बहुदल स्थापनापछि राजनीतिबाट छायाँमा परेको लामो समयपछि राप्रपाले मकवानपुरमा ‘कमब्याक’ गरेको छ ।
बहुदलपछि कम्युनिस्टहरूको प्रभाव बढ्दै जाँदा राप्रपाको संसदीय निर्वाचनमा लगातार पराजित हुँदै आएको थियो । राप्रपालाई २८ वर्ष अर्थात् २०५१ सालपछि जित दिलाउने दीपकबहादुर सिंह बनेका छन् । उनले दुई संसदीय निर्वाचन र दुई मेयर निर्वाचन लडेर पराजित भएपछि पाँचौँ पटकको प्रयासमा जित निकाले ।
राप्रपाले अन्तिम पटक २०५१ सालमा कमल थापा विजयी भएर जित निकालेको थियो । त्यसपछिका निर्वाचनमा न कमल थापा जिते न राप्रपाले नै जित्यो । त्यसयता राप्रपाबाट प्रत्यक्ष निर्वाचन जित्न नसकेका उनै थापालाई त्रिपक्षीय प्रतिस्पर्धामा तेस्रो स्थानमा पुर्याएर सिंह विजयी बनेका छन् । सिंहले कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतान्तरले हराउँदै चुनावी प्रतिस्पर्धामा सफल बने ।
चार पटक प्रत्यक्षतर्फ दुई पटक समानुपातिकमा निर्वाचन हारे पनि चुनावी प्रतिस्पर्धाबाट पछि नहटेका सिंह प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा २७ हजार ८ सय १६ मत ल्याएर निर्वाचित भए । डिनाले २५ हजार ५ सय ३४ मत पाएकी थिइन् । थापाले २५ हजार ४२० मत ल्याउँदा तेस्रो बने । देशभर वैकल्पिक शक्तिका रूपमा देखिएका दल र स्वतन्त्रहरूप्रति मतदाताले देखाएको उदारता सिंहलाई मकवानपुरमा मिलेको छ ।
यसअघिका उनको कडा टक्कर २०५६ मा विरोध खतिवडासँग भएको थियो । अन्य निर्वाचनमा भने उनी झिनो मत ल्याएरै रेसबाट आउट हुने गरेका थिए । १ नम्बर क्षेत्रको मतगणनामा सुरुवाती चरणदेखि नै डिना, एमालेका उम्मेदवार थापा र सिंहबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको थियो । बागमती गाउँपालिकाको मतपेटिका खोलेर सुरु गरिएको मतगणनामा डिनाले निरन्तर अग्रता लिएकी थिइन् ।
बकैया गाउँपालिकाको मतगणनामा पनि डिनाले अग्रतालाई निरन्तरता दिएकी हुन् । तर, हेटौँडा उपमहानगरपालिकाको मतगणना हुँदा राप्रपाका सिंहले निरन्तर मतान्तर घटाउँदै लगे । सिंहलाई हेटौँडाको ५ र १२ नम्बर वडाले राम्रो मत दिएपछि उनले मतान्तरलाई उल्टो बनाइदिए र डिना दोस्रो स्थानमा झरिन् । सिंहलाई अन्तिममा ९ र १० नम्बर वडाको मतले जिताइदिएको छ ।
सिंहले हालसम्म लडेका कुनै पनि निर्वाचन जितेका थिएनन् । उनी यसअघि दुईवटा संघीय निर्वाचन र दुई पटक हेटौँडाको मेयरमा उठेका थिए । सिंहले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मेयर पदमा अप्रत्याशित मत ल्याएका थिए । हेटौँडामा राप्रपाको संस्थागत मत करिब ६ हजार रहेको अवस्थामा उनले लोकप्रिय मत २० हजार कटाए ।
मेयर पदमा आफ्नो अनपेक्षित मत आएपछि हौसिएका सिंहले प्रतिनिधिसभा निर्वाचन लडेका हुन् । उनको प्रतिस्पर्धा पनि जिल्लामा यसअघि पटक–पटक निर्वाचन हारेकाहरूबीच थियो । डिनाले हालसम्म प्रत्यक्ष निर्वाचन जितेकी छैनन् । उनी दुई पटक समानुपातिक कोटाबाट संसद पुगेकी हुन् । थापाले मकवानपुरमा पटक-पटक नेकपा एमालेका उम्मेदवारसँग पराजय भोग्दै आएका थिए । एमालेका कृष्णप्रसाद दाहालसँग मात्रै उनी तीन पटक पराजित भएका हुन् ।
सिंह २०५४ सालमै मेयर उठेका थिए । त्यतिबेला पनि उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलसँग १ हजार २ सय मतले हार व्यहोरेका थिए । कम्युनिस्टको गढ मकवानपुरमा राजनीतिक सफलता हासिल गर्न उनलाई मुस्किलै पर्यो । २४ वर्षको उमेरदेखि नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका सिंहले २०५६ र ०६४ सालको निर्वाचनमा उठेर पनि पराजय भोगेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:३३