२०२६ साल, चैत महिना ।
घरको आँगनमा बिहानैदेखि मान्छेहरूको ठूलो जमघट छ । साइँला बा-साइँली आँ, कान्छा बा-कान्छी आँ, डाँडाकी जेठी आँ, डिलारे जेठी भाउजू, पल्तिरका दाइहरू, बैनीहरू, सानो भाइ (कान्छा बाको कान्छो छोरो धर्म), डिलारे दाइका छोराछोरीहरू, मौरीभिरे दाइ-भाउजू, धारापानीका दाइ-भाउजूहरू, साहुथरे, गोतामथरे सबैले हामीलाई घेरेर उभिएका छन् ।
ठूली दिदीभिनाजु बाको किरिया उम्किनेबित्तिकै चितवनतिर हिँडिसक्नुभएको थियो । कान्छी दिदी एक्कासि घरभित्रबाट डाँको छाड्दै आउनुभयो र ‘भाइ’ भनेर भक्कानिँदै मलाई झम्टिनुभयो । अनि सबै-सबैका आँखाबाट आँसु खस्न थाले ।
म बा-आमाको सबैभन्दा कान्छो सन्तान, ममाथिकी दिदीभन्दा म सात वर्षले कान्छो । बाआमा, दाइहरू, दिदीहरू सबैले माया गरेर, पुलपुल्याएर हुर्काउँदै गरेको म । मैले सधैँका लागि घर छाड्न लाग्दा सबैका आँखाबाट आँसु झर्नु स्वाभाविकै थियो ।
आमाले धोएर सुकिलो पारिदिएको कोराको भोटो र कोराकै टोपीमा सजिएर उभिएको छु म । चरप्पै सामानले भरिएको डोको आँगनको छेउमा अड्याएर राखिएको छ । ‘कान्ता दाइ’ भन्दै सानो भाइले मेरो भोटाको फुर्को छोडेको छैन । सधैँका लागि घर छाडेर जाँदैछु भन्ने मलाई थाहा थियो ।
आँखाबाट लगातार आँसुका ढिकाहरू खसिरहेका थिए । आँगनको डिलमा उभिएर अगाडितिर हेरेँ - तलको ठूलो बारी, आरूको बुटो, आरुबखराको बुटो, दुधिलोको बुटो, अम्रिसो, बाबियो, खुर्सानी, काँचो पात, अदुवा सबै प्यारो लाग्न थाल्यो, सबैलाई एकै ठाउँमा समेटेर गम्ल्याङ्ग अँगालो हालम्जस्तो लाग्यो, सँगै लिएर जाम्जस्तो लाग्न थाल्यो ।
पश्चिम फर्कें र त्यतैतिर हानिएँ म । पँधेरातिर जाने तगालोका गरालाहरू खेलाएँ, बाँसको झ्याङ हेरेँ, टाढैबाट भए पनि पँधेरो हेरेँ, भैँसी पौडिने आहाल हेरेँ, बैनीहरू खेल्ने साइँला बाको घरतिर हेरेँ ।
नजिकैको गोठभित्र छिरेँ । गोरुले पाउर मारेर बसेको थियो, गाईले मलाई देखेर टाउको हल्लायो, घाँस खाइरहेको भैँसीले मलाई देखेर टाट्नो ठोक्न थाल्यो । फेरि, म बाख्राको खोरनजिक गएँ । प्वालबाट बाख्रालाई हेरेँ । पाठापाठी हेरेँ । मलाई देखेर बाख्राहरू सलबलाउन थाले, म्याँ म्याँ’ गर्न थाले, खोरको ढोका खोलेर चराउन लैजान्छ कि भनेर होला । ती मायालुहरू । म झन् द्रवित भएँ ।
झन्झन् रून मन लाग्यो । बौलाहाजस्तै जताततै हिँडिरहेको थिएँ म । दगुर्दै कान्छा बाको घरभित्र पसेँ र अगेनो, सिकुवा, चुलो, दलिन, लिस्नु फटाफट भ्याएजति सबै हेरेँ ।
