सन् २०१६ जून २६, अर्थात् आजभन्दा ६ वर्षअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी त्यो बेला गलत थिए । अर्थात् उनको निर्णय गलत थियो । त्यो सन्न्यासको निर्णय सच्याएर अन्तर्राष्ट्रिय खेलजीवनमा नफर्किएका भए मेस्सीले विश्वकप जित्ने थिएनन् । उनी बन्ने थिएनन् एक महान् खेलाडी ।
कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले स्तब्ध हुँदा पेनाल्टीमा मेस्सी चुकेका थिए । आफ्नै गम्भीर गल्तीका कारण कोपा अमेरिका जित्न नसकेको ठहर गर्दै आवेगमा आएर मेस्सीले तत्काल सन्न्यास लिए । त्यो बेला आँखाभरि आँसु बनाएर मेस्सीले भनेका थिए, ‘मैले उपाधि जिताउन सकिनँ । मैले गर्न सक्ने भनेकै यति नै रहेछ ।’
मेस्सीको यो अकल्पनीय निर्णयले टिमका खेलाडी र अर्जेन्टिनी मात्रै स्तब्ध बनेनन् विश्वभरिका जो फुटबललाई पछ्याइरहन्छन्, सबै अचम्मित बने । उनका शुभचिन्तकहरू प्राय: सबैले सन्न्यास नलिन आग्रह गरिरहे । अर्जेन्टिनाका राष्ट्रपतिले समेत सन्न्यास फिर्ता लिएर खेलमा फर्किन अनुरोध गरेपछि करिब एक वर्षपछि मेस्सी पुन: खेलमा फर्किए । त्यसपछि मेस्सीले नजितेको उपाधि के रह्यो र ?
मेस्सी बने महान् खेलाडी
फेरि मैदानमा फर्किएपछि मेस्सीले आफ्नो देशलाई कोपा अमेरिका कपको उपाधि दिलाए, विश्वकप पनि जिताए ।
खेलमा नफर्किएको भए देशलाई विश्वकप र कोपा अमेरिका कप जिताउने उनको सपना अधुरै रहने थियो । त्यसो त जति उचाइमा अहिले उनी पुगेका थिए, त्यो उचाइ उनले त्यो बेला पाएका थिएनन् । त्यस कारण पनि उनको सन्न्यास घोषणा गलत थियो ।
सन् २०२१ मा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनालाई जिताएका मेस्सीले अन्तर्राष्ट्रिय खेलजीवनकै उतरार्द्धमा विश्वकप जिताउँदै आफ्नो सपना पूरा गरेका छन् । अब मेस्सी ‘मेस्सी’ मात्रै रहेनन्, एक महान् खेलाडी बनेका छन् ।

उनको खेलकौशल, टिमको नेतृत्व र शालीनताले पनि उनी महान् खेलाडी हुन् भन्ने प्रस्ट्याउँछ । ३५ वर्षको उमेरमा पनि उनले कतारमा सम्पन्न विश्वकपमा सबै खेल पूरै समय खेले । एक दृढ संकल्प लिएका मेस्सीको प्रदर्शन पनि अद्भुत नै थियो ।
यसअघि २००६, २०१०, २०१४ र २०१८ मा गरी चार विश्वकपमा ६ गोल मात्रै गरेका मेस्सीले २०२२ को कतार विश्वकपमा ७ गोल गर्दै आफ्नो क्षमतालाई देखाए । फाइनलमा फ्रान्सविरुद्ध मेस्सीकै दुई गोलसहित उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले उपाधि जित्यो । यो विश्वकपमा मेस्सी सबैको केन्द्रमा रहे । यसको कारण पनि उनको प्रदर्शन नै हो ।
विश्वकपमा कीर्तिमान
मेस्सीलाई त्यसै महान् खेलाडीको ट्याग भिराइएको भने होइन । त्यो उपलब्धि उनको प्रदर्शनबाटै आर्जित सम्पत्ति हो । विश्वकपमा उनले सर्वाधिक २६ खेल खेल्दै विश्व कीर्तिमान बनाए । यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए ।
क्रोएसियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गोलले हराउँदा कप्तान मेस्सीले लोथरको रेकर्ड बराबरी बनाएका थिए । फाइनलमा फ्रान्सविरुद्ध खेलेसँगै मेस्सी विश्वकप फुटबलको इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन् ।

