एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा तीनपाङ्ग्रे ईभीका दुई भेरियन्ट ल्याउने भएको छ । कम्पनीले कार्गोमा रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम ल्याउन विश्वको ओमेगा सेकी मोबिलिटीसँग औपचारिक सहकार्य गर्ने भएको हो ।
ओएसएम रेजप्लस तीनपाङ्ग्रे कार्गोमा १०.८ किलोवाट आवर ब्याट्री जडान गरिएको छ भने ओएसएम स्ट्रिम ८.५ किलोवाट आवर पावर प्याक जडान गरिएको छ । यसमा जडान गरिएको मोटरले अधिकतम ७.४ किलोवाटको पावर र ४५ एनएम पिक टर्क उत्पादन गर्छ ।
ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिन्छ । पूर्ण चार्जले तीनपाङ्ग्रे मालवाहक (रेजप्लस) १२० किमी र तीनपाङ्ग्रे यात्रुवाहक सवारी (स्ट्रिम) ९५ किमीको यात्रा गर्न सकिन्छ ।
यी सवारीसाधनमा १० इन्चको टायर प्रयोग गरिएको छ भने दुवै सवारीसाधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।
नेपाली बजारमा रेजप्लस र स्ट्रिमको सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारीसाधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्ने एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले बताए ।
ओमेगा सेकी मोबिलिटी प्रदूषणविरुद्धको सरकारको लडाइँको एक हिस्सा बन्न चाहेको र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौं मात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउने ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले बताए ।
इन्धनको मूल्यवृद्धिसँगै देशमा पेट्रोल र डिजेलबाट चल्ने तीनपाङ्ग्रे सवारीसाधन चलाउन आर्थिक रूपमा खर्चिलो हुन थालेकाले रेज प्लस र स्ट्रिमको कम लागत अपरेटरहरूका लागि लाभदायक हुने ओमेगा सेकी मोबिलिटीका प्रबन्ध निर्देशक डा देब मुखर्जीको दाबी छ ।
भारतीय इलेक्ट्रिक थ्री ह्विलर कार्गो क्षेत्रको शिखरमा पुगिसकेपछि ओएसएमले त्यहाँको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक थ्री ह्विलर अब नेपालमा ल्याइरहेको बिक्री, मार्केटिङ र सेवासम्बन्धि निर्देशक विवेक धवनले बताए ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ १९:१६