‘कता गयो कान्छो ? अब हिँड्न अबेला भयो,’ मेरो खोजीमा कसैको अवाज सुनियो । दगुर्दै आँगनमा पुगेँ म । फेरि एकपटक अफ्नो घरभित्र हेर्न मन लाग्यो, छिरेँ दगुर्दै । दलिनबाट माथि चढेर आटी हेरेँ, ठूलो मधुस हेरेँ, आमाले धोती फेरेर खाना पकाउने चुलो, कुँडो पकाउने-आगो ताप्ने अइनो, मोही पार्ने मदानी, धार्ने ठेको, नेती, जाडोमा म र बा सुत्ने ठूलो ओछेन, धुरी खाँमो, दलिन, डाँडा, मझेरी, सिकुवामा भएको परेवाको गुँड, दैलाको सँघार मजाले हेरेँ । केही परेवा बाहिर चर्न निस्केका रहेछन्, केही फुल कोरलेर गुँडमै । गुँडमा भएका माउले ‘बुकुटुटु बुकुटुटु’ गर्दै थिए, बचेराले ‘चिँ..चिँ’ । कति प्रिय अवाज, मेरा साथीहरूको । घरको खैरे बिरालो, मेरो अर्को प्रिय साथी, टाङमुनि छिरेर पुच्छरले मेरा खुट्टा खेलाउँदै ‘म्याउँ म्याउँ’ गरिरहेको थियो । यस्तो लाग्थ्यो, म घर छाड्ने कुरो थाहा पाएर ‘तँ नजा कान्छा, म कोसित खेलूँला’ भनिरहेको छ ।
‘ए कान्छा, कता गयो यो बकुल्लो ?’ साइँला बाको अलि रिसाएको आवाज सुनेँ । ठूला बकुल्ला गाला भएकाले बा-आमाहरूले माया गरेर अनि दाइ साथीहरूले जिस्काएर ‘बकुल्ला’ भन्थे मलाई सानोमा । साइँला बा, हाम्रा बा र कान्छा बाका पनि अभिभावक हुनुहुन्थ्यो, हामी छोराछोरीका त कुरै छाडौँ । गाली गर्ने मात्रै होइन, उस्तै परे थप्पड पनि लाइहाल्नुहुन्थ्यो । हामी सबै उहाँसित डराउँथ्यौँ । म पनि डराएँ र तुरून्तै हाजिर भएँ ।
रूवाबासी थामिएको थिएन । ‘भारी बोक माइजा, भाइलाई लिएर चाँडो जा । नाउडाँडा पुग्न अबेला हुन्च का !’ कान्छा बाले माल्दाइलाई अत्याउनुभयो । माल्दाइले भारी बोक्दै गर्दा म फेरि फुत्त पिँढीतिर गएँ । पिँढीलाई टेकेँ, बलानी खामो समातेँ, पिँढीमुनिका बाटाको छपनीलाई पनि टेकेँ । र, फर्केर माल्दाइको पछि लागेँ । ‘घुँक्कघुँक्क’ रूवाइ सुनिरहेको छु । मैले पनि अफूलाई सम्हाल्न सकेको छैन ।
बारीको डिलैडिलको बाटो खरबारीमा पुग्यौँ । बिदाइ गर्न आएका सबै पिर मान्दै, रूँदै हाम्रो पछि-पछि आए डाँडासम्मै । फेरि रूवाबासी सुरु भयो । मलाई उभिएर डाँडाबाट अन्तिमपटक सबैतिर हेर्न मन लाग्यो । गोतामेथर, साहुथर, धारापानी, बाँसखर्क, मौरीभिर, कलावारि, रायडाँडा, तमाखुबारी, भिरकटेरी, राता पहिरा, रातामाटा, बुङ्गेचउर, बालौटे, गाँजाको लेक, फलाँटे । अलि पर दमेक, थनथाप, राङखानी, डंगुरे खोलो । तल्तिर धीर गम्भीर भएको बसेको नागको थानको ढुंगो, सप्राङी फुपैको गोठ, बिहानै दगुर्दै आएर दिशा बस्ने गुहेगौँडी । उत्तिसका बुटा, बाँसको गाँज, काभ्रोको बुटो, दुधिल, फुल्तिसो, पैयूँ, खन्यु अनेकन बुटाहरू सरसर्ती हेरेँ मैले । र, बाहरू, आमाहरू, दिदी-बैनीहरू, दाइ-भाइहरू, भतिजा-भतिजिहरू रूँदै घरतिर फर्किए, माल्दाइ र म रूँदै उकालो लाग्यौँ, तराई पुग्नका लागि ।
