पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आर्थिक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालकाे कागजात नियन्त्रणमा लिएको छ ।
गण्डकी प्रदेशकै ठूलो र सुविधासम्पन्न याे अस्पतालमा लामो समयदेखि खरिद गरिएका स्वास्थ्य उपकरण प्रयोगविहीन बनाइएकाे र खरिद प्रक्रियामा आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले आइतबार कागजात नियन्त्रणमा लिएको हो ।
अस्पतालले केही समयपहिले खरिद गरेको एमआरआई मेसिन खरिदका क्रममा अनियमिता भएको उजुुरीका आधारमा छानबिनका लागि कागजपत्र नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
उनका अनुसार केही दिनअघि अस्पतालको सामाजिक सेवा इकाइ सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरीका आधारमा अख्तियारले कागजपत्र नियन्त्रणमा लिन खोजे पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापा पोखराबाहिर रहेकाले सोसम्बन्धी कागजात नियन्त्रणमा लिन नपाएको बताए ।
‘उपकुलपति (भीसी) बुद्धिबहादुर थापा पोखरा फर्किएपछि आवश्यक कागजात बुझाउने बताएका छन्,’ उनले भने, ‘कागजातबारे अख्तियारले आवश्यक अनुसन्धान छिट्टै थाल्नेछ ।’
प्रतिष्ठानले नियमविपरीत पोखराको सामाजिक सेवा इकाइमा असल छिमेकी सहयोग संघ गोनेसालाई भित्र्याउन खोजेको भन्दै गत हप्ता अख्तियारमा उजुरी परेको थियो । इकाइ सञ्चालनमा निर्देशिकाविपरीत आर्थिक प्रलोभनमा परी नियोजित ढंगले गोनेसालाई ल्याउन खोजिएको भन्दै आयोगमा उजुरी गरिएको थियो।
सामाजिक सेवा इकाइ सञ्चालनका लागि अस्पतालले गत २३ असारमा सार्वजनिक सूचना जारी गरेको थियो । जसमा चारवटा गैरसरकारी संस्थाले निवेदन दिएका थिए । तर, अस्पतालमै कार्यरत कर्मचारी रहेको गैरसरकारी संस्था गोनेसालाई नै जिम्मा दिने गरी चलखेल सुरु भएपछि विवाद चर्किएको हो ।
अस्पतालको सामाजिक सेवा इकाइ सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था गोनेसा, कोपिला नेपाल, कम्युनिटी सर्पोट ग्रुप र टिम लिडर लोकल अर्गनाइजेसनसमेतले आवेदन दिएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६ ०२:२५