राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर डा.विश्वनाथ पौडेल राजनीतिमा होमिएका छन् । उनी कांग्रेसबाट चितवन- १ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । पौडेलको उम्मेदवारीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसनेता राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिए पनि ३१ असाेजमा उनले उम्मेदवारी फिर्ता गरेका छन् । त्यसैले साेही क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ४ मंसिरकाे चुनावमा पाैडेलका मुख्य प्रतिस्पर्धी हुन् । यस्ताेमा चुनाव जित्न उनलाई कति सहज छ ? आगामी निर्वाचन, टिकट वितरण र चुनावी प्रतिबद्धताबारे शिलापत्रकर्मी भागवत भट्टराईले कांग्रेस उम्मेदवार पाैडेलसँग संवाद गरेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि तपाईं सरप्राइज दिनेगरी पहिले याेजना आयाेगमा उपाध्यक्ष बन्नुभयाे, अहिले उसैगरी चुनावकाे टिकट लिनुभयाे भनिन्छ । निरन्तर यस्तो अवसरकाे माैका कसरी जुर्यो ?
योजना आयोगको उपाध्यक्ष थिएँ, अहिले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएँ । योजना आयोगका हकमा म लविङ गरेर हिँडेको होइन । प्रधानमन्त्रीले नै बोलाएर दिनुभयो । उहाँले सायद केही देखेर नै भूमिका दिनुभयो होला । म स्मरण गर्न चाहान्छु, त्यतिबेला कोभिडको समय थियो । प्रधानमन्त्रीसँग केही समयदेखि भेट भएको थिएन । पार्टीका अरु नेताहरूले मेरो नाम सिफारिस गर्नुभएको रहेछ । सदस्यकै रूपमा पनि कुरा नआएकाे होइन । तर, प्रधानमन्त्रीले मलाई उपाध्यक्षकै भूमिका दिन उचित मान्नुभयो होला । किन दिनुभएको थियो, कामको परिणामले देखाऊला ।
अब टिकट सिफारिस र मैले टिकट लिएका कुरा जोडौँ । पश्चिम चितवन र पूर्वी चितवनमा धेरै फरक भेटाउन सकिन्छ । पश्चिम चितवनका जनप्रतिनिधिले गरेको कामको तुलनामा पूर्वी चितवनको काम निकै कम छ । हाम्रो क्षेत्र पछाडि परेकाे महसुस त्यहाँका बासिन्दाले गर्नुभएको छ, मैले पनि गरेको छु । कतिपय ठाउँमा त बिजुली नै पुगेकाे छैन । मुलुकभर ९० प्रतिशत स्थानमा बिजुलीको ग्रिड लाइन पुगेको अवस्थामा त्यहाँका कतिपय ठाउँमा बिजुली नै नपुगेको सम्म पाइयो । पूर्वी चितवनले पर्यटनकाे सम्भावना बोक्छ । तर, गर्नुपर्ने काम नगरिएका कारण पछाडि परेको थियो । साैराहलगायतका चर्चित पर्यटकीय सम्भावना बोकेका स्थान छन् । तर, लगानी भित्रिन सकेको छैन ।
पूर्वी चितवन अभिभावक नभएको जस्तो देखिन्थ्यो । सांसद जनताको आवाज सरकारसम्म पुर्याउने र निकास खोज्ने भूमिकामा हुन्छ । यो हिसाबले लामो समयदेखि पूर्वी चितवनमा एउटै व्यक्तिले नेतृत्व गर्छ । त्यो नेतृत्वको अकर्मण्यता अन्त्य गर्नुपर्छ भन्ने भयो । त्यो अवस्थामा स्थानीय निर्वाचन भयो, स्थानीय निर्वाचनपछि निर्वाचित साथीहरूले तपाईंले चाहना गर्नुभयो भने हामी जिताउँछौँ भन्नुभयो ।
