नेपाल प्रहरीको इतिहासमै सबैभन्दा बढी खर्च र जनशक्ति परिचालन गरेर अनुसन्धान गरिएको घटना हो– निर्मला पन्त हत्या प्रकरण । १० साउन, २०७५ मा कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
बितेका चार वर्षको अवधिमा प्रहरी निरन्तर अनुसन्धानकै क्रममा छ । तर, प्रगति शून्यजस्तै छ । जसका कारण प्रहरी अनुसन्धानप्रति नै आममानिसमा निराशा मात्र पैदा गरेकाे छैन, प्रहरी संगठनको छविसमेत धूमिल हुन पुगेको छ । निर्मला हत्यापछि नेपाल प्रहरीमा तीन जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिए । तैपनि, गहिराे अनुसन्धान गरेर सप्रमाण हत्यारासम्म पुग्ने ल्याकत कुनै पनि नेतृत्वले देखाउन सकेन ।
निर्मलाको हत्या हुँदा नेपाल प्रहरीको आईजीपी थिए, सर्वेन्द्र खनाल । उनको पालामा घटित घटना उनकै पालामा सुल्झाउन सकेनन् । उनको अनिवार्य अवकाशपछि नेतृत्वमा आए, आईजीपी ठाकुरप्रसाद ज्ञवाली । उनले पनि घटना सुल्झाउन सकेनन् ।
ठाकुरको आईजीपी कार्यकाल भने छोटो थियो । उनी पनि अवकाशमा गएपछि आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भए । उनको कार्यकाल २ वर्ष लामाे थियो, तर निर्मला हत्या अनुसन्धानमा ठाेस उपलब्धि हात परेन ।
क्षेत्री पनि अवकाशमा गइसकेका छन् । हाल आईजीपी छन्, धीरजप्रताप सिंह । उनी आईजीपी नियुक्त भएको पनि पाँच महिना पूरा भइसकेको छ । तर, अनुसन्धानमा कुनै प्रगति भएको छैन ।
पछिल्लो समय निर्मला हत्याबारे अनुसन्धान गर्न जाने प्रहरी अधिकारी अनुसन्धान गर्न जानेभन्दा पनि समय बिताउन कञ्चनपुर पुग्ने गरेको गुनासो प्रहरी अधिकारी नै गर्छन् । निर्मला हत्याबारे अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालयले हालसम्म काठमाडौंबाट दर्जनौँ प्रहरी अधिकारी कञ्चनपुर पठाइसकेको छ ।
यसबीचमा कञ्चनपुरकै प्रहरी नेतृत्वसमेत ६ पटक फेरिइसकेको छ । निर्मलाको हत्यापछि फेरिने जिल्ला प्रहरी प्रमुखहरूमा प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट, कुवेरसिंह कठायत, दिनेश आचार्य, मुकुन्द मरासिनी, उमाप्रसाद चतुर्वेदी र हाल श्यामसिह चौधरी छन् ।
एसपी विष्टकै टोलीले निर्मला पन्त बलात्कार र हत्या आरोपमा ४ भदौमा भीमदत्त नगरपालिका– १९ का दिलीपसिंह विष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, सोही कारण विष्ट आफैँ कारबाहीको भागीदार बन्न पुगे ।
दिलीप पक्राउपछि कञ्चनपुर तनावग्रस्त मात्रै बनेन, प्रहरी र स्थानीयवासीबीच निरन्तर झडपको अवस्थासमेत सिर्जना भयो । प्रहरीको गोली लागेर स्थानीय युवा सन्नी खुनाको ज्यानै गयो । निर्मलाको भेजाइनल स्वाबसँग डीएनए नमिलेपछि अदालतकाे आदेशले दिलीप थुनामुक्त भए ।
निर्मला बलात्कार तथा हत्याकाण्डले कञ्चनपुर तनावग्रस्त बनेपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति नै बनायो । उक्त समितिले ३० भदौमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले तत्कालीन एसपी डिल्लीराज विष्टसहित डीएसपी ज्ञानबहादुर सेठी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएका डीएसपी अंगुर जीसीलगायत सात जना प्रहरी निलम्बित भए ।
