अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको छत्रदेव गाउँपालिका– १, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले आफ्नै ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते साँझ झगडा हुँदा बलबहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मी नेपालीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमान्को घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्ड्याई मारेको बयान दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे जानकारी दिए ।
प्रहरीका अनुसार लक्ष्मीले पासोबाट शव निकाली भुईंमा राखी पटुका आफ्नो कम्मरमा बाँधी आफूलाई श्रीमान्ले कुटपिट गरेको भन्दै गुहार मागेकी थिइन् । सार्की दम्पतीले झगडा हुनुपहिला रक्सी सेवन गरेका थिए । लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १६:२२