म आफू प्राज्ञिक पृष्ठभूमिबाट आएको मान्छे हो । तर, मैले साथीभाइसँग सबैभन्दा बढी छलफल गर्न केन्द्रित भएँ । जिल्लाका विभिन्न जातजाति र समूहका प्रतिनिधिसँग कुरा गर्दा मलाई चितवनमा सही विकल्प दिन सक्ने व्यक्ति कोही छ भने म नै रहेछु भन्ने महसुस भयो । त्यही आधारमा उम्मेदवारी दिने विचार गरेँ । तर, जो लोकप्रिय छ, उसले नै पाउनुपर्छ भन्ने कुरामा म दुविधामा थिइनँ । मैले पार्टीका साथीहरू जसको मताधिकार थियो, बरु निर्वाचन क्षेत्रभित्रै मतदान गरेर सबैभन्दा बढी मत लिने व्यक्तिको एकल नाम सिफारिस गर्नू भनेको थिएँ । र, मेरो प्रतिबद्धता पहिलो हुनेलाई समर्थन गर्ने थियो । तर, त्यसो भएन । निवेदन दिने सबैको नाम आयो ।
अब मैले नै किन पाएँ भन्ने कुरामा मेरो लविङले होइन, कामले हुन सक्यो । अर्को कुरा, योजना आयोगको उपाध्यक्षलाई मन्त्रीसरहको सेवा सुविधा हुन्छ । विगतमा पनि योजना आयोगका कुनै पनि बहालवाला उपाध्यक्षले टिकट चाहँदा सबैले पाएका छन् । डा. रामशरण महत, डा. नारायण खड्का, डा. गोविन्द पोखरेल सबैले यही भूमिकापछि टिकट पाउनुभएको थियो । बहालवाला उपाध्यक्षको नाम सिफारिस भयो, त्यस आधारमा पनि मैले टिकट पाउनु स्वाभाविक नै हो ।
अर्थशास्त्रीको हिसाबले तपाईंको नाम परिचित होला, राजनीतिमा त्यति परिचित छैन । लामो समयदेखि त्यो भूगाेलकाे राजनीति गरेको व्यक्तिले टिकट नपाएका कारण असन्तुष्टि बढेको देखिन्छ । यसको प्रभावलाई कसरी राेक्नुहुन्छ ?
कांग्रेसका धेरै साथीहरूले युवा, पढेलेखेको, अनुभवी, स्थानीय तहमा भिजेको, समस्या पहिचान गरेकोलगायत विशेषता बोकेको उम्मेदवार खोज्नुभएको हो । त्यो एक अर्थमा म नै थिएँ । कांग्रेसमा सबैभन्दा लामाे समयदेखि लागेकाले टिकट पाउने हो भने अर्को नेताले पाउनुहुन्थ्यो होला । कांग्रेसभित्रका धनी मान्छेलाई मात्रै टिकट दिने भनिएको भए पनि अर्कै मान्छेले पाउनुहुन्थ्यो होला । तर, कार्यकर्ता र आमजनताबाट नयाँ, पढेलेखेको, स्थानीय विकासमा ध्यान दिएको, जनतामा भिजेको, सबै समुदायको मर्म बुझ्ने, छलफल गर्न सक्ने, स्रोतहरू समान रूपमा वितरण गर्ने खुबी भएको मान्छे आओस् नै भन्ने थियो ।
यथार्थमा केही असन्तुष्टि छ भन्ने कुरा लुकाउन आवश्यक थिएन, कांग्रेसको नेताले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर, अहिले मलाई समर्थन गरेर उहाँले उम्मेद्वारी निष्क्रिय पार्नु भएको छ । अब हामी एउटै उद्देश्यको लागि सँगै छौँ ।
त्यो भूमिबाट असन्तुष्टिलाई धेरै नयाँ मान्न सकिँदैन । कांग्रेसको क्षेत्र नम्बर १ मा टिकट लिएर गएपछि केही समय असन्तुष्टि हुने गरेको इतिहास छ । व्यक्ति जोसुकै होस् । तर पछि कांग्रेस एक हुन्छ, कांग्रेसीहरू आफ्नो उम्मेदवारलाई जिताउन लाग्ने गरेको इतिहासले नै देखाउँछ ।
सबै कार्यकर्ताले त्यो बुझेका छन् । एकातर्फ इतिहासलाई सम्मान गरेका छन् । अर्कोतर्फ सबै विश्लेषण गरेर आधिकारिक उम्मेदवारलाई जिताउँछन् । अहिले देखिएका केही असन्तुष्टि छिट्टै मत्थर हुन्छन् र हामी सबै एक भएर कांग्रेसलाई जिताउँछौँ ।
तपाईं तथ्यांकमा खेल्ने मान्छे, अहिले गरिएको गठबन्धनको नतिजा कस्तो आऊला ?