जसका कारण निर्मला हत्या प्रकरण झन्झन् जटिल बन्दै गयो । सरकारले निर्मला पन्त हत्याको अनुसन्धानमा प्रमाण सुरक्षित गर्न नसकेर कमजोरी गरेको भन्दै एसपी विष्ट र ज्ञानबहादुर सेठीलाई बर्खास्त नै गरेको थियो ।
हाल सबै प्रहरी अधिकारी पुनर्बहाली भएर काममा फर्किसकेका छन् । केही प्रहरी अधिकारीले अवकाशसमेत पाइसकेका छन् । तर, निर्मला हत्याको अनुसन्धान भने जहाँको त्यहीँ छ ।
अन्योलमा प्रहरी
निर्मला हत्या अनुसन्धानमा सबैभन्दा गिजोलिएको विषय थियो, डीएनए परीक्षण । तर, डीएनए परीक्षणको ‘च्याप्टर क्लोज’ हुँदा पनि प्रहरी अपराधीसम्म अझै पुग्न सकेको छैन । त्यसले निर्मला हत्या अनुसन्धानमा प्रहरी अन्योलमा रहेको देखाउँछ ।
तीन वर्षअघि नै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख रहेका डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले निर्मला हत्याका अभियुक्त डीएनएबाट पत्ता नलाग्ने स्पष्ट प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको थियो । डीएनएको नमुना परीक्षणबारे छानबिन गर्न बनेको उक्त समितिले निर्मलाको भेजाइनल स्वाबको सङ्कलनमा केही त्रुटि भएको निष्कर्षसहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई भने निर्मला हत्या अनुसन्धानकै क्रममा रहेको बताउँछन् । डीएनएबाहेक विष्टले निर्मला हत्या घटनाबारे दिएको बयान सबै मिल्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताउँदै आएका छन् । निर्मला बलात्कार घटनामा प्रहरीले करिब २ सयभन्दा बढी व्यक्तिमाथि निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सयाैँ व्यक्तिको डीएनसमेत टेस्ट गरेको थियो ।
स्थानीयको आन्दोलन र प्रहरीमाथि चौतर्फी दबाबका कारण निर्मला हत्या घटना सबैभन्दा धेरै गिजोलिन पुगेको हो ।
निर्मला हत्यापछि यस्तो थियो घटना शृंखला
– १० साउनमा निर्मलाको बलात्कारपछि हत्या ।
– ११ साउनमा उखुबारीमा शव फेला ।
– १३ साउनमा हत्याको अनुसन्धानका लागि सीआईबीका डीएसपी अंगुर जिसी नेतृत्वको तीन सदस्यीय टोली कञ्चनपुर प्रस्थान ।
– १७ साउनमा निर्मलाको हत्या विरोधमा कञ्चनपुरका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीबाट ‘निर्मलालाई न्याय दे, हत्यारालाई पक्राउ गर’ लगायतका प्ले कार्ड बोकेर जुलुस र विरोध प्रदर्शन ।
– ४ भदौमा सीआईबी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीद्वारा निर्मला हत्याको आरोपमा दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक ।
– ५ भदौमा निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविक अपराधी बाहिर नल्याएको भन्दै स्थानीयद्वारा भीमदत्तनगर बजार बन्द ।
– ७ भदौमा पनि बजार बन्द । हत्याको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच ठाउँठाउँमा झडप । २ बजेपछि प्रहरीद्वारा गोली प्रहार ।
- आठ जनाभन्दा बढी स्थानीय र केही प्रहरी घाइते । प्रदेश ७ प्रहरी कार्यालयबाट एसएसपी विक्रम चन्द कञ्चनुर प्रस्थान । गृह मन्त्रालयद्वारा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी उपरीक्षक तथा प्रहरी नायब उपरीक्षक परिवर्तन ।
