जनकपुरधाम उपमहानगरपालिका धनुषाका तीनवटा निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ सँग जोडिएको छ । उपमहानगरका अधिकांश वडा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा समावेश छन् । २०४६ सालयता जनकपुरधामको मुख्य शहरी क्षेत्रबाट कुनै पनि वाम पार्टीले चुनाव जितेका छैनन् । यहाँकाे संसदीय चुनाव गैरवाम र स्थानीय तहमा केही संख्यामा स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदै आएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्रनारायण निधि, उनका छोरा विमलेन्द्र निधिले दुई–दुईपटक र राप्रपाका कृष्णप्रताप मल्लले एकपटक चुनाव जितेका छन् । मधेस आन्दोलनपछि भने जनकपुरधाममा मधेसकेन्द्रित दलको कब्जामा रहँदै आएको छ । यो क्षेत्रबाट तत्कालीन नेपाल सद्भावना पार्टीबाट सञ्जय साहले दुईपटक चुनाव जिते भने २०७४ काे चुनावमा लाेसपाका नेता राजेन्द्र महतो कांग्रेसका विमलेन्द्र निधिलाई हराएर चुनाव जितेका थिए ।
कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले कहिल्यै नजितेकाे याे क्षेत्रबाट ४ मंसिरकाे चुनावबाट एमाले नेतृ जुलीकुमारी महतो पहिलाेपटक निर्वाचित भएकी छिन् । प्रदेशसभा ३ (ख) मा पनि एमाले उम्मेदवार दीपेन्द्र ठाकुरले चुनाव जितेर २०४६ सालदेखिको इतिहास क्रमभंग गरेका छन् ।
यति मात्र होइन, २०७४ मा बलियाे वाम गठबन्धन गर्दासमेत मधेस प्रदेशबाट दुईवटा सिट मात्र जितेकाे एमालेले अहिले प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभामा प्रत्यक्षतर्फ १४ सिट जितेकाे छ । मधेसमा एमाले र जसपाले चुनावी तालमेल गरेका थिए । प्रतिनिधिसभाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये २३ वटामा मात्रै तालमेल भएकाे थियो, बाँकी क्षेत्रमा यी दुई दलले मित्रवत् प्रतिस्पर्धा गरेका थिए ।
मधेसमा प्रतिनिधिसभामा एमालेले ८, कांग्रेसले ७, जसपाले ६, लोसपाले ३, माओवादी केन्द्रकाे चुनाव चिह्नबाट १, नेकपा एस २, जनमत १ र स्वतन्त्र उम्मेदवारले ३ सिटमा जितेका छन् । प्रदेशसभातर्फ प्रत्यक्षमा सबभन्दा बढी १४ सिट एमालेले जितेको छ । कांग्रेसले १२, जसपाले ९, लोसपाले ७ सिटमा जित निकालेका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चार–चार क्षेत्रमा जित हासिल गरेका छन् ।
प्रदेशसभामा पहिलोपटक डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ६ सिट जितेको छ । यो निर्वाचनको अर्को रोचक पक्ष के हो भने प्रदेशसभामा मात्रै ६ जना स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् । यसअघिका प्रदेशसभाको निर्वाचनमा १ जना मात्रै स्वतन्त्र उम्मेदवार अबुल कलाम अजाद निर्वाचित भएका थिए । उनीपछि तत्कालीन संघीय समाजवादी पार्टीमा प्रवेश गरे । अदाज अहिले जसपाबाट प्रदेशसभामा पुनः विजयी भएका छन् ।
मधेस प्रदेशसभामा प्रत्यक्ष ६४ र समानुपातिकको ४३ वटा सिट गरेर १ सय ७ वटा सिट छन् । प्रत्यक्षतर्फको परिणाम करिब आइसकेको छ भने समानुपातिकतर्फको पूर्ण मतपरिणाम आउन अझै केही समय लाग्ने देखिएकाे छ । अहिलेसम्मको समानुपातिक मतपरिणामको रुझान हेर्दा कांग्रेस पहिलाे र एमाले दाेस्राे हुने देखिन्छ । मधेसकेन्द्रित दलहरू पछाडि परेका छन् ।
एमाले र कांग्रेसलाई फाइदा
२०७२ सालमा संविधान जारी भयो । तर, मधेसकेन्द्रित दलले त्यसलाई अधुरो संविधान भन्दै मान्न इन्कार गरे र नेपालकै इतिहासमा ६ महिना लामो आन्दोलन गरे । उक्त आन्दोलनका क्रममा भारतले अघोषित नाकाबन्दी पनि गर्याे । त्यतिबेला मधेसमा कांग्रेसभन्दा बढी एमालेप्रति जनताको ठूलो आक्रोश थियो । कारण तत्कालीन प्रधानमन्त्री थिए, एमाले अध्यक्ष केपी शर्मा ओली ।
आन्दाेलनले मधेस जलिरहेको र नागरिककाे ज्यान गइरहेका बेला ओलीका कतिपय विवादास्पद अभिव्यक्तिले मधेसमा आक्राेश थपिएकाे थियाे । मधेसकेन्द्रित नेताहरूले ओलीका अभिव्यक्तिलाई सिंगाे मधेसी समुदायप्रति लक्षितभन्दै घृणा फैलाएर आन्दोलन चर्काएका थिए । तर, ओलीकाे सरकार ढलेपछि ६ महिना लामो आन्दोलन नाटकीय रूपमा अवतरण भयाे । तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संविधान संशाेधन गर्ने सहमति गरेर नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी भए ।
