परिवारको आर्थिक अवस्था कमजोर थियाे । उनको बाल्यकाल संघर्षपूर्ण रह्यो । घरगर्जो टार्न १३ वर्षको उमेरमा लुगा सिलाउने काम गरे । ‘रहरे उमेर’मा साथीहरू दसैँमा चङ्गा उडाउँदै रमाइरहेका हुन्थे । उनीचाहिँ त्याे हेर्दै लुगा सिलाइरहेका हुन्थे । एसएलसीमा उनी दुईपल्ट फेल भए । विदेश जान दिएको परीक्षामा फेल भए । जागिर खान दिएको अन्तर्वार्तामा फेल भए । व्यापारमा फेल भए । तत्कालीन आकाङ्क्षा र रहर पूरा गर्नमा फेल भए । तर, जिन्दगीमा भने उनी फेल भएनन् ।
फोटो पुस्तक किन्न खानाको साटो पाउरोटी खाएर पैसा बचाउने ठिटो, साथीले भाडामा लिएर उब्रेको एउटा सानो कोठामा स्टुडियो खोलेर जीवन चलाउन प्रयास गरेको ठिटो, जीवन चलाउन टेलरिङ मेसिन चलाउने ठिटो, धेरै प्रयासमा धेरैपल्ट फेल भएको ठिटो... अरु कोही नभएर वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल हुन् । जो आज काठमाडौंमा सम्भवतः दक्षिण एसियाकै शानदार फोटो स्टुडियोको मालिक हुन् । आउनोस्, आजको फोटोकार शृङ्खलामा ‘धेरैपल्ट धेरै कुरामा फेल भए पनि जिन्दगीमा पास भएका’ उनै राजभाइसँग भेटौँ ।
०००

राजभाइ सुवालको फोटोग्राफी यात्राले चार दशक टेक्नै लाग्यो । उमेरले उनी ५६ वर्ष पुगे । तर, फोटोकारितामा उनको सक्रियता झन् बढ्दो देखिन्छ । उनी अढाई दशकयता ‘मिस नेपाल’को ‘अफिसियल फोटोग्राफर’ हुन् । नमुना कलेज अफ फेसन टेक्नोलोजी र अस्कर इन्टरनेसनल कलेजमा उनी फोटोग्राफी पढाउँछन् । यसबाहेक ग्लोबल कलेज, एस कलेज, फोटोग्राफी स्कुल, द र्याम्प मोडलिङ स्कुलका उनी भिजिटिङ लेक्चरर हुन् । काठमाडौंको खिचापोखरीमा रहेको मल्टिपल क्रियटिभ डिजिटल स्टुडियोका मालिक राजभाइ नै हुन् । १२ जनाको टिम बनाएर उनले स्टुडियो हाँकिरहेका छन् ।
उनले सबै शैलीका फोटोहरू खिचे । तर, पहिचान विज्ञापन र फेसन फोटोग्राफीमा बनाए । अहिले विज्ञापनका फोटो खिच्नमा उनलाई भ्याइनभ्याइ नै छ । वरिष्ठ फोटोग्राफर ७६ वर्षे मणि लामा आफूलाई राजभाइको फोटोग्राफी निकै कलात्मक लाग्ने बताउँछन् । ‘उहाँका फोटोहरू मलाई असाध्यै मन पर्छ । धेरै मिहिनेत गर्नुहुन्छ । फोटोहरू आर्टिस्टिक हुन्छन्’, लामा भन्छन् ।
राजभाइका छोरा विभाष पनि फोटोग्राफीमै सक्रिय छन् । भारत पुनेको भारती विद्यापाठबाट व्यावसायिक फोटोग्राफीको अध्ययन गरेका २९ वर्षे विभाष विज्ञापन र फेसनका उम्दा फोटोग्राफर मानिन्छन् । समग्रमा राजभाइ सुवाल आज एक सफल फोटोग्राफर हुन् । फोटोग्राफीमा उनले आफूलाई अब्बल सावित गरिसकेका छन् । तर, यो मुकामसम्म आइपुग्न उनले पार गरेका कठिनाइ र संघर्ष चानचुने छैन । धेरै कुरामा फेल भएर फोटोग्राफीमा पास हुन उनले थोरैतिनो मूल्य चुकाएका छैनन् ।
अनि भूमिहीन भए...
