प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको डाेटीमा अहिले सत्ता गठबन्धनबाट टिकट पाएका नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले चुनावी प्रचार प्रसारमा व्यस्त छन् । नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र आलेबीच कसले प्रतिनिधिसभाको लागि टिकट पाउने भन्नेमा गठबन्धनमा लामो रस्साकस्सी नै भएको थियो ।
तर, अन्ततः नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीबाट आलेलाई टिकट दिए । उसो त डोटी कांग्रेसमा आलेलाई टिकट दिनुहुन्न भन्ने पक्ष बलियो हुँदाहुँदै पनि देउवाका कारण आलेले टिकट पाएको केही कांग्रेस नेताहरूकाे दाबी छ । आफ्नो मन्त्रिपरिषद्को सदस्यका रूपमा आलेले सन्तोषजनक काम गरेको बुझाइ देउवाकाे छ ।
त्यसको उदाहरण गत जेठमा एकीकृत समाजवादीले मन्त्री फिर्ता बाेलाउन गरेको निर्णय प्रधानमन्त्री देउवाले अस्वीकार गर्नु हो । २२ जेठमा एकीकृत समाजवादी पार्टीले आफ्नाे पार्टीका चार जना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे थियाे ।
पार्टीले एक हप्ताको समयसीमा नै दिएर चारै मन्त्रीहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादी पार्टीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।
एकीकृत समाजवादीले गरेको निर्णयलाई प्रधानमन्त्री देउवाले लामो समय रोके । पछि समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार नै पुग्नुपरेको थियो ।नेपालसँगको भेटमा प्रधानमन्त्री देउवाले आले र झाँक्रीलाई फिर्ता बोलाउने निर्णय सच्याउन आग्रह गरेका थिए ।
यद्पि देउवाको अडान भने सफल हुन सकेन । समाजवादीबाट हाल सरकारमा नयाँ मन्त्रीहरू छन् । मन्त्री हुँदादेखि नै आलेप्रति नरम देखिएका देउवाकै आशीर्वादका कारण आलेलाई यसपटक डोटीबाट जित्न सहज हुने अनुमान समाजवादीको छ ।
२०७४ को चुनावमा कांग्रेसका बलायरलाई पराजित गर्दै आले विजयी भएका थिए । ०७४ मा आलेले माओवादीको साथ पाउँदा बलायर पराजित हुन पुगेका थिए । यो पटक आलेलाई पुरै कांग्रेसको भर पर्नुपरेको छ । स्थानीय तहको चुनावकाे मतभार हेर्दा डोटीमा एमाले र माओवादी केन्द्रले एक–एक गाउँपालिका जित्दा एकीकृत समाजवादी शून्य छ ।
७० सालको चुनावमा समेत आले प्रतिनिधिसभामा निर्वाचीत भएका थिए । यसपलि समेत आले विजयी भए डोटीबाट उनको जितको ह्याट्रिक हुने छ । उता कांग्रेसले दुई नगरपालिका र सात गाउँपालिकामध्ये दुवै नगरपालिका र पाँचवटा गाउँपालिकामा विजयी गरेको छ । देशभरकै जिल्लाहरूमध्ये सबैभन्दा धेरै कांग्रेसले पालिका जितेको जिल्ला नै डोटी हो । त्यसकारण बलायरले आफ्नो दाबी डोटी नै हुने बताउँदै आएका थिए । तर उनलाई पार्टले कैलाली ४ मा उम्मेदवार बनाएकाे छ ।
डोटीमा आलेले टिकट पाएपछि कांग्रेसबाट विद्रोह गर्दै नरेन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् । खड्काबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंकबहादुर खड्का, एमालेबाट गौरीकुमारी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर र राजप्रसाद जोशी स्वतन्त्र उम्मेदवार बनेका छन् ।
विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका खड्काले कांग्रेसको भोट काट्ने अनुमान गरिएको छ । तर खड्काले धेरै भाेट नकाट्ने अपेक्षा समाजवादी पार्टीको छ । कांग्रेसका स्थानीय नेता एवम् शिखर नगरपालिका प्रमुख दीर्घबहादुर बलायरले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका आलेको प्रभाव जिल्लामा अरूकाे तुलनामा धेरै रहेको बताए ।
‘डोटीमा कांग्रेसको राम्रो हो तर, कांग्रेसकै नेतृत्वमा गठबन्धन बनेका कारण कांग्रेसको मत आलेलाई नै जान्छ । कांग्रेस छोडेर स्वतन्त्र बनेका उम्मेदवारको प्रभाव जिल्लामा छैन,’ बलायरले भने । समाजवादीका नेताहरूले एमालेको अधिकांश मतसमेत आलेको पक्षमा खस्ने दाबी गरेकाे छन् । एमाले उम्मेदवार गौरीकुमारी ओलीसँग आलेको जस्तो केन्द्रीय राजनीतिमा पहुँच नभएको र जिल्लामासमेत उनको पक्षमा जनमत नभएको समाजवादीको दाबी छ ।
सत्ता गठबन्धनबाट प्रदेशतर्फ भने ‘ख’बाट माओवादी केन्द्रका शिवसिंह ओली र ‘क’तर्फ कांग्रेसका नरेन्द्रबहादुर सिंह उम्मेदवार छन् । एमालेबाट क मा चक्रबहादुर मल्ल र ख मा टेकबहादुर बम उम्मेदवार छन् ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १३:०४