देशभर डेङ्गीकाे संक्रमण फैलिइरहेकाे छ । कतिपय जिल्लामा अस्पतालहरू डेङ्गी सङ्क्रमितले भरिएका छन् । पहिला-पहिला तराईका जिल्लामा मात्र देखिने याे राेग अचेल पहाडी र हिमाली क्षेत्रमा समेत देखिन थालेको विज्ञहरू बताउँछन् ।
‘पछिल्लो समय वायुमण्डल बढेपछि पहाडी र हिमाली क्षेत्रमा पनि लामखुट्टे देखिन थालेका छन्’, कीर्तिपुर अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘तराईक्षेत्र र अहिले गर्मी हुने मौसममा सबैतिर नै लामखुट्टे देखिने भएकाले यसको टोकाइबाट बच्ने उपायहरू अपनाउनुपर्छ ।’
ब्लड ग्रुपले कुनै फरक पार्छ ?
मानिसको रक्त समूह (ब्लड ग्रुप) अनुसार पनि लामखुट्टेले सताउने तथ्य रहेको चिकित्सकहरू बताउँछन् । मान्छेको पसिनाबाट आउने गन्ध, छालाको रङ, छालाको कडापन आदि विशेषताअनुसार कसैलाई लामखुट्टेले बढी दुःख दिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
‘तर यो वैज्ञानिक रूपमै पुष्टि भइसकेको तथ्यचाहिँ होइन । ब्लड ग्रुपअनुसार लामखुट्टेले कम, बढी टोक्ने भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धानचाहिँ भइरहेको छ’, पुनले भने, ‘यो ब्लड ग्रुप भएकालाई लामखुट्टेले बढी र यो ग्रुप भएकालाई कम टोक्छ भनेर तोक्दा सर्वसाधारणमा गलत सन्देश जान सक्छ । जसले गर्दा लामखुट्टेप्रति मानिसहरू बढी संवेदनशील बन्ने र पूर्ण बेवास्ता गर्ने जोखिम रहन्छ । यसैले ठ्याक्कै यो ब्लड ग्रुप भएकालाई कम/बढी टोक्छ भनेर भन्न मिल्दैन ।’
लामखुट्टेले टोक्दैमा डेङ्गी हुँदैन
डेङ्गी संक्रमण बढिरहेको अहिलेको समयमा मानिसहरूमा लामखुट्टेले टोक्नेबित्तिकै डेङ्गी भइहाल्यो कि भन्ने डर देखिने गरेकाे डाक्टहरू बताउँछन् । ‘लामखुट्टेले टोक्दा डेङ्गी भइहाल्यो कि भनेर डराउनु पर्दैन । सबै प्रकारको लामखुट्टेले टोक्दा डेङ्गीको संक्रमण हुँदैन । एड्यूस जातको लामखुट्टेले टोक्दा मात्रै डेङ्गी संक्रमण हुन्छ’, पुनले भने, ‘फरक-फरक जातका लामखुट्टेबाट फरक-फरक रोग सर्ने हाे । सामान्य अवस्थामा के बुझ्नुपर्छ भने लामखुट्टेले टोक्दैमा कुनै प्रकारको संक्रमण भइहाल्दैन । तर लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । सावधानी अपनाउनुपर्छ ।’
डेङ्गी घातक रोग हो ?
डेङ्गी लागेपछि ज्यान गुमाइहालिन्छ भन्ने साेच नराख्न डाक्टहरू सुझाउँछन् । खेलाँची गरेर उपचार नै नगराई बस्दा यो रोगबाट मान्छेले ज्यान गुमाउनेसम्मको खतरा हुन्छ तर लक्षण देखिनासाथ चिकित्सकको राय सल्लाह सुझावअनुसारको खानापान र व्यवहार अपनाउँदा डेङ्गीले त्यस्तो क्षति नगर्ने डा. सुवेदी बताउँछन् ।
‘डेङ्गी त्यति धेरै घातक संक्रमण होइन । डेङ्गीको संक्रमण शरीरमा प्रवेश गरेको पाँचदेखि सातदिनमा मानिसमा लक्षण देखा पर्न थाल्छ । अधिकांशलाई ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, मासंपेसी र जोर्नीहरू दुख्ने, कसैलाई डाइरिया र वान्ता हुन्छ । ब्लड प्रेसर कम हुने, शरीरका विभिन्न ठाउँमा ब्लिडिङ हुनेजस्ता समस्या देखा पर्छन्’, डा. सुवेदीले भने, ‘डेङ्गीले एउटा कुनै अङ्गमा मात्र असर गर्दैन । धेरै जटिल अवस्थामा कलेजो र फोक्सोमा असर गर्छ । तर एकदम थोरैलाई मात्र यस्तो असर गरेको भेटिएको छ ।’
घरपालुवा जनावारबाट डेङ्गी सर्छ कि भन्ने भ्रम देखिएको पनि डाक्टरहरू बताउँछन् । तर जनावरहरूबाट डेङ्गी नसर्ने उनीहरूकाे भनाइ छ ।
बालबालिका र वृद्धवृद्धा बढी जोखिममा
बर्खाको समयमा जमिन र हावाको तापक्रम बढी हुने भएकाले यो समय लामखुट्टेले फुल पार्ने, त्यसबाट नयाँ जन्मिने मौसम हो । जाडोभन्दा गर्मी लामखुट्टेका लागि उपयुक्त मौसम भएकाले अहिले डेङ्गीबाट सबै उमेर समूहका मानिसहरू जोखिममा रहेको डा. सुवेदी बताउँछन् ।
‘यसमा पनि बालबालिका र वृद्धवृद्धा शारीरिक क्षमताका आधारमा कमजोर हुनाले उनीहरू बढी जोखिममा हुन्छन्,’ सुवेदीले भने, ‘डेङ्गी लागेपछि मानिस शारीरिक रूपमा कमजोर बन्छ । सुरुमै कमजोर मान्छेलाई झन् कमजोर बनाउँछ ।’
डेङ्गीबाट बच्न के गर्ने ?
डेङ्गीबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हाे । पानी जम्ने स्थान, फोहोर फ्याँकेको ठाउँ, रबर, प्लास्टिक र सिसाका पुराना सामानहरू राखेको ठाउँमा लामखुट्टे बस्ने भएकाले यस्ता ठाउँहरूलाई पुर्न तथा सफा गर्न डाक्टरहरूको सुझाव छ ।
यसका साथै राति सुत्दा झुल टाँगेर सुत्ने, लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने, लामो बाहुला भएको लुगा लगाउने,
छालामा लामखुट्टे भगाउने खालको प्रतिरोधी मल्हमहरू लगाउने, आफू बस्ने कोठा, शौचालय, बाथरुम र घरवरिपरि सफा राख्ने गर्नुपर्छ ।
प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९ ११:०१