नगदे बालीका रूपमा परिचित सुपारी खेती झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायत दक्षिणी भेगसम्म फैलिएको पाइन्छ । पछिल्लो समय तराईको केही जिल्लामा समेत सुपारी खेती गर्ने क्रम बढ्दो छ । सुपारी खेतीको विकाससँगै यसको पात र बोक्राबाट दुना–टपरी उद्योग सञ्चालनमा आएका छन् । पहिला–पहिला आगो बालेर, कुहिएर सकिने पात हिजोआज प्रतिपात तीन रुपैयाँमा उद्योगहरूले किसानसँग खरिद गर्दै आएका छन् ।

नेपाल सुपारी खेती विकास संस्थाका अनुसार किसानहरूले अतिरिक्त आम्दानीका रूपमा सुपारीको पातसमेत बिक्री गर्न थालेका हुन् । २०६८ सालदेखि झापामा सुपारीको पातबाट दुना–टपरी बनाउन सुरु गरिएको र यसको व्यापार पनि बढ्दो क्रममा रहेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडाले जानकारी दिए ।
सुपारी खेती गरेर किसानहरूले मनग्य आम्दानी गरिरहेको बेला सुपारीको पातसमेत बिक्री हुन थालेपछि उनीहरूको आयस्रोत थपिएको उनको भनाइ छ । ‘नेपालमा सुपारीको दुना–टपरी उत्पादन भइरहेको छ । यसरी उत्पादित टपरी चीन, भारत, अमेरिका र युरोपसम्म व्यापार भइरहेको छ’, उनले भने, ‘नेपालमा सुपारीको पात खेर गइरहेको थियो । अहिले त्यही पातबाट पैसासमेत किसानको हातमा पर्छ ।’
भारतका केही शहरमा सुपारीको पातबाट दुना–टपरी बनेको देखेपछि सो व्यवसाय नेपालमा पनि सुरु भएको उनको भनाइ छ । त्यसो त नेपालमा हालसम्म २ करोड रूपैयाँभन्दा बढी सुपारीको पात खेर गइरहेको आकलन गरिन्छ । सोही पातलाई मात्रै पनि संकलन गर्न सके दुना–टपरी उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
खेर गइरहेको सुपारीको पातबाट टपरी बन्न थालेपछि जिल्ला घरेलु उद्योग कार्यालय झापाको समन्वय र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा २०७२ सालमै बाहुन्डाँगीमा एक सहकारीलाई मेसिन हस्तान्तरण गरिएको थियो । हाल झापामा दुना–टपरी बनाउन दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।
त्यसो त २०६८ सालअघि नेपालबाट समेत भारतमा सुपारीको पात निर्यात हुने गर्थ्याे । २०६८ सालयता भने नेपालबाट सुपारीको पात भारत निर्यात हुन छोडेको छ । नेपालमै सुपारीको पातबाट दुना–टपरी बन्न थालेपछि यसको खपत नेपालमै हुन थालेको हो ।

बढ्दो लगानी
झापामा मात्र सुपारीको पातबाट दुना–टपरी बनाउने सातवटा उद्योग सञ्चालनमा छन् भने मोरङ र इलाममा एक/एक वटा उद्योग सञ्चालनमा रहेको संस्थाले जनाएको छ । नेपालमा नानी देमा अग्र्यानिक प्लेट उद्योग, एरिकाना प्रालि, लिफ प्लस, हिमालयन लुस र इनर्जी क्रप्स प्रालिले दुना–टपरी उत्पादन गर्दै आएका छन् ।
पछिल्लो समय पूर्वमा बनेका सुपारीबाट बनेका दुना–टपरी काठमाडौं, पोखरा र देशका अन्य मुख्य शहरमा समेत माग बढ्न थालेको छ । मानिसहरू स्वास्थ्यका कारण प्लाष्टिक प्लेटको विकल्प खोजिरहेको बेला प्राकृतिक रूपमा सुपारीको पातको टपरी उत्पादन हुने थालेपछि बजारमा यसको मागसमेत बढ्न थालेको उत्पादक कम्पनीहरूले जनाएका छन् ।
नेपाल सुपारी खेती विकास संस्थाअनुसार झापा, इलाम, मोरङ र सुनसरीका स्थानीयहरूले समेत दुना टपरी प्रयोग गर्ने र घरघरमा पात जम्मा गर्न थालेका छन् । सुपारीको पातको अधिकतम प्रयोग गर्न सके नेपाललाई प्लाष्टिक प्लेट निषेधित क्षेत्र बनाउन सकिने लिफ प्लसका सञ्चालक हरि दाहालको तर्क छ ।
नेपालमा मात्र होइन भारत, चीनलगायत एसियाका देशमा समेत सुपारीको पातबाट बनेका दुना–टपरी व्यापार गर्न सकिने उनले बताए । ‘सुपारीको पातको दुना–टपरी युरोपसम्म व्यापार हुन थालेको छ । यो व्यवसायीका लागि राम्रो कुरा हो । सरकारले यो व्यवसाय बढाउन विशेष योजना ल्याउनुपर्छ । निर्यातबाट अतिरिक्त आम्दानी गर्न सकिन्छ त्यसले धेरैलाई रोजगारी सिर्जना हुन्छ’, उनले भने, ‘व्यवसायीले उत्पादन गरिरहेका दुना–टपरीले प्लाष्टिक आयात घटाउँदै छ । जसकारण वातावरण समेत सहयोग पुग्छ । यस्ता उद्योगलाई राज्यले प्राथमिकतामा राखे देशमै केही गर्छु भन्ने व्यवसायीलाई सहयोग गर्नुपर्छ ।’
सानो लगानीबाट उद्योग सञ्चालन गर्न सकिने र कच्चा पदार्थ गाउँमा पाइने भएका कारण पनि सुपारीको पातबाट मात्र नभएर साल र झोर्लाको पातबाट समेत टपरी बनाउन सकिने उनको भनाइ छ ।

नेपालमा स्थापित सुपारीको पातबाट दुना–टपरी बनाउने उद्योगमा करिब २० करोडभन्दा बढी लगानी भएको तथ्यांक छ । यो व्यवसायबाट करिब २ हजारभन्दा बढीले रोजगारी पाएका छन् । साथै, सुपारीको दुना–टपरी उद्योगले सयौँ पात संकलनलाई अप्रत्यक्ष रोजगारी समेत दिइरहेको छ ।
सरकारले झापालाई ‘सुपारी जोन’को रूपमा घोषणा गरेको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, इलामको दक्षिणी भेगमा करिब १४ हजार किसान कृषि खेतीमा निर्भर भइरहेको कृषि तथा पुशपन्छी विकास मन्त्रालयको तथ्यांक छ त्यस्तै, नेपालमा ४५ लाख सुपारीका बोट र १० हजार घर–परिवार यही खेतीमा निर्भर रहेको कृषि मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ ०७:५६