गठबन्धन र कांग्रेस दुवैको नतिजा एकदम राम्रो आउँछ । गठबन्धनले स्पष्ट बहुमत ल्याउनेमा कुनै दुविधा छैन । कांग्रेसका पनि अधिकांश उम्मेदवारले जित्ने स्थिति छ । केही ठाउँमा प्रतिस्पर्धी वातावरण होला, कहीँ सजिलै जितिएला । गठबन्धनको मर्मका विषयमा बल्ल स्पष्ट हुँदै गएको छ । मेरै क्षेत्रमा पनि गठबन्धन पदका लागि मात्रै होइन भन्ने बुझेको मैले पाएँ । गठबन्धनलाई जिताउनु भनेको संविधानलाई रक्षा गर्नु हो, विकासलाई प्रभावकारी र बलियो बनाउनु हो भन्ने जनताले बुझेको मैले पाएँ । गठबन्धनलाई नजिताउँदा मुलुक अस्थिरतामा जान्छ भन्ने बुझेँ । नबनाउँदा-नबुझ्दा फेरि अस्थिरता हुन्छ ।
अब गठबन्धनलाई भोट दिनु भनेको संविधानको रक्षा गर्नु, मुलुकमा स्थिरता ल्याउनु र विकास गर्नु हो भन्ने जनताले बुझेका छन् । यस कारणले गठबन्धनले जित्छ । अहिले जसरी गठबन्धन भएको छ, ती पार्टीबीचको मूल सिद्धान्त मिल्दैन ।
परिणामको कुरा गर्ने हो भने कांग्रेस नेताहरू नै अहिले गठबन्धन गर्दा पाएको टिकट र त्यसको जित परिणामबराबर एकल लड्दा पनि जितिन्छ भनेर विश्लेषण गरिएको छ । अनि, गठबन्धन किन गर्नुपर्यो त ?
गठबन्धनको साझा बुझाइ छ, त्यही बुझाइमा हिँडेका छौँ । साझा उद्देश्यले भ्याएसम्म निर्वाचनमा मिलेर जाऊँ भनेर अघि बढियो र स्थानीय चुनावमा सुरु गरियो । योभन्दा अघि पनि सुरु भएको थियो तर त्यो बेला काम गरेन भन्ने भयो । पछि एमालेसँग मिल्यो, माओवादी । चुनाव त जित्यो तर शासन शैलीमा कुरा मिलेन । गएको डेढ वर्षमा नेपाली कांग्रेस र माओवादीको सिद्धान्त फरक भए पनि जहाँ-जहाँ कुरा मिल्यो, स्थानीय चुनावमा पहिलेको भन्दा धेरै नै राम्रो देखियो ।
त्यसले गर्दा यो गठबन्धन प्रभावकारी हुँदै गएको छ र एकअर्काप्रति आपसी समझदारी देखिएको छ । कांग्रेस र माओवादीबीचको विश्वास बढ्दै जानु राम्रो हो । किनभने यी द्वन्द्वमा एकअर्कालाई फेस गरेर आएका शक्ति हुन् । यो शक्ति मिलेर जान सक्यो भने मुलुकमा शान्ति हुन्छ भन्ने सन्देश पनि जान्छ । सरकार पनि मिलेर बनाउन सकिन्छ । दीर्घकालीन स्थिरतामा जान सकिन्छ ।
गठबन्धनभित्रका पार्टीले साझा उम्मेदवार त टुङ्ग्याएकै छन् तर बढी समस्या पार्टीहरूभित्रै देखियो । गठबन्धनभित्रको असन्तुष्टिले प्रतिस्पर्धी एमालेलाई थप लाभ हुने अवस्था कत्तिकाे छ ?