राजभाइ बुवा त्यसताका विख्यात रंग कलाकार थिए । नेपाल भाषाका नाटकमा उनी अक्सर नायकको भूमिकामा हुन्थे । तर, आयआर्जनको स्रोतचाहिँ खेतीकिसानी नै थियो । काठमाडौं भृकुटीमण्डप क्षेत्रमा उनीहरूको १४ रोपनी जग्गा थियो । ‘विकास नीति’अनुसार तत्कालीन सरकारले उक्त जग्गा ४ हजार मोहर मुआब्जा दिएर अधिग्रहण गर्यो । राजभाइका बाजेले मैतीदेवीमा घर बनाउन पुग्ने जग्गा किने । बुबाले त्यसलाई जोगाए । तर, उनीहरू दिनदैनिकी पहिलाभन्दा निकै कठिन हुन थाल्यो । चार दाजुभाइमध्ये राजभाइ माइला हुन् ।
लुगा सिउने काम
राजभाइका बाजे सीपमा विश्वास गर्थे । आफ्ना नातीहरूलाई उनी भन्थे, ‘सीप भएको मान्छे भोकै मर्दैन ।’ बाजेको कुरा राजभाइलाई मन परेको थियो । त्यसैले उनी आफूलाई मन परेका कुरा दत्तचित्त भएर सिक्न खोज्थे । एसएलसीमा उनी दुईपल्ट फेल भए । पास हुनेहरू कलेज खोज्न थाले । विषय चुन्न थाले । उनी हेरेको हेर्यै भए । ‘लाग्थ्यो जिन्दगीमै फेल भइयो तर त्यस्तो होइन रहेछ’, राजभाइ सुनाउँछन् ।
उनले बाजेको कुरा सम्झिए, ‘कुनै सीप सिक्नुपर्छ, त्यसैमा काम गर्नुपर्छ ।’ उनका अनुसार, एक दिन परिवारमा छलफल भयो । बाजेको मान्यता थियो- फरकफरक काम गर्दा दाजुभाइबीच विवाद, झगडा हुँदैन । त्यसैले चार दाजुभाइले फरक-फरक काम गर्ने समझदारी बन्यो । राजभाइले सिलाइको काम रोजे ।
१३ वर्षको हुँदा उनले स्टिचिङमा डिप्लोमा लिए । अब उनी आफ्नो लुगा आफैँ सिलाउन सक्ने भए । परिवारको लुगा पनि उनले नै सिलाउन थाले । १४ वर्षको उमेर हुँदासम्म उनको काम लुगा सिउने थियो । न्युरोडमा उनले एक टेलरिङमा जागिर गरे । महिनाको दुई सय तलब थियो । तर, एक दिन तलबबराबरको पेन्ट भुलवश आइरनमा डढेपछि उनले त्यो जागिर छोड्नुपर्यो । पछि घरघर पुगेर रङ पोत्ने काम पनि गरे उनले ।
सिलाइ छोडेर नाच्ने, गाउने काम
बाध्यताले उनी सिलाइको काममा होमिन पुगेका थिए । स्टेज ड्रामाको सुपरस्टार भएकाले बुवाको वाहवाही देखेर राजभाइलाई पनि कलाकार बन्ने हुटहुटी थियो । उनले सुने, राम्रोसँग नाच्न जानियो भने विदेशमा घुम्ने र प्रस्तुती देखाउने अवसर पाइन्छ । त्यो बेलामा उनले डिस्को सिकिसकेका थिए । पछि ट्याङ्गो सिके । तर साथीहरूले लोकनृत्य सिक्न सुझाएपछि उनले काठमाडौंको शंकर होटलमा रहेको लालुपाते कल्चर ग्रुप जोइन गरे ।
राधेश्याम प्रधान, नारायणदीप प्रधान, लिलाराजसिंह सुवाल, श्याम खड्गीबाट उनले नृत्य सिके । सत्यनारायण राजभण्डारी र द्वारिकालाल जोशीले उनलाई गायन सिकाए । त्यसपछि एक वर्षजति उनले शंकर होटलमै नाच्ने, गाउने काम गरे । तर, उनको उद्देश्य शंकर होटलमा काम गरी बस्नु थिएन । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति देखाउनु थियो । एक दिन विदेश जान पाउनेहरूको छनोट गरियो । १८ जनामध्ये १० जना छानिए, जहाँ राजभाइ परेनन् । ‘छान्नेहरूको नातेदार नपरेकाले म त्यो अवसरबाट बञ्चित भएँ’, उनी सम्झिन्छन् । त्यही दिनदेखि उनले नाच्ने काम छोडिदिए । त्यसपछि उनी फोटोग्राफीमा लागे ।
