यसपटक झापा क्षेत्र नम्बर २ काे चुनावी भिडन्त राेचक हुने देखिएकाे छ, जहाँ चुनावी मैदानमा छन् एमालेका दुई पूर्वसहकर्मी । एमालेका प्रदेश–१ इन्चार्ज देवराज घिमिरेलाई उनका पूर्वसहकर्मी अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हरिकुमार रानाले माओवादी केन्द्रबाट चुनाैती दिँदैछन् ।
राना दुई साताअघि मात्र एमाले परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई सत्तारूढ गठबन्धन दलहरू कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । एमाले उम्मेदवार घिमिरे पनि एक्लै छैनन् । उनलाई राप्रपा र जसपाको समर्थन छ ।
घिमिरे र राना ४० वर्षदेखि एमालेकाे राजनीति गर्दै आएका थिए । तर, टिकट नपाउने स्थिति आएपछि रानाले एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरे । उनीहरूबीच व्यक्तिगत रूपमा पनि राम्रै सम्बन्ध थियाे । तर, समयक्रममा उनीहरू एकर्काका प्रतिस्पर्धी भएर निस्के । लामाे समय सँगसँगै एउटै माेर्चामा काम गरेका दुई नेताकाे ससंदीय भिडन्त राेचक हुने अनुमान छ ।
संसदीय चुनावमा पहिलाेपल्ट उठे पनि रानाकाे चुनावी अनुभव भने लामाे छ । उनी दुई पटक साविक शनिश्चरे गाविसका अध्यक्ष भइसकेका नेता हुन् । २०७४ मा राना अर्जुनधारा नगरपालिकाकाे मेयर निर्वाचित भए । घिमिरेका लागि पनि संसदीय चुनाव पहिलाे हाे । एमालेमा लामो राजनीति गरे पनि उनी पहिलो पटक सांसदका लागि मैदान उत्रेका हुन् ।
अघिल्ला चुनावमा झापामा एमाले जिताउन राम्रो रणनीति बनाउन सक्ने नेताका रूपमा चिनिन्थे राना । यसपटक आफैँ मैदानमा उत्रिएर एमालेलाइ चुनाैती दिइरहेका छन् । घिमिरे कुशल संगठक मानिन्छन् । पाका राजनीतिज्ञ भएकाले अन्तरपार्टी कलह मिलाउन उनकाे भूमिका खाेजिने गरेकाे छ ।
चुनावी प्रतिस्पर्धालाइ दुई पार्टीले आ–आफ्नै ढंगले विश्लेषण गरेका छन् । एमालेले रानाकाे उम्मेदवारीलाई माओवादी नेतृ धर्मशीला चापागाईंकाे अघिल्ला उम्मेदवारीकै रूपमा लिएकाे जनाएकाे छ । धर्मशीलाको ठाउँमा राना आउँदा आफूले ठूलो चुनौती नठानेकाे एमाले उम्मेदवार घिमिरे बताउँछन् ।
एमाले पृष्ठभूमिकाे फाइदा उठाएर निर्वाचन जित्ने रानाकाे रणनीतिलाई असफल पार्ने उनले बताए । ‘एमालेका लागि धर्मशीला चापागाईं र हरिजी उस्तै-उस्तै हो । हरिजीको उम्मेदवारीले मलाई चुनाव जित्न झन् सजिलाे भएकाे छ', घिमिरेले भने ।
राप्रपाकाे मत पाउँदा सजिलै चुनाव जित्नसक्ने विश्लेषण एमालेकाे छ । तर, झापा–२ मा निर्वाचन जित्न उनलाई त्यति सहज भने छैन । एमालेभित्रै टिकट नपाएका बिर्तामोडका निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी, बहालवाला सांसद पवित्रा निरौला खरेल, एमालेका पूर्वसचिव नरेश खरेल र प्रेम गिरीकाे असन्तुष्टिले उनकाे जितलाई बाधा पुर्याउन सक्छ ।
झापा–२ मा अर्जुनधारा नगरपालिका र विर्तामोड नगरपालिका पर्छन् । यी दुवै नगरपालिकामा एमालेले मेयर–उपमेयरसहित १६ वटा वडा जितेको छ । स्थानीय निर्वाचनमा एमाले ३३ हजार ३ सय ७२, कांग्रेसले ३२ हजार ६ सय ७२, राप्रपाले ९ हजार ५ सय ३१, माओवादी २ हजार ४ सय ३७ र जसपाले ५ सय ३ र एस १ सय ७३ मत पाएको छ ।
स्थानीय मतका आधारमा सत्तारुढ गठबन्धनभन्दा एमाले बलियो देखिन्छ । तर, राना भर्खरै एमाले परित्याग गरेर सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कारण उनले एमालेको केही भोट काट्न सक्ने अपेक्षा सत्तारुढ गठबन्धनकाे छ ।
एमालेको मात्र होइन, रानालाई राप्रपाको पनि लाेकप्रिय भोट खस्ने गठबन्धनले दाबी गर्दै आएकाे छ । राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय राना स्थानीय तहमा सहयोगी र सरल नेताका रूपमा परिचित छन् । झापा २ मा कांग्रेसले निर्वाचनमा अन्तर्घात नगर्ने र सत्ता गठबन्धनकै उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनको क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटी बताउँछन् । झापाका अन्य निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई जिताउन गठबन्धन दलहरूको सहयोग चाहिएकाले झापा २ मा कांग्रेसले रानालाई इमान्दारिताका साथ सघाउने उनले बताए ।
एमालेको स्थानीय कमिटीले रानालाई झापा क्षेत्र नम्बर २ ‘ख’ मा उम्मेदवार बन्न १ नम्बरमा नाम राखेर सिफारिस गरेको थियो । एमालेले अन्तिम समयमा रानाको नाम हटाएपछि सत्तारुढ गठबन्धनको सहयोगमा उनी उम्मेदवार बन्न पुगेका हुन् । राना ४० वर्षदेखि एमालेमा आबद्ध थिए । उनी जिल्ला तहमा सक्रिय थिए । घिमिरे २०५५ देखि पार्टी केन्द्रीय कमिटीमा छन् । उनी अध्यक्ष केपी ओलीनिकट नेता हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९ ०७:४४