साउदी अरबले आप्रवासी श्रमिकको सट्टामा आफ्ना नागरिकलाई रोजगारीमा ल्याउने विभिन्न उपाय अपनाउन थालेको छ । हालै साउदीको श्रम, रोजगार तथा व्यवस्थापन मन्त्रालयले ‘समृद्धिका लागि देशभित्र रोजगारी’ भन्ने स्किम ल्याएको छ ।
सन् २०२२ मा मात्रै १ लाख ८८ हजार साउदी नागरिक आन्तरिक रोजगारीमा प्रवेश गरेका थिए । तीमध्ये दैनिक १ हजार ३९ जना स्थानीय नागरिक आफ्नै आसपासको रोजगारीमा जोडिन थालेको साउदी गजेट पत्रिकाले गरेको एक रिपोर्टिङमा उल्लेख छ ।
गत शनिबार सार्वजनिक गरेको रिपोर्टिङमा साउदीका नागरिक स्थानीय रोजगारीमा रमाउन थालेको समेत बताइएको छ । रोजगारीमा जोडिने महिलाको संख्या उल्लेख्य छ । अहिले दैनिक ५ सयभन्दा धेरै महिला रोजगारीमा जोडिन थालेको पत्रिकामा भनिएको छ ।
उक्त पत्रिकाले सन् २०२१ को तुलनामा २०२२ मा स्थानीयलाई रोजगारीमा जोड्ने क्रम ५.४५ प्रतिशतले बढेको साउदीको रोजगार विभागलाई उद्धृत गर्दै जनाएको छ ।
दक्ष र उच्च रोजगारी कटौती
साउदीमा अहिले २५ वटा देशका करिब १ करोड ५ लाख आप्रवासी श्रमिक रहेको त्यहाँको अध्यागमन विभागको तथ्यांक छ ।
२०२० देखि साउदीले आप्रवासी श्रमिकमाथि दीर्घकालीन निर्भरता हटाउने लक्ष्य लिएको थियो । उक्त लक्ष्यअनुुसार बंगलादेश, पास्कितान र श्रीलंकाका श्रमिकको माग साउदी सरकारले कटौती गर्न थालेको साउदी श्रमिक पठाउँदै आएका म्यानपावर व्यवसायीहरू बताउँछन् ।
साउदी अरबले देशको अर्थतन्त्र बलियो बनाउन पनि आप्रवासी श्रमिकमाथिको निर्भरता कम गर्ने नीति अघि सारेको छ । साउदीले आफ्नो देशभित्र रोजगारी गर्ने इच्छा भएका नागरिकलाई भत्तासहित एक वर्ष तालिमसमेत दिने गरेको छ ।
साउदीका हरेक रोजगारदाता कम्पनीले साउदीका नागरिकलाई उच्च पदमा ३० प्रतिशत कोटा छुट्याउनसमेत थालेका छन् ।
यस्तै, साउदीमा कलकारखाना, उद्योग, उत्पादन, सपिङ मल र अन्य क्षेत्रका उच्च पदमा ४० प्रतिशत साउदीकै नागरिकलाई प्राथमिकता दिन थालिएको छ । जसका कारण नेपालमा आउने कोटा कटौती हुन थालेको म्यानपावर व्यवसायीहरू बताउँछन् ।
पछिल्लो समय साउदी नागरिकको आफ्नै देशभित्र रोजगारीमा आकर्षण बढेसँगै अन्य देशको रोजगारी कटौती गर्नेर्न थालेको रोजगार व्यवसायी सुजित श्रेष्ठ बताउँछन् । साउदीबाट अहिले श्रमिकको माग आए पनि धेरै नै कटौती हुन थालेको छ । जसका कारण साउदी जाने श्रमिकको संख्या विस्तारै घट्दै जाने उनको भनाइ छ । हाल साउदीमा करिब साढे ३ लाख नेपाली रोजगारीमा कार्यरत छन् ।
गत आर्थिक वर्षमा १ लाखभन्दा बढी नेपाली युवायुवती रोजगारीका लागि साउदी पुगेको विभागको तथ्यांक छ । चालु आर्थिकको सुरुको ५ महिनामा ४० हजार नेपाली साउदी पुगेको विभागले जनाएको छ ।
कोरोना महामारी सुरु भएसँगै रोजगारीका लागि साउदी अरब गएका नेपाली श्रमिक धेरै समस्यामा पर्ने गरेका छन् । साउदीमा अलपत्र परेका श्रमिकलाई कम्पनीले तलब नदिने गरेको, परिचयपत्र (अकामा) नबनाइदिने, खानेबस्ने समस्या, स्वदेश फर्किन टिकट नदिने र करारपत्र रद्द गरिदिने समस्या बढेको विभागले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९ १७:४४