- प्रमुख जिल्ला अधिकारी कुमार खड्का, एसपी डिल्लीराज विष्ट र डीएसपी ज्ञानबहादुर सेठीलाई फिर्ता बोलाएर उनको ठाउँमा नयाँ सीडीओका रूपमा तारानाथ अधिकारी र नयाँ एसपीका रूपमा कुवेर कठायतलाई पठाएर जिल्लामा अनिश्चितकालीन कर्फ्यु लगाइयो । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरियो । समितिलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो ।
– ८ भदौमा फेरि प्रहरी र स्थानीयबीच झडप । प्रहरीको गोली लागी एक जनाको मृत्यु, दर्जनौँ घाइते । स्थिति तनावग्रस्त । कर्फ्यु जारी ।
– १४ भदौमा कर्फ्यु पूर्ण रूपमा हटाइयो । स्थिति सामान्य ।
– १८ भदौमा सीआईबीका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीको टोली अनुसन्धानका लागि कञ्चनपुर प्रस्थान । (आईजीपी भएर हाल अवकाश )
– २६ भदौमा निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका अभियुक्त दिलीपसिंह विष्ट डीएनए रिपोर्ट नमिलेपछि विष्ट रिहा ।
– ३० भदौमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको समितिद्वारा गृह मन्त्रालयमा प्रतिवेदन पेस । सोही आधारमा एसपी डिल्लीराज विष्टसहित डीएसपी ज्ञानबहादुर सेठी, सीआईबीका डीएसपी अंगुर जिसीलगायत सात जना प्रहरी निलम्बित, समितिलाई एक साता म्याद थप ।
- न्यायको माग गर्दै निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी काठमाडौंमा ।
- ३१ भदौमा प्रहरी प्रधान कार्यालयद्वारा तत्कालीन डीआईजी धीरु बस्नेतको नेतृत्वमा अर्को समिति गठन । समितिका सदस्यहरूमा एसएसपी निरजबहादुर शाही (एआईजी भएर अवकाश), डीएसपीहरू रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकीसहित नौ जना ।
– ९ असोजमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिबाट गृहमन्त्रीलाई प्रतिवेदन पेस । त्यसयता भने निर्मला हत्या अनुसन्धानका लागि भनेर समिति बनेको छैन ।
अनुसन्धानको सुई अझै दिलीपतिरै
दिलीपसिंह विष्टलाई पक्राउ गर्दा कारबाही भोग्नुपरेका प्रहरी अधिकारी निर्दोष देखिँदै काममा फर्किसकेका छन् । त्यस कारण पनि निर्मला हत्यामा दिलीपकै संलग्नता भएको निष्कर्षमा प्रहरी पुगेकाे देखिन्छ ।
दिलीप पक्राउ गरेर कारबाहीमा परेका एक प्रहरी अधिकारी भने निर्मला पन्तको बलात्कारपछि हत्यामा दिलीपकै संलग्नता रहेको दाबी गर्छन् । ‘हाम्रो दाबी भनेकै निर्मलाको हत्यामा दिलीपको संलग्नता छ भन्ने हो । त्यही आधारमा पक्राउ पनि गरेका हौँ । उसलाई पक्राउ गर्नुपर्ने प्रमाण पनि छन् । तर, पछि प्रहरी संगठन नै भिडको पछि लाग्दा हामीमाथि नै जबर्जस्ती बयान दिन लगायो भनेर कारबाही भयो । त्यो अहिले गलत सावित भइसकेको छ’, ती अधिकारीले भने ।
आफूहरूलाई जुन आरोप लगाएर कारबाही भयो, त्यसबाट सफाइ पाएपछि सुरुकै चरणको अनुसन्धान ठीक थियो भन्ने अवस्थामा प्रहरी र सरकार पुगेको उनको दाबी छ । प्रहरीको अनुसन्धानबाहेक दिलीपसिंह विष्टले पछिल्लो समय निर्मलाको हत्या आफैँले गरेको बताउँदै आएका छन् । माईसंसारडटकमसँग भिडियोमा कुराकानी गर्दै विष्टले उक्त अपराध स्वीकारसमेत गरेका थिए ।
सुरुमा निर्मलाको हत्यामा दिलीपको संलग्नता हुन सक्दैन भन्ने निर्मलाकी आमा दुर्गादेवी पन्तले समेत निर्मलाको हत्यामा दिलीपकै संलग्नता रहेको भन्दै आफैँले किटानी जाहेरीसमेत दिएकी छिन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ १७:२०