प्रदेश १ का १४ जिल्लामा २८ निर्वाचन क्षेत्र छन् । ०७४ को निर्वाचनमा प्रदेश १ मा एमाले ठूलो दल बनेको थियो । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा एमाले १४, माओवादी ६, कांग्रेस ५, नेकपा एस २ र राप्रपाले एक सिट प्रत्यक्षमा जितेका थिए ।
०७४ को निर्वाचनबाट प्रदेश १ मा ठूलो दल बनेको एमालेले २८ निर्वाचन क्षेत्रमध्ये १४ निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । अन्य क्षेत्रका आकांक्षी उम्मेदवारहरूको नामसमेत प्रदेश कमिटीले केन्द्रीय कमिटीमा पठाइसकेको छ ।
सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले भने २८ निर्वाचन क्षेत्रमा कुन दलले कहाँ उम्मेदवारी दिने अझै टुङ्गो लगाउन सकेका छैनन् । तर, पाँच दलीय गठबन्धनभित्रका दलहरूले क्षेत्र र सिटकाबारेमा आफ्ना आफ्नै दाबी गरेका छन् ।
गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा रस्साकस्सी छ । तर, नेताहरू भने आफ्नो टिकट कसरी पाउने र क्षेत्र सुरक्षित कसरी गर्ने भन्ने ध्याउन्नमा लागेका छन् । हाल गठबन्धनमा रहेका दलहरूमध्ये माओवादी, कांग्रेस र नेकपा एसको मात्र प्रतिनिधिसभामा प्रत्यक्ष जितेका सांसदहरू प्रदेशसभामा छन् । उनीहरूको गत निर्वाचनबाट निर्वाचित कुल सिट सङ्ख्या २८ मध्ये १३ वटा हो ।
सत्तारुढ गठबन्धनमा कसको कति दाबी ?
हुन त प्रतिनिधिसभा निर्वाचनको सिट संख्या निर्धारणको जिम्मा गठबन्धनका केन्द्रीय नेतृत्वसँग छ । तर, प्रदेशको पार्टी नेतृत्व सम्हालिरहेका कतिपय नेताहरूले भने सिट सङ्ख्या यति हुनुपर्छ भनेर आआफ्नो केन्द्रीय नेतृत्वलाई दबाब दिइरहेका छन् ।
गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रतिनिधिसभामा ११ क्षेत्र आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । माओवादीका प्रदेश उपाध्यक्ष शिव डाँगीका अनुसार माओवादीले प्रतिनिधिसभामा कम्तिमा ११ र प्रदेशमा कम्तीमा २२ क्षेत्र पाउनुपर्ने बटम लाइन छ ।
२८ मध्ये माओवादीले ११ क्षेत्रको सिट दाबी गरेको छ । जसमा सुनसरी १, झापाको १ र २, मोरङको ४ र ५ निर्वाचन क्षेत्र आफ्नो भागमा पर्नुपर्ने दाबी माओवादीको छ । यस्तै सोलु, भोजपुर, उदयपुर, धनकुटा, ताप्लेजुङ र पाँचथर माओवादीले पाउनुपर्ने माग राखेको डाँगीले बताएका छन् ।
त्यस्तै, गठबन्धनमै रहेको अर्को दल जनता समाजवादी पार्टीले पनि प्रदेश १ भित्रको ४ वटा प्रतिनिधिसभाको क्षेत्रमा दाबी गरेको छ । जसमा सुनसरीको क्षेत्र नम्बर १ र ४, धनकुटा, मोरङ क्षेत्र नम्बर ५ मा जसपाले दाबी गरेको हो ।
जनता समाजवादी पार्टीका प्रदेश १ का मुख्य सचिव प्रभु श्रेष्ठका अनुसार उपेन्द्र यादवसमेत उठ्ने तयारी भएकाले सुनसरी क्षेत्र नम्बर ४ लाई जसपाले दाबी गर्दै आएको हो । सुनसरी ४ बाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की कांग्रेसबाट सर्वसम्मत सिफारिस भएका छन् ।
नेकपा एकीकृत समाजवादीले प्रदेश १ मा कम्तीमा ४ प्रतिनिधिसभा क्षेत्र आफूहरूले पाउनु पर्ने दाबी गरेको छ । इलाम १, सुनसरी २, खोटाङ, भोजपुर र ताप्लेजुङमा एकीकृत समाजवादीको दाबी छ ।
कांग्रेस प्रदेश सभापति उद्धव थापा भने नेतृत्वले गर्ने निर्णय नै अन्तिम हुने भएकाले त्यसैलाई आफूहरूले पछ्याउने बताए । ’कतिपय गठबन्धनभित्रका दलका प्रदेशका नेताहरूले दाबी गरिरहनुभएको भन्ने सुनिन्छ,’ थापाले भने, 'तर, हामीले भने त्यस्तो गरेका छैनौँ । गठबन्धनभित्रको ठूलो दल भएकाले हामीले मागेर पनि हुँदैन ।’
थापाले पार्टीले प्रदेशलाई पार्टीको कुन क्षेत्रमा के कस्तो अवस्था छ भनेर सामान्य जानकारी मात्रै माग गरेको बताए ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९ १२:३६