कुनै समय नेकपा एमालेका सहयात्री केन्द्रीय नेताद्वय घनश्याम भुसाल र छविलाल विश्वकर्मा आसन्न चुनावमा भने रुपन्देही– १ बाट प्रतिस्पर्धामा उत्रिँदैछन् । एमाले पार्टी नै परित्याग गरेर भुसाल स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका हुन् । तर, भुसाल त्यस्ता स्वतन्त्र उम्मेदवार हुन्, जसलाई पाँचदलीय सत्ता गठबन्धनले अन्य उम्मेदवार नउठाएर उक्त क्षेत्र सुम्पिएकाे छ ।
२०७४ सालमै विजयी भएका छविलाल विश्वकर्माको पुनः उम्मेदवारीले भने भुसाललाई चुनौती दिएको छ । आफ्नो राजनीतिक करियरकै नयाँ मोड सुरु गरेका भुसाललाई रुपन्देही १ ले सांसद बनाऊला वा नबनाऊला, प्रतिस्पर्धालाई चासाेका साथ हेरिएको छ ।
यद्यपि भुसालका लागि रुपन्देही नौलो ठाउँ भने होइन । भुसाल रुपन्देही १ मा २८ वर्षपछि उम्मेदवारको रूपमा फर्किएका हुन् । २०५१ सालमा भुसालले आफ्नो जीवनकै पहिलो आमनिर्वाचनमा उम्मेदवारी दिँदा यसै क्षेत्रबाट उठेका थिए । तर, पछिका निर्वाचनहरूमा पार्टीले अन्य क्षेत्रबाट उठाएपछि भुसाल यस क्षेत्रमा मन हुँदाहुँदै पनि उम्मेदवारी दिन नपाएको आफैँ बताउँदै आएका छन् ।
२०७० र २०७४ को चुनावमा भुसाल रुपन्देहीको क्षेत्र नं ३ बाट चुनाव लडे । अघिल्लो चुनावमा उनले रुपन्देही ३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै विजयी भएका थिए । रुपन्देही उनको गृहजिल्ला पनि हो । तर, यसपटक रुपन्देही ३ मा एमालेकाे टिकट नपाएपछि उनी रुपन्देही १ मा पार्टी नै छोडेर चुनावमा होमिएको टिप्पणी हुने गरेको छ ।
एमालेले गठबन्धन नगरेकाे भए सम्भवतः यतिबेला रुपन्देही ३ मा भुसाल गृहमन्त्री बालकृष्ण खाँण र दीपक बोहाेरासँग चुनाव लडिरहेका हुन्थे । एमालेका महासचिव शंकर पोखरेलले स्वतन्त्र रूपमा प्रतिस्पर्धा नै गर्नु थियो भने भुसालले क्षेत्र नम्बर ३ बाटै उठ्नुपर्ने थियाे भनेर अभिव्यक्तिसमेत दिएका छन् । तर, ‘एउटा दलित उम्मेदवारलाई हराउने मनसायका साथ भुसाल रुपन्देही १ मा उठेको’ आरोप पोखरेलले लगाएका छन् ।
काठमाडाैंमा जस्ताे चर्चा र लाेकप्रियता भुसालकाे छ, रूपन्देही १ काे चुनावी मैदानले भने त्यस्ताे देखाउँदैन । कारण गत २०७४ को चुनावमा ३४ हजार ७ सय ५२ मतसहित विजयी भएका एमाले केन्द्रीय सचिव छविलालको पकड क्षेत्रकै रूपमा रुपन्देही १ लाई बुझिन्छ । यद्यपि २०७० सालमा भने उनले सोही क्षेत्रबाट हारेका थिए । अघिल्लोपटक माओवादीको समर्थन पाएका विश्वकर्मा यसपालि भने एक्लै मैदानमा छन् । भलै, राप्रपा र जसपाको उनलाई साथ छ । एमालेले सो क्षेत्रमा एकपटक मात्रै जितेको हो । २०७४ मा बाहेक यस क्षेत्रमा नेकपा एमाले सफल हुन सकेको छैन ।
