नियुक्त भएको १७ महिनापछि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री हरिशरण आचार्य बर्खास्तगीमा परेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गठबन्धनका शीर्ष नेताको निर्देशनपछि मंगलबार उनलाई हटाएर उक्त मन्त्रालय आफैँले राखेका छन् ।
आचार्य २०७४ सालको निर्वाचनमा गोरखा २ (१) बाट कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका थिए । हाल डा. बाबुराम भट्टराई नेतृत्वको नेसपामा रहेका आचार्य त्यही क्षेत्रमा फेरि चुनाव लड्न चाहन्थे । तर, उनको ठाउँमा डा. भट्टराईले फणिन्द्र देवकोटालाई गठबन्धनबाट उम्मेदवार बनाए । आचार्यले स्वतन्त्र उम्मेदवारी दिएकोमा डा. भट्टराईले भनेपछि फिर्ता लिएका थिए । त्यसयता असन्तुष्ट आचार्यले गठबन्धनलाई हराउने गरी सक्रियता बढाएका थिए ।
गोरखाका एक गठबन्धनका नेताका अनुसार उनले गठबन्धनका उम्मेदवारविरुद्ध मत माग्दै स्वतन्त्र पार्टीका उम्मेदवार जिताउन बैठक गरेर हिँडेका थिए । गठबन्धनबाट प्रदेश सरकारमा मन्त्री रहेका आचार्यले गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई मत मागेका थिए । ‘उहाँ गठबन्धनको उम्मेदवारविरुद्ध लाग्नुभएको थियो । सरकारी गाडी नै लिएर आएर यहाँ आफ्ना पार्टीका समर्थकसँग बैठक राखेर घण्टीलाई भोट माग्नुभएको थियो,’ ती नेताले शिलापत्रसँग भने ।
गोरखा–२ मा गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । प्रदेश सभातर्फ गोरखा २ (१) बाट नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र गोरखा २ (२) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे उम्मेदवार छन् । उनले गठबन्धनका उम्मेदवारविरुद्ध मत मागिरहेको जानकारी जिल्लाका गठबन्धनका नेता, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगेको थियो ।
डा. भट्टराईले पनि सहमति जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यमन्त्री पोखरेललाई आचार्यलाई हटाउन निर्देशन दिएका थिए । आचार्यले मत मागिरहेका स्वतन्त्र पार्टीका उम्मेदवार बुर्लाकोटी डा. भट्टराई र आचार्यकै गाउँ पालुङटार–१ खोप्लाङका हुन् ।
जेठमै थियो हटाउने तयारी
आचार्य गठबन्धनको सरकार बनेपछि २०७८ साल २९ जेठमा बिनाविभागीय मन्त्री नियुक्त भएका थिए । अर्थ मन्त्रालय दाबी गरेका आचार्यलाई मुख्यमन्त्री पोखरेलले असार दोस्रो हप्ता ऊर्जा मन्त्रालयको जिम्मा दिएका थिए ।
रोजेको मन्त्रालय नपाए पनि उनले काम गरेकै थिए । प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट ल्याउँदादेखि मुख्यमन्त्री र मन्त्री आचार्यबीच खटपट सुरु भयो । प्रदेश सरकारको बजेट आर्थिक वर्ष २०७८-७९ भन्दा ६ अर्ब रुपैयाँ बढेर आए पनि आफ्नो मन्त्रालयको सिलिङ घटाएकोमा उनी रुष्ट थिए । ‘चालु वर्षलाई मन्त्रालयको बजेट ३ अर्ब ७९ करोड ३७ छ । अबको वर्ष १ अर्ब ५२ करोड ५२ लाखले कम दिइयो । यो अर्थमन्त्रीले बन्द झ्यालमा बनाएको बजेट हो,’ उनले त्यतिबेला भनेका थिए ।
बजेटको सिलिङ घटाएपछि क्याबिनेटमा बागी बनेका मन्त्री आचार्यले प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २४ जेठमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नै बहिष्कार गरेका थिए । ३० जेठमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो । उनी डा. भट्टराईले फोन गरेपछि संसदमा पुगेका थिए र नीति तथा कार्यक्रम पारित भएको थियो । त्यो दिन उनी संसद नगएको भए बर्खास्त गरेर जसपाकी सचेतक धनमाया लामालाई मन्त्री बनाउन मुख्यमन्त्री तयार थिए । त्यसमा बाबुराम भट्टराईले पनि समर्थन जनाएका थिए ।
‘त्यतिबेला सरकारको समयावधि ५ महिना बाँकी थियो । सरकार के हुन्छ भन्ने भएर गर्नुभएन । अब अन्तिम समय भएकाले समस्या भएन,’ प्रदेश सभाका एक निवर्तमान सांसदले सुनाए । आचार्यलाई त्यतिबेला युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन गरेका थिए । आचार्यलाई हटाए आफू पनि मन्त्रिपरिषद्मा नरहने मनाङेले चेतावनी दिएपछि त्यतिबेला मुख्यमन्त्रीले थप कदम चाल्न सकेका थिएनन् ।
के भन्छन् आचार्य ?
बर्खास्तगीमा परेका मन्त्री आचार्यले आफूले गठबन्धनको विरुद्धमा भोट मागेको प्रमाणीत गर्न चुनौती दिएका छन् । ‘कसैले हल्ला गर्दैमा हुँदैन । मैले प्रचण्ड र गठबन्धनविरुद्ध त्यस्तो गतिविधि गरेको प्रमाणीत गरियोस्, जवाफ दिन तयार छु,’ उनले शिलापत्रसँग भने ।
आफूले सांसद भएर आएदेखि नै स्वाभिमान भएर सरकार र संसदमा हरेक गलत कदमको विरोध गरेको उनको दाबी छ । आफूले आगामी चुनावमा दिएको उम्मेदवारी आफ्नै पार्टीका नेताको आग्रहअनुसार नैतिक आधारमा दिएको बताए ।
आफूलाई बर्खास्त गर्नाले गठबन्धनलाई आगामी चुनावमा घाटा हुने आचार्यले दाबी गरे । डा. भट्टराईले पुस्तान्तरणको नाममा छोरीलाई राजाले गद्दी हस्तान्तरण गर्नेजस्तै गतिविधि गरेको भन्दै आचार्यले आक्रोश पोखे । नेता आचार्यले डा. भट्टराई नेतृत्वको नेसपा छोड्ने मनस्थिति बनाएका छन् । ‘मैले पार्टी बनेपछि २१ असोजमा कुनै भूमिकामा नराख्नु भनेको थिएँ । उहाँले राख्नुभयो त्यो उहाँकै कुरा भयो,’ उनले भने, ‘अब आफ्नै पहिचान बनाएर लाग्छु ।’ आचार्य नेसपाको केन्द्रीय सदस्य हुन् ।
यो पनि : प्रचण्डको विरोध गरेपछि गण्डकीका ऊर्जामन्त्री बर्खास्त
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १८:२८