । त्यति बेला एमालेभित्र पौडेल अध्यक्ष केपी शर्मा ओलीनिकट र शाक्य तथा पाण्डे माधव नेपाल समूहमा थिए ।
पौडेल बागमतीको पहिलो मुख्यमन्त्री भए भने एमालेबाटै तीन महिनाका लागि शाक्य दोस्रो र पार्टी विभाजनपछि गठबन्धनको सहारामा पाण्डे तेस्रो मुख्यमन्त्री बनेका हुन् । पाण्डेको करिब १४ महिनो कार्यकाल भने आलोचनामौ बित्यो । गठबन्धनमा भागबण्डा मिलाउन ८ बाट मन्त्रालय संख्या १४ तथा १८ जना मन्त्री बनाइएपछि उनको देशभर आलोचना भयो । एउटै भवनमा पाँचवटा मन्त्रालय राखेपछि उनीमाथिको आलोचना झनै चुलिएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९ १८:२०