२०४८ र २०५१ सालमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा पहिलो संविधानसभाको चुनाव नेकपा माओवादी केन्द्रले जितेको थियो । दोस्रो संविधानसभाको चुनाव नेपाली कांग्रेसका अब्दुल रजाकले जितेका थिए । अब्दुल रजाक अहिले भुसालसँगै एउटै गठबन्धनबाट प्रदेशसभा सदस्य चुनाव लडेका छन् । भुसाल यतिखेर वाम लोकतान्त्रिक नीतिको नारा लगाउँदै घरदैलो गरिरहेका छन् । नेकपा एमाले नै विभाजन भएको र भुसाल एमाले नै छोडेर प्रतिस्पर्धामा उत्रिएको परिवेशमा चुनावको आकलन गर्न मुस्किल भएको छ । दुवै प्रतिस्पर्धी बलियो भएकाले पनि चुनावी आकलन जटिल बनेको हो । रुपन्देही १ मा प्रतिनिधिसभातर्फ २१ उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये १२ स्वतन्त्र छन् ।
स्थानीय तहकाे निर्वाचनकाे परिणाम हेर्दा रूपन्देही १ मा कांग्रेससँग सबैभन्दा ठूलाे जनमत देखिन्छ । कांग्रेससहित सत्ता गठबन्धन दलहरूले स्थानीय चुनावमा ४२ हजार ४४६ मत प्राप्त गरेका थिए । भुसालकाे जितकाे मुख्य आधार यही मत हाे । तर, एमाले र उसँग तालमेल गरेका राप्रपा र जसपाले प्राप्त गरेकाे मत याेभन्दा ज्यादा छ । रूपन्देही १ मा एमालेसहितका तीन दलले स्थानीय चुनावमा ५२ हजार ६ सय ४९ मत प्राप्त गरेका थिए । त्याे सत्ता गठबन्धनले प्राप्त गरेकाे मतभन्दा १० हजार २ सय ३ मतले ज्यादा हाे । स्थानीय चुनावकै जनमत कायम रहेमा एमाले सचिव विश्वकर्मालाइ चुनाव जित्न सहज हुने देखिन्छ । तर, एमालेकै देवदह नगरपालिका कमिटी अध्यक्ष टिकाराम चापागाइकाे स्वतन्त्र उम्मेदवारीले छविलालकाे केही मत प्रभावित हुने देखिन्छ ।
एमालेमा लामाे सहयात्रा गरेका यी दुइ नेताका चुनावी प्रतिबद्धता शिलापत्रले जस्ताकाे तस्तै प्रस्तुत गरेकाे छ ।
छविलालको चुनावी छवि : ‘सुरु गरेको काम पूरा गर्नुछ’
सहकार्यका हिसाबले हामी संयुक्त परिचालन कमिटीले बनाएको योजनाअनुसार प्रत्येक वडामा भेटघाट गर्ने र आफ्ना सन्देश सुनाउने काम गर्दैछौँ । यो क्षेत्रमा म निर्वाचित भएपछि मैले अगाडि सारेका कामहरू, जुन मार्गचित्र कोरेको थिएँ, त्यसलाई निरन्तरता दिएर पूरा गर्नकै लागि पनि म नै पुनः दोहोरिएर उम्मेदवार हुन आवश्यक छ । मैले नै यहाँका जनताको सही नजरले प्रतिनिधित्व गर्न सक्छु भन्ने मेरो बुझाइ हो । यसबीचमा हामीलाई कोभिडले काम गर्न दिएन ।
दशगजादेखि दलदले र माछागढीसम्म समग्र विकाससँग सम्बिन्धत कामको मैले परिकल्पना गरेँ । दशगजाको सीमावर्ती ठाउँबाट विकास निर्माणको काम गर्न सुरु गरेँ । त्यो अहिले प्रारम्भ भएको छ । जनता, मतदाताले मेरो काम पहिचान गरेकै छन् भन्ने लाग्छ । अन्योलमा छन् जस्तो लाग्दैन मलाई ।
लुम्बिनी बौद्ध विश्वविद्यालय देवदह मेरो निर्वाचन क्षेत्रमा छ । डिनको कार्यालय छ । गुरुयोजना सुरु भएको छ । रोहिणी नदी प्राकृतिक सम्पदा हो । त्यसको विकास र बहुउद्देश्यीय प्रवर्द्धनमा राष्ट्रिय गौरव आयोजनाअन्तर्गत राख्ने मेरो प्रोजेक्ट हो । मेरै कार्यकालमा सुरु गरेको बुटवल मेडिकल कलेज तिलोत्तमा– ८ मा छ । काम अगाडि बढेको छ । त्यसलाई पूरा गर्नुछ । बुटवल नारायणगढ सडक विस्तारको काम, हुलाकी सडक, औद्योगिक कोरिडोर सबैलाई लय दिनुपर्नेछ । विद्यालय, कलेज सामुदायिक विद्यालयलगायतका पूर्वाधार पनि मेरो प्राथमिकतामा पर्छन् ।