एमाले, राप्रपा, जसपाबीच पनि तालमेल छ । यता हाम्रोबीचमा पनि छ । उनीहरूबीचको असमझदारीले यो गठबन्धन र यो गठबन्धनबीचको असमझदारीले अर्को गठबन्धनले केही न केही लाभ त लिन्छ नै । तर, व्यवस्थापन गर्न सकिने देखिन्छ ।
टिकट वितरणमा त कांग्रेसमा देशैभर उम्मेदवार हुँदा पनि असन्तुष्टि हुने गरेको त इतिहास नै छ । त्यसका बाबजुद चुनावमा ती असन्तुष्टिलाई मत्थर गरेर वा थाँती राखेर साझा चुनाव चिह्न रुखमा नै भोट हाल्ने र आफ्ना उम्मेदवार जिताउने गरेको इतिहास छ । गठबन्धनको हकमा पनि अघिल्लो चुनावमा भन्दा यो चुनावमा स्पिरिट समाएर भोट हालेको स्थानीय चुनावमा देखिएको छ । त्यही ट्रेन्ड अहिले पनि देखिन्छ ।
हरेकपटक गठबन्धन गर्दा चितवनमा विद्रोह हुने गरेको छ । चितवन संस्थापनइतर समूह बलियो भएको जिल्ला गनिन्छ तर दुवै उम्मेदवार संस्थापन पक्षका हुनुहुन्छ । कांग्रेसमा लामो समयदेखि राजनीति गरेका नेताहरूले स्वतन्त्र उम्मेदवार भएको अवस्थामा समग्र चितवन जिल्लाको परिणाममा फरक पर्ला नि ।
मेरो क्षेत्रमा केही पनि असर पर्दैन । हामीले छलफल गरिरहेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता गरी पनि सक्नुभएकाे छ । छिट्टै साझा समझदारी बनाएर कांग्रेस जिताऊँ अभियानमा उत्रन्छौँ । अन्य ठाउँमा केही आंशिक प्रभाव पर्छ कि भनेर विश्लेषण गरेको देखिन्छ । तर, नतिजा नै प्रभावित पार्ने गरी असर हुन्छजस्तो लाग्दैन । यद्यपि हामी व्यवस्थापन गर्छौं ।
एकातिर पार्टीभित्र असन्तुष्टि छ, अर्कोतर्फबाट लगातार चुनाव जित्दै आएका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे तपाईंको प्रतिस्पर्धी हुनुहुन्छ । जित्न धेरै चुनाैती छ नि, हैन ?
चितवनमा अधिकांश जनता पाण्डेको प्रतिनिधित्वमा असन्तुष्ट छन् । परिवर्तन चाहेका छन् । उताबाट जितेर यता आउने । व्यक्तिगत महत्त्वाकांक्षा मात्रै हेर्ने गरेकाले द्वन्द्वको एउटा कारणको रूपमा देखिन्छ, आजित भएको देखिन्छ । स्वयम् नेकपा एमालेका साथीहरूले उपयुक्त विकल्प खोजेका छन् । कांग्रेस साथीहरू पाण्डेको विकल्प खोज्न आतुर छन् । अहिले उपयुक्त मौका हो । पूर्वी चितवनमा यसरी चल्दैन । आफ्नैभित्र पनि गुटबन्दीलाई प्रश्रय दिएको देखिन्छ । त्यसको प्रभाव त केही महिनाअघि सम्पन्न स्थानीय चुनाव हेरे काफी हुन्छ । जुन रूपमा एमालेका साथीहरूले पराजय ब्यहोर्नुको नैतिक दायित्व त त्यहाँको नेतृत्वलाई जान्छ । त्यो सुरेन्द्र पाण्डे हो । त्यस कारणले मेरो विजय सु्निश्चित देख्छु ।
प्रश्न उठाउने ठाउँ त तपाईंलाई पनि छ नि, चितवनको विकासका लागि सांसदले भन्दा बढी भूमिका योजना आयोगको उपाध्यक्षले नै निभाउन सक्ला । फेरि भोलि कांग्रेस वा गठबन्धनको नेतृत्वमा सरकार बन्ने आकलन गर्नुभएको छ । सांसदभन्दा उपयुक्त तपाईंले उपाध्यक्षमै दोहोरिँदा हुँदैनथ्याे र ?
योजना आयोगको उपाध्यक्ष म बनिसकेँ । पटक-पटक एउटै व्यक्ति बन्न खोज्दा साथीहरूमा सन्तुष्टि पनि हुँदैन । बन्न सक्ने सम्भावना भए पनि म आफैँलाई बन्नुपर्छ भन्ने लागेन । अरु साथीहरू पनि योग्य हुनुहुन्छ । सांसद बनेर अनुभव लिनु पनि उचित हो भन्ने लाग्यो । आफ्नो क्षेत्रमा जाँदा पनि पछाडि परेको देखेको छु । उपयुक्त परिवर्तन चाहिएको छ । म आफैँलाई पनि कामहरू बनाउन सहयोग गर्ने, आफ्ना जनताका समस्या लिएर सरकारलाई सुनाउने र याेजनाका लागि योजना आयोगमै गएर झगडा गर्ने नयाँ अनुभव हुनेछ ।
योजना आयोगको बसाइले सांसदको भूमिका राम्रोसँग निभाउन सक्छु भन्ने लाग्यो । चाहे त्यो बजेटका केस्रा-केस्रा केलाएर घोषणा गर्ने कुरा होस् वा समान विकास माग गर्ने कुरामा, सांसदको रूपमा मैले निर्वाह गर्ने भूमिका राम्रो हुनेछ ।
बार-बार पूर्वी चितवन विकासका दृष्टिले पछि परेको भन्नुभएको छ । १४ महिना योजना आयोगको उपाध्यक्ष हुँदा आफ्नो क्षेत्रका लागि के गर्नुभयो त ?
