३२ वर्षको अवधिमा कपाल काटेको मूल्य झण्डै ४ हजार प्रतिशतले बढेको छ । २०४७ सालमा कपाल काटेको ५ रुपैयाँ रहेकोमा २०७९ असोजसम्म आइपुग्दा ३ हजार ९ सय प्रतिशतले बढेर २ सय रुपैयाँ पुगेको हो ।
नेपाल नाई संघ, काठमाडौं उपत्यका समितिले १ असोजदेखि लागू हुने गरी कपाल काटेको २०० र दाह्री काटेको १२० रुपैयाँ पुर्याएको हो ।

प्रत्येक ३ वर्षमा मूल्य बढाउने सघंको नीतिबमोजिम मूल्य बढाइएको नेपाल नाई संघका अध्यक्ष राजाराम ठाकुरले बताए । ‘हामीले मनलाग्दी मूल्य बढाएका होइनौँ । ३/३ वर्षमा बढाउँछौँ । सबै कुराको मूल्यवृद्धि भइरहेको बेलामा हाम्रो सेवाको मूल्य बढ्नु सामान्य हो,’ उनले शिलापत्रसँग भने ।
२०४७ सालमा कपाल काटेको मूल्य ५ रुपैयाँ भएकोमा २०७९ साल असोजमा दुई रुपैयाँ पुग्नु सामान्य भएको ठाकुरले बताए । ‘२०४७ सालमा चामल ५ रुपैयाँ किलो थियो, मट्टीतेल ७ रुपैयाँ लिटर थियो । सटर भाडा १ सय २५ रुपैयाँ थियो । यी कुराको मूल्य अहिले कति पुग्यो ? सबै कुराको भाउ आकाशिँदा कपाल काटेको चाहिँ ५ रुपैयाँ नै राख्ने हो र ?,’ उनले भने ।

नाई संघले गैरकानुनी रूपमा मूल्य बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन् । संघले यो सरासर कार्टेलिङ गरेको उनको आरोप छ । ‘उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार संघले आफूखुसी मूल्य निर्धारण गर्न पाउँदैन । यो गैरकानुनी काम हो,’ उनले भने, ‘यो क्षेत्रमा उपस्थिति नभएकै कारण राज्यले राजस्व पनि गुमाइरहेको छ । यो क्षेत्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हस्तक्षेपकारी भूमिका निभाउनुपर्छ ।’
विभागले खाद्यान्नलगायत अत्यावश्यक कुरामा पहिलो प्राथमिकतामा राखेको हुँदा सैलुनको विषयमा ध्यान नपुगेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले बताए ।
‘हामीले खाद्यान्नलगायत अत्यावश्यक कुरामा धेरै ध्यान दिइरहेका छौँ । त्यस कारण पनि यसमा ध्यान गएन । यो उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय पनि हो । यो विषयमा हामी छलफल गरेर काम अघि बढाउँछौँ,’ उनले शिलापत्रसँग भने ।
२०४७ सालदेखिको कपाल र दाह्री काटेको शुल्क
साल कपाल काटेको दाह्री काटेको
२०४७ ५ रुपैयाँ ३ रुपैयाँ
२०४९ ७ रुपैयाँ ५ रुपैयाँ
२०५१ १० रुपैयाँ ७ रुपैयाँ
२०५४ १५ रुपैयाँ १० रुपैयाँ
२०५७ २० रुपैयाँ १५ रुपैयाँ
२०६० ३० रुपैयाँ २० रुपैयाँ
२०६२ ४० रुपैयाँ ३० रुपैयाँ
२०६५ ५० रुपैयाँ ४० रुपैयाँ
२०६८ ६० रुपैयाँ ५० रुपैयाँ
२०७१ ७० रुपैयाँ ५० रुपैयाँ
२०७३ १०० रुपैयाँ ६० रुपैयाँ
२०७६ १५० रुपैयाँ १०० रुपैयाँ
२०७९ २०० रुपैयाँ १२० रुपैयाँ
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९ १७:५९