अर्काको क्यामेरा चलाउँदाचलाउँदै फोटोग्राफर
राजभाइ सुवालले १७/१८ वर्षको उमेरदेखि फोटो खिच्न थालेका हुन् । खिचापोखरीमा दास फोटो स्टुडियो, मखनको एस तीर्थराज, न्युरोडमा श्रीधरलाल मानन्धरको फोटो स्टुडियो थियो । बिस्तारै बागबजारमा आधुनिक स्टुडियोहरू खुल्दै थिए ।
राजभाइका दाइले आफ्नो साथीको एउटा भिडियो क्यामेरा ल्याएका थिए । कहिलेकाहीँ फोटो खिच्ने क्यामेरा पनि ल्याउँथे । त्यसैबाट भिडियो र फोटो खिच्थे राजभाइ । ‘यसरी ल्याएका क्यामेरा हामी पछि फिर्ता दिन्थ्यौँ । घरमा हामी चार दाजुभाइमध्ये मैले खिचेका भिडियो र फोटोचाहिँ सबैले रुचाउँथे’, राजभाइ सम्झिन्छन् । यसै क्रममा उनले घरबाहिर गएर पनि फोटो खिच्न थाले । उनले त्यो बेला खिचेको रानीपोखरीको फोटो धेरैले मन पराए । त्यही फोटो हेरेर मानिसले उनलाई फोटोग्राफर भन्न थाले । ‘अनि यसरी नै म फोटोग्राफर बन्न पुगेँ’, उनले भने । उनी विवाहको फोटो खिच्न जान्थे । यसबापत उनले केही पैसा पनि पाउँथे ।
मुम्बई गएपछि फोटोग्राफीमा झनै तानिए
सानैदेखि हिन्दी फिल्म हेर्ने भएकाले राजभाइका लागि बम्बई (अहिले मुम्बई) ड्रिम सिटी थियो । सन् १९८४ मा उनलाई साथीहरूले मुम्बई घुम्न जाने प्रस्ताव गरे । तर उनीसँग पैसा थिएन । त्यो बेला उनी पक्नाजोलको सिद्धार्थ सिसु निकेतनमा नृत्य र गायन पढाउँथे । तर, स्कुलकी प्रिन्सिपल म्याडमले कपी जाँच्ने बेला भएकाे भन्दै उनलाई छुट्टी दिन मानिनन् । तर, उनले सपनाको शहर जाने तय गरिसकेका थिए । खर्चबारे उनले बुझे । जान आउन ९ सय लाग्ने रहेछ । भैरहवा-गोरखपुर-लखनऊहुँदै ट्रेनबाट मुम्बई पुग्न ४८ घण्टा लाग्थ्यो । जसोतसो खर्चको जोहो गरी उनी मुम्बई पुगे ।
बसाइ साथीकाे डेरामा थियाे । बाहिर निस्केपछि आफ्नै पैसाले किनेर खानुपर्थ्याे । त्यसैले खानाको साटो उनी पाउरोटी खाएर पैसा बचाए । र, बचेकाे पैसाले फोटो बुकहरू किने । झण्डै दुई महिना मुम्बई बस्दा उनले थुप्रै फोटो बुकहरू पढे । त्यसपछि उनी फोटोग्राफीप्रति झनै तानिए । तर, आफ्नै क्यामेराचाहिँ थिएन । यो किन्न पैसा पनि थिएन । तर, इच्छालाई कसरी रोक्नु ? उनले साथीहरूको क्यामेरा भाडामा ल्याएर फोटो खिच्न थाले । २०४२ सालमा व्यावसायिक फोटोग्राफी सुरु गर्दासम्म उनकाे आफ्नै क्यामेरा थिएन ।
मुम्बईबाट फर्केपछि उनले विवाहको फोटोहरू बाक्लैसँग खिचे । चाडबाड, पर्यापर्यटन, ल्याण्डस्केप, वाइल्डलाइफ, आर्किटेक्चर, पोट्रेट, फेसन, सिनेमा, फोटो पत्रकारिता ६/७ वर्षमा यी विधामा उनले काम गरे । यही अवधिमा उनले फाेटाे पत्रकारिता गरेका थिए । २०४६ सालकाे आन्दाेलनमा उनले खिचेका केही तस्वीर त्यसताका म्यागजिन र पत्रिकाहरूले छापेका थिए ।
