उपत्यकाका तीन वटा कारागारमध्ये ललितपुरको नख्खु कारागारभित्रका कैदीबन्दी असुरक्षित हुँदै गएका छन् । शुक्रबार कारागारमा दुईजना कैदीबन्दीबीच जुम्राको विषयलाई लिएर कुटाकुट हुँदा एक जनाको मृत्यु भएपछि कैदीबन्दीमा त्रास सिर्जना भएको हो ।
कर्तव्य ज्यान मुद्दामा जेल जीवन भुक्तान गरिरहेका पवनकुमार महतोले भुइँमा बिच्छ्याइएको ब्लकले जबर्जस्ती करणी मुद्दामा जेल जीवन भुक्तान गरिरहेका पूर्णबहादुर राजीलाई प्रहार गर्दा राजीको मृत्यु भएको हो । यसअघि पनि नख्खु कारागारभित्र कैदीले नै अन्य दुई जना कैदीको हत्या गरेका थिए ।
गत २१ वैशाखमा बर्दियाका भक्तबहादुर सुनुवारको जेलभित्रै हत्या भएको थियो । कैदी अभिषेक सिंहले सुनुवारको हत्या गरेका थिए । सिरियल किलर सिंहको योजनामा अर्का कैदी मनोज चौरसियासमेतले विषादीयुक्त क्यामिकल खुवाएर उनको हत्या गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको थियो ।
सुनुवार जबर्जस्ती करणी मुद्दाका कैदी थिए भने सिंह चार वटा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्ति हुन् । सिंहलाई हाल सुन्धारा कारागारको ‘गोल’ घरभित्र राखिएको छ ।
त्यस्तै, केही वर्षअघि लागूऔषध कारोबारमा पक्राउ परेका तीन जापानी नागरिकमध्ये एक जनाको उनकै साथीले हत्या गरेका थिए । नख्खु कारागारमा कैदीबन्दीले नै हत्या गरेका पूर्णबहादुर राजी तेस्रो व्यक्ति हुन् ।
कारागाराभित्रै सुरक्षामा चुनौती
भिआईपीको रोजाइमा डिल्लीबजार कारागार कैदीबन्दीको जेलभित्र हत्या हुनुलाई सुरक्षा चुनौती बढेको सुरक्षा विज्ञको भनाइ छ । राज्यको नियन्त्रणमा रहेका तथा सुरक्षा घेराभित्र राखिएका मान्छे मारिनुलाई राज्यको कमजोरी मान्नुपर्ने पूर्वप्रहरी नायब महानिरीक्षक ९डीआईजी० हेमन्त मल्लको भनाइ छ ।
‘एकातिर कारागारको क्षमताभन्दा बढी कैदी राख्ने र अर्कातिर उनीहरूको व्यवहार कस्तो छ ? अन्य कैदीलाई खतरा हुन्छ कि हुँदैन भन्ने सामान्य जानकारी नराख्नु कारागारको कमजोरी हो,’ मल्लले भने ।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार देशभरका ७२ जिल्लामा रहेका ७४ वटा कारागारमा हाल २३ हजार ३ सय कैदी छन् । यो संख्या
कारागारको क्षमताभन्दा बढी रहेको कारागार व्यवस्थापन विभागका सूचना निर्देशक बासुदेव घिमिरेले स्वीकार गरे । तर, कैदीबन्दीको संख्याकै आधारमा सुरक्षा खतरा बढेको भन्न नमिल्ने उनको तर्क छ ।
देशभरका कारागारमा कैदी राख्ने क्षमता १५ हजारदेखि १६ हजारको हाराहारीमा रहेको घिमिरेले बताए ।
‘संख्याको कारणले कारागार असुरक्षित भएको होइन, हामीले कारागारलाई केही आधुनिकीकरण गर्नु आवश्यक छ,’ घिमिरेले थपे, ‘नख्खु घटनाका मृतक र हत्यारा दुवैमा मानसिक समस्या थियो त्यसैले यसलाई सुरक्षा चुनौतीसँग जोड्न मिल्दैन ।’
भिआईपीको रोजाइमा डिल्लीबजार कारागार
उपत्यकामा डिल्लीबजार कारागार बढी सुरक्षित मानिन्छ । अधिकांश भीआईपी कैदीको रोजाइमा पर्ने डिल्लीबजार कारागार सुरक्षाका दृष्टिले मजबुत मानिने कारागार व्यवस्थापनले जनाएको छ ।
हाल डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) रमेश चन्द ठकुरी, सशस्त्र प्रहरी बलका डीआईजी रञ्जन कोइराला र कैलालीबाट संघीय संसदमा विजयी भएका रेशमलाल चौधरी छन् ।
यसअघि दुई प्रहरी प्रमुख र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई पनि डिल्लीबजार कारागारमै राखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६ ०१:४२