हुन त मैले देशभर हेरेँ । तर, यहाँको मुख्य समस्या सम्बोधन गर्ने कार्यमा म लागेँ नै । तटबन्ध समस्या यहाँ मुख्य हो । गिरिजाबाबुको पहिलो सरकारको पालामा राप्तिको तटबन्ध गरेपछि पूर्वी चितवनमा जीवनस्तरमा केही सहजता आएको थियो । यहाँ धेरै खोला छन्, तिनले जनतालाई धेरै दुःख दिएका छन् । त्यसैले तटबन्ध कार्यक्रम अघि बढाइयो ।
शिक्षा सुधारका लागि धेरै काम गरियो । बिजुली नपुगेका क्षेत्रहरू तामाङ, चेपाङको बस्तीमा बिजुली लैजाने कोसिस गरियो, काम भयो । सडक पूर्वधार पश्चिम चितवन र पूर्वी चितवनमा आकाशपातलको फरक थियो । त्यसमा महत्त्वपूर्ण सडक पूर्वाधार लैजान कोसिस गरेँ । स्वास्थ्यको विषयमा जनताको आवाज सरकारसमक्ष पुर्याएँ । यही कामको निरन्तरता दिन खोजेको हुँ ।
तपाईंले निर्वाचन जित्दा तत्कालै मन्त्री पनि हो भन्ने गरेको सुनिन्छ, त्यहाँसम्मको योजना अघि बढाउनुभएको छ ?
मन्त्री बन्ने कुरा कसैको अधिकारको कुरा होइन । यो प्रधानमन्त्रीले बनाउने टिम हो । गठबन्धनमा कसरी कुरा हुन्छ । अहिलेको चुनाव सांसदकाे हो । न्यूनतम भनेको सांसद बन्ने हो । त्यसपछि भूमिका फरक पनि होला । संसद सरकार जन्माउने थलो हो । म प्रधानमन्त्री हुँदिनँ भन्ने कुरा कन्फर्म हो । त्यसबाहेक प्रधानमन्त्री को बन्छ, उसले कस्तो टिम बनाउँछ । त्यसमा भर पर्छ ।
तपाईंमाथि दुईवटा कुरा उठिरहेका छन् । पहिलो तपाईं कम्युनिस्ट राजनीतिबाट आएर कांग्रेसमा छिट्टै स्थापित हुनुभयो भन्ने आरोप लगाउँछन् नि ?
आरोप किन र के उद्देश्यको लाग्याे भन्ने होला । रामचन्द्र पौडेल पनि कम्युनिस्ट ब्याकग्राउन्डबाट आउनुभएको थियो । म हाईस्कुल पढ्दा सक्रिय राजनीति गरेको होइन । केही आस्था भने थियो । मैले खुलमखुला नै भन्ने गरेको थिएँ । यो धेरै पुरानो कुरा हो । मैले २०४७ सालमा १ रुपैयाँमा नेविसंघको सदस्यता लिएको थियो । मेरो सक्रियता सदस्यता कम्तीमा ३० वर्षअघिदेखिको हो ।
अहिले नजानेर होइन, जानीजानी गरिएको प्रोपोगान्डा हो याे । के सत्य हो भने, कांग्रेसभित्रको राजनीतिमा गुटको राजनीति गरिनँ । दुवै पक्षमा समान व्यवहार र काम गरेँ । आन्तरिक प्रतिस्पर्धामा गएर फाइट गर्ने गरेको होइन । यथार्थमा म परम्परागत राजनीतिबाट आएको मान्छे होइन ।
कांग्रेसमा आबद्धहरू फरकफरक पृष्ठभूमिबाट आउँछन् । एउटा पार्टी देशजस्तै हुन्छ नि । त्यसले गर्दा ठूलो पार्टीबाट विभिन्न पृष्ठभूमिका मान्छे चाहिन्छ । मूल प्रतिनिधित्व गर्ने पार्टीमा फरकफरक पृष्ठभूमिबाट आएका पात्र चाहिन्छ । मेरो पनि त्यस्तै हाे ।
तपाईं लविङमा माहिर हुनुहुन्छ र प्रधानमन्त्री तथा पार्टी सभापति दम्पतीसँग निकटताकाे लाभ उठाउनुभयो भन्ने गरिन्छ । त्यस्तै हाे ?