सिनेमा र आमाको सिक्री
राजभाइ सुवाल फोटोग्राफीमा आफूलाई तिखारिरहेका थिए । यही बेला एक साथीले उनलाई फिल्म खिच्ने सुझाव दिए । ‘मैले मुम्बईबाट फर्केपछि पनि फोटोग्राफीका थुप्रै पत्रिका, पुस्तकहरू पढिभ्याएको थिएँ । यसले पढेको छ भनेर मलाई सिनेमाका लागि अफर आयो’, उनले सुनाए । जीवन चलाउन धौधौ परिरहेका बेला थोरबहुत आम्दानी गरिने अपेक्षामा उनले फिल्म खिच्ने प्रस्ताव सहर्ष स्वीकारे ।
उनले नेपाल भाषाको चलचित्र ‘चरित्र’ खिच्दै गर्दा अन्य फिल्मबाट पनि अफर आउन थाल्यो । त्यसबेला उनी कलाकार आवाज नामको पत्रिकामा काम गर्थे । यसमार्फत उनको संगत कलाकार, निर्माता, निर्देशकसँग हुन्थ्यो । यही चिनजानबाट पनि सिनेमाका काम धेरै आउन थाल्यो । अब उनी स्टिल फोटोग्राफीसँगै सिनेमा पनि खिच्न थाले । पछि उनले टेलिफिल्म पनि खिचे ।
सिनेमा खिच्न उनले आमाको सिक्री बेचेर भिडियो क्यामेरा किनेका थिए । काम गरेर आएको पैसाले आमालाई सिक्री किनेर फिर्ता गर्ने वचन उनले दिएका थिए । तर, सोचेजस्तो भएन । सिनेमा खिचेबापत उनले पैसा पाएनन् । उनले २०५० सालतिर उनले २/३ लाख पारिश्रमिक उठाउन नसकेर फिल्म खिच्ने काम चटक्कै छोडिदिए ।
भिडियो छोडेपछि उनले आमाको सिक्री फिर्ता गर्न सकेनन् । अब उनको काम स्टिल फोटोग्राफी मात्रै थियो । यो गरेर पनि उनले आमालाई सिक्री जोडिदिन सकेनन् । यसै कारण उनले परिवारमा थुप्रै अपजसहरू सहनुपर्यो ।
स्टिल फोटोग्राफी गर्दागर्दै उनले २०५० सालदेखि फोटोग्राफी पढाउन थाले । यही समयमा पुतली सडकमा स्टुडियो खोले । एक साथीले लिएको भाडाको फ्ल्याटमा उब्रेको एक कोठालाई उनले स्टुडियो बनाएका थिए । त्यो बेला स्टुडियोमा उनले १० हजार रुपैयाँ लगानी गरेका थिए । तर, यसबाट पनि सोचेजस्तो आम्दानी भएन । ११ भदौ २०५१ मा कान्तिपुरमा फोटोग्राफर चाहिएको विज्ञापन आयो । स्टुडियो छाडिदिने निधो गरी उनले जागिरका लागि आवेदन दिए । तर उनी छानिएनन् । फेरि स्टुडियो फर्किए । उनलाई स्टुडियोको भाडा तिर्नै हम्मेहम्मे हुन्थ्यो । किनकि, आम्दानीभन्दा खर्च बढी हुन्थ्यो ।
‘भिडियो र सिनेमाको काम छोड्ने बेलामा मेरो २/३ लाख रुपैयाँ पारिश्रमिक लिन थियो । मैले त्यो कहिल्यैँ पाइनँ । स्टुडियोमा पनि फोटो खिच्नेहरूले म सोझोलाई त्यसै गर्न थाले । मैले पनि स्टुडियोमा अलि टाइट गर्न थालेँ’, राजभाइ भन्छन् ।
बिस्तारै उनको समय बदलियो । फोटोमा उनले नयाँ प्रयोग र परीक्षण गर्न थाले । उनका फोटोहरू मानिसले रुचाउन थाले । एक समय यस्तो आयो, बजारमा आउने धेरैजसो म्यागजिनमा राजभाइ सुवालले खिचेका तस्वीरहरू नै छापिएका हुन्थे ।
सन् १९९७ मा उनले तालिमका लागि मुम्बई जानै मौका पाए । ‘विकास रौनियारजी र मैले ब्रिटिस काउन्सिलले आयोजना गरेको फोटोग्राफीको ट्रेनर्स ट्रेनिङ भाग लिने मौका पायौँ । यसपछि म फोटोग्राफीमा झनै उत्साहित भएँ’, उनले सुनाए ।
