आगामी चुनावमा सुनसरीबाट सत्ता गठबन्धन र एमालेका चर्चित नेताहरू उम्मेदवार सिफारिस भएका छन् । केन्द्रीय नेताहरू नै सिफारिस भएपछि सुनसरीको राजनीति गर्माएको छ ।
कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, विजयकुमार गच्छदार र मीन विश्वकर्मा सुनसरीबाट सिफारिस भएका छन् । सुनसरी- १ बाट विश्वकर्मा, सुनसरी- ३ बाट गच्छदार र सुनसरी- ४ बाट कार्की उम्मेदवार सिफारिस भएका छन् ।
सत्ता गठबन्धनमै रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई पनि सुनसरीबाटै सिफारिस भएका छन् । यादव सुनसरी- ४ बाट र राई सुनसरी- १ बाट सिफारिस भएका हुन् ।
सुनसरी- ४ बाट गठबन्धनकै नेताहरू कार्की र यादवको नाम सिफारिस भएको छ । तर, यादवले मंसिरको निर्वाचनमा सुनसरीमा उतिसारो चासो दिएका छैनन् ।
नेकपा (एमाले) बाट पनि हेबिवेट नेताहरू सिफारिस भएका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्य, प्रदेश १ सरकारका पूर्वउद्योग वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र पूर्ववन राज्यमन्त्री भगवती चौधरी सुनसरीबाट सिफारिस भएका छन् । एमालेले सुनसरी- २ बाट आचार्य, सुनसरी- ३ बाट चौधरी तथा सुनसरी- ४ बाट कुसियतको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ । सुनसरी- २ बाट जिल्ला अध्यक्ष रेवतीरमण भण्डारी, प्रभावशाली नेता खेमराज पोखरेल, रामप्रसाद चौंलागाईं र डम्बर सुवेदी पनि सिफारिस भएका छन् ।
सुनसरी- २ मा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाको नाम सिफारिस भएको छ । कोइरलासँगै प्रदेशसभा सांसद् सीताराम मेहताको नाम सिफारिसमा परेको छ । तर, सुनसरी–२ मा आर्चायको प्रतिस्पर्धी कोइरला हुने सम्भावना धेरै छ ।
सुनसरी- १ मा एमालेबाट जयकुमार राईको एकल नाम सिफारिस भएको छ । उक्त क्षेत्रमा जसपाले अशोक राईको नाम सिफारिस गरेको छ ।
सुनसरी- ३ मा कांग्रेसले गच्छदारलाई सिफारिस गरेको छ भने एमालेले भगवती चौधरीलाई । गच्छदारसँग यही क्षेत्रमा झिनो मतान्तरले हारेकी चौधरी यसपटक परिणाम उल्टाउने दाउमा छिन् ।
गच्छदारको ललिता निवास प्रकरणको मुद्दा किनारा नलागेकाले उनी उम्मेदवार बन्न पाउने वा नपाउने भन्ने विषय टुङ्गो छैन ।
यता सुनसरी- ४ को उम्मेदवारी सिफारिसमा अन्य निर्वाचन क्षेत्रको दाँजोमा बढी जनचासोको विषय बनेको छ । यो क्षेत्रबाट कांग्रेसले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीको नाम एकल सिफारिस गरेको छ । यो क्षेत्रमा एमालेले जगदीशप्रसाद कुसियतलाई एकल रूपमा अघि सारेको छ । कुसियत प्रदेश १ का पूर्व भौतिक तथा पूर्वाधारमन्त्री पनि हुन् ।
यस क्षेत्रबाट पहिलो संविधानसभा निर्वाचनमा सुजाता कोइरालालाई तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरेका थिए । ०५६ को उपनिर्वाचनमा कोइराला नेतृत्वको मन्त्रिपरिषद्का तत्कालीन गृह राज्यमन्त्री कांग्रेस नेता हरि सापकोटालाई कुसियतले हराएका थिए ।
सुनसरीमा गठबन्धन दलको तर्फबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनबाट एक–एक वटा प्रदेशसभा सांसद्को दाबी गरेका छन् । जसपाले भने २ र ४ नम्बर क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ दाबी गरिरहेको छ ।
स्थानीय चुनावभन्दा प्रदेश र प्रतिनिधिसभाको परिणाम फरक आउन सक्ने एमालेका स्थायी कमिटी सदस्य आचार्यको तर्क छ । सुनसरीमा गठबन्धनसँग भिड्न सक्ने एमालेको क्षमता र उम्मेदवार रहेको उनले जानकारी दिए । ‘निर्वाचनमा मत परिमाण कस्तो आउँछ त्यो त अहिले भन्न सकिँदैन,’ आचार्यले भने ।
स्थानियमा निवार्चनमा प्राप्त मतः
सुनसरी-१
एमाले ३३ हजार ४५३
कांग्रेस २६ हजार ६६४
माओवादी केन्द्र ७ हजार १८
जसपा ४ हजार ९११
राप्रपा ४ हजार ७४
सुनसरी-२
कांग्रेस ३७ हजार ७३७
एमाले ३६ हजार ४७२
जसपा ७ हजार ८५५
माओवादी केन्द्र ३ हजार २५०
राप्रपा ३ हजार ११०
एकीकृत समाजवादी २ हजार ११९
सुनसरी-३
एमाले ३५ हजार ०५३
कांग्रेस ३३ हजार ५७१
जसपा ५ हजार ५१६
माओवादी ३ हजार ८ सय
राप्रपा ३ हजार ३३१
एकीकृत समाजवादी ६२६
सुनसरी ४
कांग्रेस २८ हजार ७५६
एमाले २३ हजार ६१३
जसपा ९ हजार ८६३
एकीकृत समाजवादी ३ हजार ७ सय
माओवादी केन्द्र ३ हजार ६४६
सुनसरीमा एमालेलाई क्लिनस्वीप गर्ने गठबन्धनको दाउ छ । एमालेले पनि गठबन्धनलाई हराउन प्रभावशाली र स्थानीयस्तरमा राम्रो प्रभाव भएका नेताहरूलाई उठाउने तयारी गरेको छ । जसका कारण मंसिरको निर्वाचन रोचक हुने देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९ १९:०६