मेस्सीले यो उपलब्धि मात्रै पाएनन् कतार विश्वकपमा, उनी विश्वकप फुटबल इतिहासमा दोस्रोपटक सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्ने पहिलो खेलाडी पनि बने । यो पनि विश्वकपमा कीर्तिमान नै हो ।
उनले यसअघि सन् २०१४ को विश्वकप फुटबलमा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जितेका थिए । तर, त्यो विश्वकपमा अर्जेन्टिनालाई उपाधि जिताउन भने सकेनन् । अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो । मेस्सी विश्वकपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
मेस्सीले जित्न नसकेको उपाधि नै रहेन
सुपर स्टार खेलाडी लियोनल मेस्सीले अब जित्न नसकेको उपाधि कुनै रहेन । सबै उपाधि जितिसकेका मेस्सीले विश्वकप मात्रै जित्न बाँकी थियो । त्यो पनि पूरा भएसँगै फुटबलमा उनले पाउनुपर्ने सबै पाइसकेका छन् ।
मेस्सी अर्जेन्टिनाको रोसारियो शहरमा १९८७ मा जन्मिएका थिए । अर्थात् अर्जेन्टिनाले दोस्रोपटक विश्वकप जितेको एक वर्षपछि । त्यो विश्वकपको उपाधि अर्जेन्टिनालाई जिताएका डिएगो म्याराडोना सर्वोत्कृष्ट खेलाडी बनेका थिए । तेस्रोपटक विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको देख्न त म्याराडोनाले पाएनन् । तर मेस्सीकै भनाइलाई मान्ने हो भने म्याराडोनाले माथिबाट अर्जेन्टिनाले विश्वकप जितेको हेरे अनि खुसी मनाए ।

मेस्सीले १७२ खेलबाट ९८ गोल गरेका छन् । विश्वकप अर्जेन्टिनालाई दिलाएसँगै अन्तर्राष्ट्रिय खेलबाट बिदा लिने धेरैको अनुमान थियो । तर, उनले सन्न्यास लिइसकेका छैनन् । सायद उनी १०० गोलको लक्ष्यमा छन् ।
मेस्सीले क्लब लेभलमा जादुमय प्रदर्शन गर्दै उपाधि दिलाएका छन् । उनले ला लिगाको उपाधि मात्रै बार्सिलोनालाई १० पटक जिताएका छन् । च्याम्पियन्स लिगको उपाधि चारपटक, फिफा क्लब विश्वकपको उपाधि तीनपटक बार्सिलोनालाई दिलाएका मेस्सीले यूईएफए सुपर कपको उपाधि तीनपटक जिताएका छन् ।
२००३ देखि ‘सी’ टिम हुँदै बार्सिलोनाबाट खेलेका मेस्सीले २०२१ मा भने ला लिगा छोडेर फ्रेन्च लिग खेल्न पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा अनुबन्धित भए । उनले पीएसजीलाई पनि लिग वानको च्याम्पियन बनाइसकेका छन् ।
मेस्सीले सातपटक त फिफाले दिने बालोन डी’अर अवार्ड जितेका छन् । उनी नै सर्वाधिक यो अवार्ड जित्ने खेलाडी पनि हुन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पाँचपटक यो अवार्ड पाएका छन् ।

दुईपटक विश्वकप फुटबलको सर्वोत्कृष्ट खेलाडी, दुईपटक फिफा क्लब विश्वकपको सर्वोत्कृष्ट खेलाडी, फिफा वर्ल्ड प्लेयर अफ द इयर, द बेस्ट फिफा मेन्स प्लेयरलगायतका अवार्ड मेस्सीले जितेका छन् । त्यस्तै, छपटक ला लिगा बेस्ट प्लेयरको अवार्ड जित्दा अर्जेन्टिनी फुटबलर अफ द इयरको अवार्ड मात्रै १४ पटक जितेका छन् ।
फुटबलको दुनियाँमा राज गरेका मेस्सीले जित्नुपर्ने सबै जितिसके । पाउनुपर्ने पनि सबै पाइसके । त्यस कारण उनी फुटबल इतिहासमा महान् खेलाडी बनेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९ १५:०२