सन् १९९९ मा दोस्रोपल्ट उनी फोटोग्राफी सिक्न मुम्बई गए । त्यहाँ उनले डिजिटल फोटोग्राफी, लार्ज फर्म्याट फोटोग्राफी, स्टिल लाइफ, नाइट फोटोग्राफी, फ्लास फोटोग्राफी र फोटोसप सिके । ‘काठमाडौं आएपछि मेरो आत्मविश्वास बढ्यो । अनि मूल्य पनि बढाएँ’, उनले भने ।
पुतली सडकको स्टुडियो उनले पछि बागबजार सारे । बिहान ८ बजेदेखि राति १२ बजेसम्म काम गर्थे उनी । त्यसपछि अलि राम्रो हुन थाल्यो । पुतलीसडकबाट बागबजारहुँदै खिचापोखरीस्थित आफ्नै घरमा सारिएको स्टुडियोलाई अहिले उनले मैतीदेवी ल्याइपुर्याएका छन् । उक्त स्टुडियाे अन्तर्राष्ट्रिय गुणस्तरकाे छ ।
तस्वीर ः राजभाइ सुवाल ।आज एउटै फोटोको उनले दशौँ हजारौँ रुपैयाँ लिन्छन् । र पनि उनलाई भ्याइनभ्याइ छ । विज्ञापन फोटोग्राफीमा राजभाइले राज गरेका छन् भन्दा अतियुक्ति हुँदैन । उनी फोटोकिपाका संस्थापक हुन् । फोटोकिपा कार्यक्रमअन्तर्गत उनले फोटोग्राफरहरूमाझ छलफल, कार्यशाला तथा तालिमजस्ता काम गर्दै आएका छन् ।
वरिष्ठ फोटोग्राफर गोपाल चित्रकारका अनुसार, फोटोकिपालाई फोटोग्राफरहरूले एउटा उत्सवकै रूपमा लिने गरेका छन् । नेपाल फोटो पत्रकार समूह (एनएफपीजे)का संस्थापक उपाध्यक्ष राजभाइ अहिले पनि थुप्रै संघसंस्थामा आबद्ध रहेर क्रियाशील छन् । यद्यपि, उनको मूल पेसा फोटोग्राफी नै हो । ०४६ सालमा उनले खिचेकाे एक तस्वीर मानव अधिकार संरक्षण मञ्चले निकाले डाउन अफ डेमोक्र्यासीमा समेत छापिएका थियो ।
विवादरहित छवि
सौन्दर्य प्रतियोगिता भन्नासाथ फोटोग्राफरमा राजभाइ सुवालको नाम आइहाल्छ । मिस नेपालबाहेक उनले सौन्दर्य प्रतियोगितामा थुप्रै फोटो खिचेका छन् । तर, यस्ता कन्टेस्टमा काम गरेर विवादमा नमुछिने थोरै व्यक्तिमा पर्छन् उनी । यसबारे राजभाइ भन्छन्, 'म कामभन्दा अन्त ध्यान दिन्नँ । आफू जेका लागि खटिएको छु, त्यो सकेपछि आफ्नो बाटो लागिहाल्छु, अलमलिने काम गर्दिनँ ।'
असफलता सफलताको सिँढी हो

उनी जीवनमा धेरैपल्ट असफल भए । धेरैपछि उनले आफू असफल हुनाको कारण पहिल्याए । ‘मैले कुनै पनि काम अठोटका साथ गरिनँ । ५/६ महिना काम गरेपछि बाटो बदलिहाल्थेँ । छिट्टै निराश हुन्थेँ’, राजभाइ सम्झिन्छन्, ‘असफलताका बाबजुत कुनै काममा निरन्तर लाग्ने हो भने सफलता निश्चित छ ।’
असफल भएँ भनेर निराश हुन नहुने उनी बताउँछन् । राजभाइको बुझाइमा असफल हुनु भनेको अनुभव सँगाल्नु वा सिक्नु हो । ‘त्यसैले असफल हुँदा आत्तिन हुँदैन । यसलाई सफलताको सिँढी बनाएर अघि बढनुपर्छ ।’ उनकाे विचारमा फोटोग्राफी मात्र होइन, जुनसुकै क्षेत्रमा सफलता हात पार्ने सूत्र एउटै हो । लक्ष्यप्रति प्रस्ट, अटल अनि कामकाे निरन्तरतालाई जसले सूत्र मान्छ, ऊ अवश्य सफल हुन्छ ।
प्रकाशित मिति: शनिबार, असोज १५, २०७९ ०६:१४