निर्वाचन आयोगले आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्यो । आयोगको प्राङ्गणमा प्रमाणपत्र लिन सांसद र बधाई दिन आएका शुभेच्छुकहरूको भिड थियो । त्यही भिडमा थिइन् राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेकी पर्सा वीरगन्जकी बीना जैसवाल । उनले एउटा हातले प्रमाणपत्र र अर्को हातले चार महिनाकी छोरी च्यापिरहेकी थिइन् । ‘घरमा हेर्ने कोही हुनुहुन्न, यहीँ लिएर आएको नि,’ उनले भनिन् ।
.jpg)
यसअघि उनी गत स्थानीय तहको निर्वाचनमा पनि राप्राकोतर्फबाट वीरगन्ज महानगरपालिकाको उमपेयरको उम्मेदवार थिइन् । ‘त्यतिबेला छोरी कोखमा थिइन् । पेटमा बच्चा बोकेर प्रचारप्रसारमा हिँडेकी थिएँ तर जित्न सकिएन,’ उनले सुनाइन् ।
स्थानीय चुनावमा खेलेको भूमिकाको मूल्याङ्कन गरेर उनी प्रतिनिधिसभाको समानुपातिकमा परिन् । ‘मधेसमा राप्रपाको उपस्थिति राम्रो थिएन । स्थानीय चुनावपछि हामी लागिपर्यौँ । राम्रै मत आयो,’ उनले भनिन्, ‘पार्टीले विश्वास गर्यो । अब संसद्मा गएर मधेसको आवाज उठाउने हो ।’
.jpg)
माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशको सांसद बनेकी दार्चुलाकी लक्ष्मी विक २ वर्षकी छोरीलाई कुर्सीमा सुताएर प्रमाणपत्र बुझ्न लम्किइन् । प्रमाणपत्र बुझेपछि छोरीलाई कुर्सीमै छोडेर पार्टी कार्यालय पेरिसडाँडातिर लागिन् । कुर्सीमै निदाएकी सानी छोरीलाई लक्ष्मीका बुबाआमा कुरेर बसिरहेका थिए ।
‘छोरी पार्टी कार्यालय गइन् । नातिनीलाई कुरेर बसेको । धेरै संघर्ष गरेर छोरी यो ठाउँमा पुगिन्,’ लक्ष्मीकी आमा चन्द्रदेवी खुसी हुँदै छोरीलाई आशिष दिइन्, ‘गरिबको सेवा गर्नू, योभन्दा माथि पुग्नू ।’
माननीय बनेकी लक्ष्मीले जनताले गरेको विश्वासलाई कदर गर्ने प्रतिबद्धता जनाइन् । ‘जनताले गरेको विश्वासको कदर गर्नेछु । दलित र पछाडि परेका जनताको सिपाही भएर काम गर्नेछु,’ उनले भनिन् । निर्वाचनको समयमा उनी छोरीलाई बोकेरै कालापानीसम्म पुगेर प्रचारप्रचारमा खटिएकी थिइन् ।
.jpg)
राप्रपाबाट बागमती प्रदेशको सांसद बनेकी हुन् अपाङ्गता भएकी लक्ष्मी घिमिरे । रामेछापकी उनी ह्विलचेयरमा बसेर प्रमाणपत्र बुझ्न गएकी थिइन् । अबको पाँच वर्ष सांसद भएर अपाङ्गता भएकाको मुद्दा संसद्मा लैजाने उनको योजना छ ।
‘सार्वजनिक यातायातदेखि हरेक ठाउँमा अपाङ्गता भएकाहरूका लागि समस्या छ । विशेष रूपमा अपाङ्गता भएकाहरूका लागि काम गर्छु,’ उनले भनिन् । पाँच वर्षअघिदेखि राजनीति गर्न थालेकी हुन् उनले । विवेकशील साझा पार्टीबाट राजनीति सुरु गरेकी घिमिरे रवीन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेकी हुन् ।
.jpg)
मधेस प्रदेशमा एमालेबाट सांसद बनेकी हुन् पल्टीदेवी महरा । दलित समुदायबाट सांसद बनेकी उनको योजना मधेसका महिलाहरूका लागि काम गर्ने छ । ‘मधेसमा दलित महिलामाथि हिंसा, दमन, शोषण र छुवाछुत रोकिएको छैन । म दलित समुदायबाट आएकी हुँ । अब संसद्मा मधेसका महिलाहरूको आवाज उठाउनेछु,’ उनले भनिन् । यसरी सांसदहरू आयोगको प्राङ्गणमा आ–आफ्नो योजना सुनाइरहेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी २५ वर्षीयाँ निशा डाँगीदेखि र राप्राका ८० वर्षीय पशुपति शमशेर जबरासम्म समानुपातिकको प्रमाणपत्र लिन आयोग पुगेका थिए । ४ मंसिरमा भएको चुनावमा समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेश ७ मा २२० गरी ३३० सांसद विजयी भएका थिए ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १९:४२