प्रधानमन्त्री योजना आयोगको अध्यक्ष हुनुहुन्छ । यस हिसाबले उहाँ मेरो हाकिम हो । हाकिमसँग नियमित सम्पर्क, छलफल त हुने नै भयो । कार्यालय एकै ठाउँमा भएपछि परिवारसँग भेट हुनु पनि स्वाभाविक मानिएला ।
गएको १४ महिनामा सुरुवातमा केही दिन शिष्टाचार भेटघाटबाहेक म कुनै नेताहरूसँग लविङका लागि बस्ने, छलफल गर्ने डिनर खाने काम गरेको छैन । मेरो आफ्नै रुटिङ थियो । बिहान छोरी स्कुल पुर्याउने, अफिस जाने, दिउँसो अफिसमा नै खाना खाने, काम गर्ने, काममा आवश्यक पर्दा अध्यक्षसँग समन्वय गर्ने र काम गर्ने बेलुका घरमा फर्कने ।
काठमाडौंको बसाइमा कहीँ पनि बाहिर बसेर डिनर खाएको, लविङ गरेको रेकर्ड छैन । पदीय लोयालिटी देखाउने र प्रमुखलाई गर्ने सम्मान र देशको सोझो गर्ने काम गरेको हो । प्रधानमन्त्रीले मेरो कामको मूल्याङकन गर्ने हो । त्यो भूमिकामा मेरो हाकिम पनि हो उहाँ । मेरो काम अहिलेसम्म भएका कुनै पनि योजना आयोगका उपाध्यक्षले गरेकोभन्दा कम थिएन । म यसपटक तीनवटा अन्तर्राष्ट्रिय संस्थाको पदेन संयोजक भएको थिएँ । त्यो अवसर यसअघिका उपाध्यक्षले पाएका थिएजस्तो लाग्दैन । यसपालिका बजेट विपन्नमैत्री बजेट, कृषिमैत्री, अनुत्पादक क्षेत्रको खर्च कटौती, साधारण जनताको प्रतिनिधित्व हुने गरी बजेट बनाइएको थियो ।
यो अत्यन्तै अप्ठेरो बेला थियो । अरु देशको अर्थतन्त्र बिग्रिएको बेला हामीले त्यो रोक्न धेरै बल गर्यौँ । कहीँ कतै विवादमा नआईकन इमानदारीका साथ काम गरेँ । त्यो गर्दा पनि कसैको मान्छे भन्छ भने त्यो गलत हो । शेरबहादुरको ठाउँमा अर्को मान्छे भए पनि गरिने सम्मानसमान हो । यसै कारण कसैको मान्छे भनिन्छ र भइन्छ, लविङ गरेर लाभ लियो भनिन्छ भने यसको उत्तर रहँदैन ।
योजना आयोगको निवर्तनमा उपाध्यक्षका रूपमा अबको ५ वर्षमा मुलुकको भविष्य कस्तो देख्नुहुन्छ ?
म त निकै राम्रो देख्छु । केही कामहरू सुरु भएका छन् । यी परियोजना बन्दा मुलुकको मुहारमा फरकपन आउँछ नै । निजगढ–काठमाडौं द्रुतमार्ग बन्नेछ । यातायात सञ्जाल विस्तार हुनुका साथै गुणस्तरीय सडक पहुँच पनि बढ्छ । यसको प्रभाव धेरै ठाउँमा देखिन्छ ।
अर्को विषय भनेको भारतसँग बिजुली बेच्ने स्थिति स्थापित गरिएको छ । यसले ऊर्जामा ठूलो लगानी आउनेछ । यसले पनि ठूलो सुधार ल्याउनेछ । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा पनि धेरै काम अघि बढाइएको छ । यसको परिणाम अब ५ वर्षभित्रमा देखिनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ ०९:००