तर, पार्टी नै छोडेर पार्टीलाई, आन्दोलनलाई, जनतालाई आउने उम्मेदवारबाट धोका भयो कि भएन, सूर्य चिह्नको अपमान भयो कि भएन भनेर प्रश्न उठेको छ । एउटा टिकट नपाउँदैमा पार्टी छोड्ने, निर्वाचन क्षेत्र चहार्दै हिँड्ने मेरो बानी छैन । इमानका साथ आँट गर्ने हो । कांग्रेसी पनि मेरा मतदाता हुन् भन्ने बुझेको छु । जनता नै सर्वोपरी भएको हुनाले उहाँहरूले विवेक प्रयोग गर्नुहुन्छ भन्ने लाग्छ ।
भुसालको भविष्य : ‘मलाई जनताले राम्ररी चिनेका छन्, चिनाउन बाँकी चुनाव चिह्न मात्रै हो’
म यो निर्वाचन क्षेत्रका लागि नयाँ मान्छे होइन । पार्टी निर्माणदेखिकै मेरो यस क्षेत्रमा लगानी छ । मैले अधिकांशलाई व्यक्तिगत रूपमै चिन्छु । उहाँहरूले पनि मलाई राम्ररी बुझ्नुहुन्छ । म हिजो केका लागि लडेँ, अहिले केका लागि लड्दैछु भन्ने कुरा पनि उहाँहरूलाई राम्ररी थाहा छ । यसले गर्दा यो पार्टी त्यो पार्टी नभनीकन आमरूपमा मतदाताहरूको राम्रो रेस्पोन्स पाएको छु ।
मेरो चुनाव चिह्न त्रिभुज हो भन्ने कुरा सबैलाई बुझाउनुपर्नेछ । मेरो लागि चुनौती यत्ति मात्रै हो ।
पहिलो त यो क्षेत्रमा म आफैँले काम गरेको, मलाई उहाँहरूले जान्नुभएको र मैले धेरैलाई पनि चिनेको हिसाबले हेर्दा मेरो उम्मेदवारीले मतदातामा उत्साह छाएको पाएको छु । दोस्रो कुरा, गठबन्धनको समर्थन छ । तेस्रो, मैले जे राजनीतिक एजेन्डाहरू उठाइराखेको छु । राजनीतिक हिसाबले मेरो उम्मेदवारीका बारेमा मैले जसरी भनेको छु, ओलीजी (एमाले अध्यक्ष केपी ओली)ले पार्टीलाई जसरी बर्बाद पार्नुभयो, नेकपा एमालेलाई बर्बाद पार्नुभयो । त्यो कुरा स्वयम् एमालेका साथीहरूले, धेरै मतदाताहरूले पनि मनन गर्नुभएको छ । किनभने, रुपन्देही–१ राजनीतिक रूपमा अलिक सचेत क्षेत्र पनि हो । त्यस हिसाबले मतदाता स्तरसम्मचाहिँ ओलीजीले बर्बाद पारिरहेको, ओलीजीले अन्याय गरिरहेको परिवेशमा पार्टीमाथि र मेराविरुद्ध पनि उहाँले अनेक हतकण्डाहरू अपनाएको कुरा मतदाता तहसम्म थाहा छ । त्यसले गर्दा म यहाँबाट जित्छु भन्ने लाग्छ ।
रुपन्देहीलक्षित एजेन्डाहरूसहित आएको छु । मेरो क्षेत्र बुद्धको मावली देवदह हो । एउटा ठूलो विषय हो हाम्रा लागिचाहिँ । बौद्ध विश्वविद्यालयका लागि यहाँ जग्गाजमिनहरू छुट्टिएको छ । र, अब त्यो विश्वविद्यालय यहाँ बन्छ । त्यसमा हामी पदलकदमी गर्छौं । बुद्धको मावली हो भन्ने कुरालाई पनि हामीले युनेस्कोमा प्रमाणीकरण गर्न पहल गर्छौं । यहाँको नदी कटान र सिँचाइ अर्को ठूलो समस्या छ । पूर्वाधारको हिसाबले दक्षिणी क्षेत्रमा अझ धेरै बाटाघाटाहरू बनाउनुपर्नेछ । अरु स्कुल, स्वास्थ्यचौकीहरू बनाउनुपर्नेछ । उत्तरका देवदह र तिलोत्तमाजस्ता विकसित क्षेत्रहरूलाई भने अझै गुणस्तरीय शिक्षा, स्वास्थ्य र उत्पादनका क्षेत्रमा पहल गर्नुपर्नेछ । यसरी यो क्षेत्रमा हामीले समग्र विकासका लागि काम गर्नुपर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९ २०:१९