सर्लाही हरिवनका लाल मोहम्मदको हत्यामा संलग्न आरोपीहरू भारत भागेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सोमबार साँझ काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिरनजिक मोहम्मदमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो ।
तीनवटा गोली लागेका मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार राति नै मृत्यु भएको थियो । मोहम्मदको हत्याको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तर, प्रहरी अभियुक्तसम्म पुग्नुअघि नै उनीहरू नेपाल-भारत सीमा पर्साको रक्सौल नाकाबाट भारत छिरेको अनुसन्धानबाट खुलेको छ । मोहम्मदको हत्या अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार मोहम्मदको हत्यामा तीन जना भारतीय नागरिकको संलग्नता देखिएको छ ।
उनीहरू मंगलबार दिउँसो ११ बजे वीरगञ्ज नाकाबाट भारत भागेको खुलेको ती अधिकारीले शिलापत्रसँग दाबी गरे । ‘हत्यामा तीन जना भारतीय नागरिकको संलग्नता देखिन्छ । उनीहरू गोली प्रहारलगत्तै थानकोट हुँदै धादिङ र मंगलबार ११ बजे रक्सौल नाका पार गरेको देखिएको छ,’ ती अधिकारीले भने ।
हत्यामा संलग्न देखिएका एक जना भने लामो समयदेखि नै नेपालमा बस्दै आएको खुलेको छ । भारत नयाँदिल्लीका नितेन खानको नामले चिनिएका उनी बसन्तपुर क्षेत्रमा परिवारसहित बस्दै आएका थिए । उनी यसअघि काठमाडौंको गोङ्गबुबाट जुवा खेलिरहेका बेला पक्राउ परेका थिए ।
पछिल्लो समय राजस्व छलीको मुद्दामा उनीमाथि अनुसन्धान थालिएपछि नेपाल छोडेर भारत भागेको प्रहरीको भनाइ छ । मोहम्मदको हत्या योजनासहित उनी फेरि एक महिनादेखि काठमाडौं बस्दै आएको खुलेको छ । उनी यसअघि बस्दै आएको बसन्तपुरको कोठा भने छोडेको प्रहरीको दाबी छ ।
हत्यामा उनको संलग्नता देखिएपछि प्रहरीले मंगलबार खानका दाइ बस्दै आएको बसन्तपुरको एक घरको कोठासमेत खानतसाली गरेको थियो । उक्त कोठाबाट प्रहरीले खाली झोलामात्रै फेला पारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जितेनका दाइलाई भने मंगलबार सोधपुछका लागि नियन्त्रणमा लिएको छ । उनीमाथि अझै सोधपुछ जारी रहेको एक प्रहरी अधिकारीले बताए । नितेन खानले नै मोहम्मदको हत्या योजना बनाएकोसमेत प्रहरीले दाबी गरेको छ ।
उनले नै भारतबाट अन्य दुई जना सुटर ल्याएर प्रयोग गरेको खुलेको छ । उनीहरूले हत्या गर्दा कालो रंगको सीबीजेड मोटरसाइकल प्रयोग गरेको खुलेको छ । पुरानो मोडलको उक्त मोटरसाइकलामा नयाँ नम्बर प्लेट प्रयोग गरेकोसमेत प्रहरीले दाबी गरेको छ ।
जितेनले भारतबाट हत्याका लागि नेपाल ल्याएका दुवै जना राख्न गोठाटारकै कोसीपारी गेष्ट हाउसको कोठा बुक गरेको खुलेको छ । यद्यपि जितेनले मोहम्मदको हत्या योजना किन बनाए भन्नेबारे भने खुलेको छैन । उसो त मोहम्मद नक्कली भारतीय नोटको कारोबारी भएकाले पनि उनीमाथि भारतीय आपराधिक समूहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
मोहम्मद यसअघि २०६४ मा अनामनगरस्थित धोवीखोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको घटनामा संलग्न अपराधी हुन् । सो हत्या प्रकरणमा उनी १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए । पछिल्लो समय उनले गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ सञ्चालन गर्दै आएका थिए ।
उपत्यका प्रहरी कार्यालय रानीपाेखरीले माेहम्मद हत्याकाे छानबिनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईकाे नेतृत्वमा समितिसमेत बनाएकाे छ ।
यो पनि पढ्नुस् :
नक्कली भारतीय नोटको कारोबारी थिए लाल मोहम्मद, युनिस अन्सारीसम्म कनेक्सन
भारतीय आपराधिक गिरोहको निसानामा थिए लाल मोहम्मद, पुराना हत्याको पुनरावृत्ति
को हुन् लाल मोहमम्द हत्याका मुख्य योजनाकार नितेन ? रसुवा कारागारमा रहेका अपराधी उदय सेट्ठीसँग देखियाे कनेक्सन
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९ ११:४९