२० भदौमा गोश्वरा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट एउटा पार्सल (उपहार) आयो । काभ्रे मन्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राईको नाममा उक्त पार्सल आएको थियो । पार्सलको परिमाण ३ किलो ७० ग्राम थियो ।
सर्ट, जिन्स पाइन्ट र म्यागजिन उल्लेख भएर आएको उक्त पार्सलभित्र कपडामा बेरेको लागुऔषध गाँजा भएको खुल्यो । सोही अभियोगमा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले राईलाई पक्राउ गर्यो ।
पक्राउ परेका राईबारे प्रहरीले अनुसन्धान गर्दैगर्दा राईको नाममा काठमाडौं नक्सालका ३० वर्षीय अंकित कुमार श्रेष्ठले र काठमाडौं खुसिबुका ३० वर्षीय राहुल क्षेत्रीले अमेरिकाबाट गाँजा मगाएको खुल्यो ।
राईको बयानका आधारमा प्रहरीले श्रेष्ठ र क्षेत्रीलाई नक्सालबाट पक्राउ गर्यो । उनीहरूमाथि अनुसन्धान जारी रहेकै बेला फेरि राईको नाममा उसै गरी अमेरिकाबाट फेरि अर्को एक किलो ३३० ग्राम कपडाभित्र गाँजानै आएको खुलेको छ ।
उक्त गाँजा प्रहरीले रिसिभ गरेर आइतबार सार्वजनिक गरेको छ । उनीहरूले यसअघि समेत यहीँ शैलीबाट अमेरिकाबाट गाँजा तस्करी गरेको आशंका प्रहरीको छ । लागुऔषध नियन्त्रण ब्युरोका एसपी योगेन्द्र कुमार खड्काका अनुसार उनीहरूमाथिको अनुसन्धान अझै जारी रहेको छ ।
‘अमेरिकाबाट उनीहरूले पार्सलको नाममा गाँजा तस्करी किन गरिरहेका छन् ? कसले पठाइरहेको छ ? यो बारेमा अझै अनुसन्धानकै क्रममा छौं,’ एसपी खड्काले भने । तर, अमेरिकाबाट आउँने गाँजा प्रशोधित र नेपालमा पाइने गाँजाभन्दा केही गुणस्तर देखिने भएकाले उनीहरूले आफैँ सेवनका लागि मगाएको अनुमान प्रहरीले गरेको छ ।
प्रहरीको अनुसन्धानबाट राईलाई श्रेष्ठ र क्षेत्रीले एकपटक आएको पार्सल रिसिभ गरेर आफूलाई उपलब्ध गराएबापत ३० हजार रुपैयाँ दिने सर्तमा उनको नाममा पार्सल मगाएको खुलेको छ ।
ब्युरोका एसपी खड्काका अनुसार राई र अंकित श्रेष्ठ पुराना चिनजाँनका साथी हुन् । राई ठमेलको एक रेष्टुराँमा काम गर्थे । त्यही रेष्टुराँका श्रेष्ठ नियमित ग्राहक । सोही सम्बन्धका कारण श्रेष्ठले पार्सल रिसिभ गर्न लगाएको खुलेको एसपी खड्काले बताए ।
‘ठमेलको रेष्टुराँमा राई काम गर्दा श्रेष्ठसँग चिनजान भएको देखिन्छ । श्रेष्ठ मादक पदार्थ सेवन गर्न त्यहाँ जाने र त्यहीँँबाट उनीहरूको सम्बन्धन भएको हो । पछिल्लोपटक श्रेष्ठले पार्सल रिसिभ गरेबापत ३० हजार दिने सर्तमा गाँजा तस्करीमा सामेल गराएको खुल्यो,’ एसपी खड्काले भने ।
सुरुमा भने राई पार्सल रिसिभ गर्न सहमत नभएको र ३० हजार दिने सर्त राखेपछि मात्रै उक्त काममा राजी भएको देखिएको उनको भनाइ छ । पार्सल अमेरिकाबाट नेपाल पठाउने व्यक्ति नेपाली नै हुन् वा अमेरिकी नागरिक भन्ने विषयमा अझै प्रहरी अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
नेपालमै पनि गाँजा उपत्पादन हुने गर्छ । प्रहरीले नेपालबाट वर्सेनि हजारौँ किलो गाँजा बरामद गर्दै आएको छ । गाँजा अधिकांश धादिङ, नुवाकोट र हेटौँडामा उत्पादन हुन्छ । पछिल्लो समय प्रहरीले गाँजा फडानी अभियानसमेत चलाउँदै आएको छ ।
पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल पनि अमेरिकाबाट नेपाल दुई कारणले गाँजा तस्करी भएको अनुमान गर्छन् ।
‘नेपाल, अमेरिका र क्यानाडामा पाइने गाँजाको प्रजाति फरक छ । अमेरिकामा पाइने गाँजा नेपालको भन्दा तीन गुणा बढी कडाखालको हुन्छ । त्यही कारण अमेरिका बसेका, लामो समय बसेर नेपाल फर्किकाहरूका लागि तस्कारी भएको हुनसक्छ,’ मल्ल थप्छन्,’ अर्को नेपाल हुँदै अर्को मूलुक तस्करीको सम्भवना पनि उत्तिकै छ ।’
याे पनि पढ्नुहाेस्
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९ २०:३०