संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरूमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।
२०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडा ३१ वर्षपछि राेकिएका हुन् । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । जिल्लामा कम्युनिस्टहरूको रापताप बढ्दै गइरहेका बेला उनले जित्न थालेका थिए ।
त्यसपछि २०७४ सम्म आइपुग्दा पनि खतिवडाले चुनाव जितिरहे । उनले चुनाव मात्रै जित्दै आएका थिएनन्, उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरूको रेकर्डमा नामसमेत लेखाएका थिए । खतिवडाले हालसम्म चार वटा निर्वाचन जितेका छन् । उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा-व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् ।
तर, पाँचौँ पटकको प्रयासमा भने उनको अपराजित चुनावी यात्रामा रोक लाग्यो । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लगाउने पनि उनकै राजनीतिक चेला बने । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का खतिवडा र नेकपा एमालेका बर्तौला प्रतिस्पर्धामा थिए । बर्तौलाले आफ्नो पहिलो प्रयासमा खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले हराएका हुन् ।
कुल खसेको मत ८६ हजार ३ सय १ मा बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका छन् । खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । बदर मत ४ हजार १ सय २ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे ।
विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलाेपल्ट संसदीय चुनाव लडेका हुन् ।
बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् । २०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला पनि मैदानमा थिए । तर, त्यसको ठीक पाँच वर्षपछि गुरु-चेला नै एकअर्काको प्रतिस्पर्धी बने । उनीहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा लागेपछि खतिवडा ३० वर्षको राजनीतिमा पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।
पार्टी फुटेपछि मन्त्री बने पनि खतिवडाले आफ्नो पाँचौ चुनावी प्रतिस्पर्धा पक्षमा पार्न सकेनन् । क्षेत्र नम्बर २ मा गठबन्धनको मत करिब ५८ हजारको हाराहारीमा थियो ।
स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा नेपाली कांग्रेसको ३२ हजार, नेकपा माओवादी केन्द्रको २२ हजार र एकीकृत समाजवादीको करिब ३ हजार मत थियो । जसमा नेकपा एमालेको मत ३६ हजार ५ सयभन्दा बढी थियो । अंक गणितमा खतिवडा अगाडि देखिए पनि निर्वाचनको नतिजामा बर्तौलाले बाजी मारे ।
खतिवडा पराजित हुनुका दुई कारण
खतिवडाको पराजयमा दुई कारण छन् । २ नम्बर क्षेत्रबाटै निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले गठबन्धनको भोट काट्नु र स्थानीय तह निर्वाचनमा जसरी खसेको मत संसदीय निर्वाचनमा नआउनु खतिवडाको पराजयका कारण हुन् । जसकारण दुवै पक्षबाट उनलाई क्षति पुगेको विश्लेषण भइरहेको छ ।
कांग्रेसको ठूलो मत रहेकै मनहरी गाउँपालिकामा रास्वपाका पराजुलीले आफ्नो पक्षमा मत तान्नु र राक्सिराङ गाउँपालिकामा खतिवडाभन्दा बर्तौलाको लोकप्रिय मत आउनु पनि कारण हुन् । मतपरिणममा बर्तौलासँग निरन्तर पछाडि रहेका खतिवडाले राक्सिराङबाट उछिनेर जाने आँकलन गरिएको थियो । माओवादी केन्द्रको राम्रो पकड रहेको थाहा नगरपालिकामा पनि खतिवडालाई अपेक्षा गरेअनुसारको मत आएको थिएन ।
बाँकी हेटौंडा उपमहानगरपालिकाको १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडा, भीमफेदी, इन्द्रसरोबर गाउँपालिकामा बर्तौला अब्बल देखिए । बर्तौलाले स्थानीय स्तरमा मनहरी गाउँपालिकाको पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा स्थानीयले पाएको दुःख, थाहा नगरपालिकाको आदर्श व्यक्ति स्वर्गीय रुपचन्द्र विष्टप्रतिको सम्मान व्यक्त, हरेक पालिकामा एक विद्यालय, एक आवासीय भवनलगायतका मुद्दाले उनलाई जिताउन भूमिका खेलेकाे एमाले जिल्ला सचिवालय सदस्य बिदुर हुमागाईंले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०५:४४