२०७४ सालको चुनावसम्म मधेस आन्दोलनको रापताप बाँकी नै थियो । मधेसकेन्द्रित दलहरू तत्कालीन संघीय समाजवादी पार्टीले १० र तत्कालीन राजपाले ८ निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव जिते र समानुपातिकमा पनि राम्रो सिट हात पारे । तर, २०७९ सालको चुनावमा मधेस आन्दोलनको राप सेलाइसकेकाे थियाे । मधेसकेन्द्रित दलप्रति नागरिककाे असन्तुष्टि र आक्रोश बढेर जाँदा त्यसकाे फाइदा कांग्रेस–एमालेले लिएका छन् ।
२०६२/०६३ का आन्दोलनकारी जनकपुरका युवानेता इन्द्रकुमार मधेसानन्द मधेसी जनताले यसपटक मधेसी नेताहरूलाई सुध्रिन चेतावनी दिएकाे बताउँछन् । मधेसकेन्द्रित दलप्रति नागरिकमा वितृष्णा फैलिनुका पछाडि सत्तामा पुग्ने मधेसी नेताहरूले जनताकाे कामभन्दा पनि आफ्नाे विलासितामा मात्रै ध्यान दिनु मुख्य कारण रहेकाे उनीकाे दाबी छ ।
राजनीतिक विश्लेषक रोशन जनकपुरी पनि त्यसै ठान्छन् । उनी भन्छन्, 'मधेसकेन्द्रित दलका शीर्ष नेताहरू आसेपासेमा रुमल्लिए । उनीहरू मधेसी जनताको बीचमा आउन सकेनन् ।’
यता, नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादव पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक प्रधानमन्त्री हुँदा तीन वर्षमा मधेस प्रदेशमा गरेको विकासलाई देखेर जनताले मतदान गरेको दाबी गर्छन् । ‘विपक्षीले एमालेलाई मधेसविरोधी पार्टीको रूपमा प्रचार गरे । तर, अध्यक्ष ओलीले विकासका विभिन्न प्याकेजहरू ल्याउनुभयो', उनी भन्छन्, ‘विकासका सामु उनीहरूको झुटो प्रचार टिक्न सकेन ।'
प्रभुको एमाले हराउ अभियान निष्प्रभावी
पार्टीकाे टिकट हाेल्ड गरेर अन्तिम समयमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि मधेसमा एमालेले धक्का खाने धेरैकाे अनुमान थियाे । त्यसकाे केही क्षति ब्यहाेरे पनि एमालेले याे चुनावबाट शक्ति आर्जन गरेकाे देखिन्छ । साहले आफ्नाे प्रभाव क्षेत्र रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा किरण साहलाई स्वतन्त्र उम्मेदवार बनाएर जित दिलाए । उनले एमालेले जसपासँग अपवित्र गठबन्धन गरेको भन्दै एमाले हराउ अभियान चलाएका थिए । तर, उनकाे अभियानले खास काम गरेन ।
केन्द्रीय सचिव रघुवीर महासेठसँगकाे आन्तरिक प्रतिस्पर्धाका कारण साहले एमाले छाेडेर मधेसलाई एमालेमुक्त बनाउने अभियान चलाएका थिए । महासेठपत्नी तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमाले–जसपाका साझा उम्मेदवार जुली महतोलाई हराउन उनी जनकपुरधाममा सक्रिय भएका थिए । त्यहाँ उनले स्वतन्त्र उम्मेदवार तथा नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष उमेश साहलाई समर्थन गरेका थिए । तर, महतो फराकिलाे मतान्तरले विजयी भइन् ।
ओलीले हात मिलाए तर मन मिलाउन सकेनन्
आफ्नो मागअनुसारको टिकट नपाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाए । तर, अध्यक्ष यादवलाई एमालेसँगको चुनावी तालमेल फापेन । यादव आफैँ सप्तरी २ मा भारी मतान्तरले पराजित हुन पुगे । त्यहाँ एमालेले सहयोग नगरेको आरोप जसपाका नेता तथा कार्यकर्ताकाे छ ।
मधेसमा एमाले र जसपाको चुनावी तालमेलले एमालेलाई फाइदा भए पनि जसपाले त्यसको फाइदा उठाउन सकेन । सुनसरी १ मा वरिष्ठ नेता अशाेक राईले चुनाव जिते, त्याे एउटा उपलब्धि हुन सक्छ । त्यसबाहेक सत्तारुढ गठबन्धनसँग सामना गर्न भने एमाले-जसपा तालमेलले केही मद्दत गरेकाे देखिन्छ ।
'एमाले–जसपाले चुनावी गठबन्धन बनाए पनि सम्बन्ध बलियो हुन सकेन', जनकपुरी भन्छन्, ‘ओलीले यादवसँग चुनावी तालमेल गर्न हात त मिलाउनुभयाे तर मन मिलाउन सक्नुभएन । जसपाको सहयोगले एमालेले फाइदा उठायाे, जसपाले उल्लेख्य उपलब्धि हात पारेन ।'
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९ १५:०७