श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानियासँग कामदार आपूर्ति गर्ने विषयमा श्रम सम्झौता गर्ने तयारी गरेको छ ।
श्रम मन्त्रालयले २०७४ सालमा विकसित तथा नयाँ रोजगार गन्तव्य देशमा कामदार पठाउने उद्देश्यले गरेको एक अध्ययनका आधारमा रोमानियासँग श्रम सम्झौता प्रक्रिया अगाडि बढाएको हो ।
रोमानियाको उद्योग, कलकारखाना, कृषि, निर्माण, उत्पादन र अटोमोबाइल इनर्जीजस्तो श्रम सम्झौता गरी नेपाली श्रमिक पठाउनेबारेमा छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।
रोमानिया सरकारले नै सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिन चाहेको छ । नेपालले पनि सोहीअनुसार ड्राफ्ट बनाइरहेको श्रमसचिव एकनारायण अर्यालले जानकारी दिए ।
सरकारले पछिल्लो समय सरकारीस्तरमा श्रम सम्झौता गरेर मात्र कामदार पठाउने नीति लिएको छ । त्यही नीतिअनुसार रोमानियासँग पनि श्रम सम्झौता गर्ने विषयमा छलफल भइरहेको सचिव अर्यालले बताए ।
‘सरकारले कामदारको सुरक्षालाई मध्यनजर गर्दै श्रम सम्झौतालाई प्राथमिकतामा राखेको छ । अब कामदारको दक्षताका आधारमा पनि श्रम सम्झौता गर्नुपर्छ । यो आवश्यक पनि देखियो ।’ उनले भने, ‘श्रम स्वीकृतिभन्दा पनि कामदारको योग्यता, आयस्रोत, रोजगारी र अन्य सुविधामा केन्द्रित श्रम सम्झौता गर्नुपर्छ भन्ने पक्षमा श्रम मन्त्रालय छ ।’
सरकारले बीमासँगै अब विदेशिने कामदारको हकमा अनिवार्य सामाजिक सुरक्षा कोषलाई मध्यनजर गर्दै श्रम सम्झौता गर्ने उनको भनाइ छ ।
श्रम मन्त्रालयले श्रम कार्यालय ताहाचलमा तीन महिनाका लागि अस्थायी रोमानियन मिसन गत महिना स्थापना गरेको थियो । रोमानिया रोजगारका लागि यो कार्यालय नेपालमै स्थापना भएपछि त्यहाँ रोजगारको भिसा प्रक्रिया सहज भएको छ । यसअघि रोमानिया रोजगारको भिसा प्रक्रियाका लागि भारतसम्म जानुपर्ने बाध्यता हटेको छ ।
अहिले पनि म्यानपावर कम्पनी र व्यक्तिगत भिसामा नेपाली कामदार रोमानिया गइरहेका छन् । गत आर्थिक वर्षमा ४ हजारभन्दा धेरै नेपाली रोमानिया वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । आर्थिक वर्ष सुरु भएको दुई महिनामा ५ सय जनाभन्दा धेरै नेपाली रोमानियाँ रोजगारीमा पुगेको विभागले जनाएको छ ।
रोमनिया जाने कामदारसँग म्यानपावर कम्पनीले कम्तीमा ५ देखि ८ लाख रुपैयाँसम्म लिने गरेका छन् । रोमानियासँग श्रम सभ्झौता भए कामदार ठगिने क्रम पनि अन्त्य हुने श्रम मन्त्रालयको बुझाइ छ । रोमानिया जाने कामदारले कम्तीमा मासिक १ लाख २० हजार रुपैयाँभन्दा धेरै कमाउने श्रम मन्त्रालयको अनुमान छ ।
रोमानिया रोजगारीका नाममा ठगिएका धेरै कामदार समस्या लिएर विभागमा दैनिक धाउने गरेका छन् । यसरी ठगिएका कामदार भारतहुँदै रोमानिया जान खोज्दा एजेन्टको फन्दामा परेका हुन् । रोमानिया मात्र नभई युरोपका अन्य देशसँग पनि श्रम सम्झौताको प्रयास र छलफल भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले युरोपका देशहरूसँग श्रम सम्झौता गर्दा जीटुजी मोडलबाटै कामदार पठाउने गरी सम्झौता मन्त्रालयको भनाइ छ । रोमानियासँगै पोल्याण्ड र पोर्चुगलसँग श्रम सम्झौताको पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्रालयले जीटुजी मोडलबाट कोरिया, इजरायल, जापान र बेलायतसँग समझदारी गरेको छ । पछिल्लो समय ठूलो संख्यामा स्वास्थ्य सेवाका लागि जनशक्ति पठाउन बेलायतसँग जीटुजी सम्झौता गरेको थियो । रोमानियासँग पनि सोहीअनुसार श्रम सम्झौता हुने श्रम मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९ १३:३१