झापा निर्वाचन क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ४ मंसिरको चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा मात्र होइन, मंसिरको चुनावमा आफ्नो अस्तित्व जोगाउने लडाईं हुने पनि देखिन्छ ।
राप्रपा नेता लिङ्देनले एमालेको सहयोग पाएपछि झापा ३ को चुनावी भिडन्त अझ रोचक बनेको छ । कांग्रेसका सिटौला पनि सत्ता गठबन्धन उम्मेदवार हुन् । मंसिरको निर्वाचनमा कांग्रेसका सिटौला राप्रपाका लिङ्देनसँग २०७४ काे हारको बदला दिने दाउमा छन् भने, राप्रपाका लिङ्देन यो चुनावमा दोहोरिएर पार्टीकै अस्तित्त्व जोगाउन लागिपरेका छन् । दुवै जना ‘हेभिवेट’ केन्द्रीय नेता हुन् ।
सिटौला– लिङ्देनबीच तेस्रोपटक भिडन्त
सिटौला झापा–३ मा पाँचौ पटक चुनावी मैदानमा छन् भने, राप्रपाका अध्यक्ष लिङ्देन तेस्रोपटक सिटौलासँगै प्रतिस्पर्धामा छन् । सिटौलाले यो निर्वाचन क्षेत्रमा दुईपटक पराजय भोगेका छन् । लिङ्देनले पनि उनै सिटौलासँगै दुईपटक हारेका छन् ।
सिटौलाले २०६४ सालको सविधानसभाको निर्वाचनमा माओवादीका पूर्णसिंह राजवंशी र २०७४ सालकाे आम निर्वाचनमा राप्रपाका लिङ्देनसँग हारे ।
२०५६ को आम चुनावमा सिटौला झापा क्षेत्र नं. १ बाट चुनाव लडे । उनीविरुद्ध राजेन्द्र लिङ्देन उठे पनि पनि हारे । सिटौला विजयी हुँदा लिङ्देन तेस्रो मात्र भए । २०७० को संविधानसभामा लिङ्देन फेरि सिटौलाविरुद्ध झापा ३ मा उम्मेदवार बने । सिटौला १४ हजार ३ सय ५५ मत ल्याउँदै सांसद बन्दा लिङ्देनले दोस्रो मत ल्याएका थिए ।
२०७४ सालको निर्वाचनमा लिङ्देनले वाम गठबन्धनको सहयोगमा सिटौलालाई हराएका थिए । सिटौलालाई हराएसँगै लिङ्देनको चर्चा राष्ट्रिय राजनीतिमा ह्वात्तै बढ्यो । पछिल्लो समय राप्रपाको अध्यक्ष भएपछि त झनै लिङ्देनको दबदबा झापामा बढेको छ । वाम गठबन्धनको समेत समर्थन पाएका लिङ्देन ४४ हजार ६ सय १४ मत पाएर विजयी भएका थिए भने सिटौलाले ३१ हजार १ सय ५९ मत मात्रै पाएका थिए ।
सिटौलाले यो निर्वाचन आफ्नो अन्तिम भएको बताइरहेका छन् भने, लिङ्देनले पनि यो मंसिरको निर्वाचनपछि नयाँ पुस्तालाई सहयोग गर्ने र आफू उम्मेदवार नबन्ने बताउँदै आएका छन् ।
स्थानीय निर्वाचनका आधारमा अवस्था
झापा–३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्छन् ।
झापा–३ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएकाे मत २५ हजार ९ सय ४९, राप्रपाका वडाध्यक्षले २१ हजार १ सय ५१, एमालेका वडाध्यक्षले २१ हजार ८५, माओवादीका वडाध्यक्षका उम्मेदवारले ६ हजार ६ सय ८८ तथा जसपाका उम्मेदवारले ५ सय ३७ मत र लोसपाका उम्मेदवारले २ सय ७ मत पाएका थिए ।
यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर नै देखिन्छ ।
गठबन्धनलाई आधार मान्ने हो भने, गत स्थानीय निर्वाचनमा खसेको मतका आधारमा कांग्रेसका सिटौलाभन्दा राप्रपाका लिङ्देन नै बलियो देखिन्छ । गत स्थानीय निर्वाचनका आधारमा सत्तारुढ गठबन्धनका कांग्रेस र माओवादीको ३२ हजार ६ सय ३७ मत मात्र छ । एमाले–राप्रपाको मत ४२ हजार ७ सय ७३ मत छ । यसअनुसार सिटौलाभन्दा लिङ्देन अगाडि देखिन्छन् ।
एमालेसँग भएको सहमति पालन भए झापा–३ मा राप्रपालाई जित्न समस्या नहुने राप्रपा प्रदेश–१ का अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको दाबी छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसको गठबन्धनभन्दा एमाले–राप्रपा गठबन्धनको मत १० हजारभन्दा बढी भएका कारण झापा–३ राप्रपाको सुरक्षित जित पक्का भएको उनको बुझाइ छ ।
स्थानीय निर्वाचनसँग संघीय चुवानलाई तुलना गर्न नमिल्ने नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबेको तर्क छ । 'स्थानीय निर्वाचनमा व्यक्ति हेरिन्छ तर, संघीय निर्वाचन उम्मेदवारको काम र उसको कार्यक्षमतालाई मतदाताले मुल्याकन गर्ने', उनी बताउँछन् । कांग्रेसका सिटौला हेभिवेट र झापाको इतिहास बोकेका नेता हुन् । उनलाई झापा–३ का जनताले पार्टीभन्दा पनि सिटौलालाई भोट दिनेको उनको दाबी छ ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९ १८:४७