‘म १६ वर्षीकी भएँ । १४ वर्षको उमेरमै भारतको मुम्बईमा बेचिएकी थिएँ । त्यही उमेरमा डान्सबारमा बेचिएकी मेरो शारीरिक शोषण गरियो,’ माइती नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एक किशोरीले आफ्नो पीडा पोखिन् ।
‘मेरो घर दोखलाको विकट गाँउमा पर्छ । गरिबीका कारण छाँक टार्न समस्या भएपछि अरुको लहैलहैमा लागेर भारत जाँदा बेचिनुपर्यो । बेचिएको मात्र होइन । ममाथि शोषण गरियो । अब म यो समाजमा कसरी बाचौँ जस्तो भइरहेको छ,’ सबैलाई भावुक बनाउँदै मञ्चबाट उनले आफ्नो पीडा सुनाइन् ।
‘अहिले माइती नेपाल मेरो लागि माइती भएको छ । सरकार कहिले हामी जस्तो बेचिएका बालिकाहरूको माइती बन्छ ? प्रहरी देखिए भने पनि केही भन्छन् कि जस्तो लाग्छ । खासमा हाम्रो रक्षा गर्ने अभिाभावक को हो ?’ उनले मञ्चबाटै सोधिन् ।
‘मलाई भारतको डान्सबारमा साहुले भनेको नमानेपछि मार्न खोजेको थियो । तर, ज्यान बचाउन मैले साहुसँगै सबै कुरा गुमाउन बाध्य हुनुपर्यो,’ उनले आफ्नो पीडा सुनाइन् ।
मुम्बई प्रहरीको सहयोगमा माइती नेपालले उद्धार गरी उनलाई नेपाल ल्याएको थियो ।

बिहीबार माइती नेपालले आयोजना गरेको ‘मानव बेचबिखनविरुद्ध राजनीतिक दलको प्रतिबद्धता’ नामक कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवालाई पीडितहरूले आफू बेचिएको कथा सुनाए ।
प्रधानमन्त्री उपस्थित भएकै कार्यक्रममा दोलखाकी अर्की १४ वर्षीया किशोरी त झन् देशभित्रै लुटिनुपरेको मार्मिक पीडा सुनाइन् । आफूमाथि भएको अपराधको न्याय खोज्दा हत्याको प्रयाससम्म भएको भोगाइ उनले प्रधानमन्त्रीलाई साक्षी राखेर सुनाएकी हुन् ।
‘म अहिले १४ वर्षकी भएँ । घरमा बुबा जाँडरक्सी खाएर दिनहुँ झगडा गर्नुहुन्थ्यो । त्यही भएर काम खोज्न गाँउकै एक जना दिदीको सहयोगमा काठमाडौं आएँ । अनपढ भएकै कारण भनेजस्तो काम नपाएपछि एउटा डान्सबारमा पुगेँ,’ उनले प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै भनिन्, ‘प्रधानमन्त्रीज्यू म देशभित्रै लुटिएँ । लुटिएपछि उजुरी गर्छे भन्ने डरले मलाई लुट्ने अपराधीले मेरो घाँटी ब्लेडले रेटेर हत्या गर्न प्रयास गर्यो । म भागेर बाँचे । मेरो घाँटीमा अहिले पनि दाग छ ।’
उनी यतिमै रोकिइनन् । ‘त्यो अपराधी माइती नेपालको सहयोगमा पक्राउ त पर्यो । तर, पैसा र पावरका कारण जेलबाट निस्किएर मेरो हत्या गर्छ की भन्ने त्रास अहिले पनि मनमा छ,’ उनले आफूसँगै हुर्किएको आशंका प्रधानमन्त्रीलाई सुनाइन् ।
'प्रधानमन्त्रीज्यू, समस्यामा परेपछि कतिपटक प्रहरीमा उजुरी गर्न गएँ । डान्सबारमा काम गर्ने भन्दै प्रहरीले उजुरी लिन मानेन,' मुलुकको कार्यकारी प्रमुखलाई उनले प्रश्न गरिन्, 'हामीजस्ता गरिबीका कारण रोजगारी खोज्दा लुटिएका बालिकाको उजुरी प्रहरीले किन लिन मान्दैन ?'
यी दुई किशोरी मात्र होइन सिन्धुलीको १६ वर्षीया किशोरीले पनि प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाइन् । आफू गरिबीका कारण लुटिन बाध्य भएको उनको भनाइ थियो ।
‘म पनि १६ वर्षको भएँ । १३ वर्षको उमेरमै रोजगारीको प्रलोभनमा परी बेचिएको हुँ । म आफ्नै देशमा बेचिएको हुँ । मलाई लागुऔषध सेवन गर्ने लतमा पारेर शारीरिक शोषण भयो,’ उनले भनिन्, ‘म एउटा होटलमा काम गर्दा लुटिएको हुँ । मलाई लुट्ने व्यक्तिका नाममा उजुरी गर्न खोज्दा मलाई कुटपिट गर्दै मार्न खोजियो । भागेर बल्लतल्ल ज्यान बचाएँ । त्यो व्यक्तिका नाम उजुरी गर्न कति पटक प्रहरी चौकी पुगेँ तर, प्रहरीले उजुरी लिएन ।’
'मेरो परिवारमा अभिभावक छैनन् । त्यही भएर दुई जना भाइ पाल्ने जिम्मेवारी मेरो काँधमा भएका कारण काम खोज्न हिँड्नुपर्ने बाध्यता छ,' उनले भनिन् ।
उनीहरूको अनुहार कार्यक्रममा देखाइएको थिएन भने नाम परिवर्तन गरिएको थियो ।
००

मञ्चमा बसेका प्रधानमन्त्री देउवाले उनीहरूका पीडा सुनिरहेका थिए । अत्यासलाग्दो भोगाइ र पीडा मञ्चमा बसेर सुनेका देउवाले मानव बेचबिखनका दोषीलाई कारबाही भइरहेको र उनीहरूलाई कानुनले छुट नदिने बताए ।
मानव बेचबिखनमा संलग्न र देशभित्र बालबालिकामाथि अभद्र व्यवहार गर्ने र त्यस्तो घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न प्रहरीलाई देउवाले निर्देशन दिए ।
मानव बेचबिखनमा पर्दापछाडि धेरै गतिविधि भइरहेको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बताइन् । वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको र रोजगारीका नाममा महिलाहरू धेरै बेचिने गरेको उनको भनाइ छ ।
नेपालबाट वार्षिक ३५ हजार मानिस मानव बेचबिखनको सिकार हुने गरेको माइती नेपालको अध्ययनमा उल्लेख छ । १५ हजार महिला, १५ हजार पुरुष र ५ हजार बालबालिकाहरू मानव बेचबिखनमा परिरहेको अध्ययनले देखाएको छ ।
माइती नेपालले मानव बेचबिखनमा परेका ५० हजारभन्दा धेरै महिला, पुरुष र बालबालिकाको विभिन्न देशबाट उद्धारका गरेको अध्ययनमा छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९ १९:४६