त्यो बेलामा पहाड चटक्कै छाडेर तराई मधेसतिर बसाइँ सराइ गर्ने परिवार विरलै भेटिन्थ्यो । हाम्रो पानी कटेरी रायडाँडामा त छँदै थिएनन् । दमेकबाट हाम्रा भिनाजुको परिवार र जेठी भाउजूका माइतीहरू दुई/तीन वर्षपहिले नै मधेस झरेका थिए । त्यसैको प्रेरणाले होला, हाम्रा बाले पनि केटाकेटीहरूलाई तराईमा झराल्ने आँट गर्नुभएछ । अलिकति जग्गा बेचेर एक वर्षपहिले नै ठुल्दाइलाई पैसासहित तराई पठाउनुभएछ । ठुल्दाइले भाउजू र भर्खर एक वर्ष भएको छोरो साथै डोको बोकेर तराई जानुभएको थियो ।

बा नरहेपछि अब हामी आमा र म मात्रै हुने भयौँ घरमा । केही दिनपछि ठुल्दाइ पनि मधेस झर्नुपर्नेछ, दुई जिउकी भाउजू र दुई वर्षको छोरालाई चटक्कै छाडेर आउनुभएको थियो, बाको किरिया गर्न । अब हामी सबैको अभिभावक स्वभावैले ठुल्दाइ नै हुनुभयो । साइँला बा र कान्छा बासँगको सल्लाहअनुसार र घरमा आमा र माल्दाइसँग सल्लाह भएपछि आमा र मलाई मधेसमै लैजाने, एक्लै नछाड्ने निधो भएछ । उता माल्दाइलाई पनि लाहुर जान ढिला भएको, छुट्टी सकिन थालेको । माल्दाइ र म पहिले जाने, सके बाँकी जग्गा पनि बेच्ने, नसके गाई-भैँसी, बाख्रा-पाठा मात्रै भए पनि बेचेर तहबह मिलाएर आमा र ठुल्दाइ पछि आउने भन्ने सल्लाह भएछ ।
सबैलाई छाडेर हामी उकालो लाग्यौँ, बारीका कान्ला-कान्ला, छेउछेउ, ढुंगाले बनाएका अखेटाहरू खुट्टाले छाम्दै । तिनै बारी हुन्, जहाँ म साथीहरूसँग कान्ला-कान्ला हाम फाल्थेँ, वल्लो छेउदेखि पल्लो छेउ दगुर्थें । गिन्टी, भकुण्डो खेल्थ्यौँ । आलु-पिँडालु पोलेर खान्थ्यौँ ।
राति भुतले बटुवाको नामै काडेर बोलाउँच अरे- कान्छा, साइँला, काइला, जेठा, सम्मरे, भीमे, गुइँठे, जुठे भनेर । त्यतिबेला केही बोल्नुहुँदैन, चुपचाप हिँड्नुपर्च, नत्र भुतले छल्च भन्नुहुन्थ्यो आमाले ।
कान्छी दिदीको रूवाइ अझै पनि सुनिरहेको थिएँ, मैले । बाको मृत्युको पीडा क्रमशः सञ्चो हुँदै थियो, बाह्र वर्षसम्म हराएका माल्दाइ र म सधैँलाई तराईका लागि हिँडेका थियौँ र केही दिनपछि आमा र ठुल्दाइ पनि थात-थलो छाडेर जाने सुरसार थियो । दिदीको पीडा फेरि उकल्चियो । आमा-बाका छ सन्तानमध्ये कान्छी दिदी मात्रै त्यहाँ छुट्दै हुनुहुन्थ्यो । कहाँ हो कहाँ ? न बाटोघाटो छ, न अहिलेजस्तो टेलिफोन, इन्टरनेट । आमा र दाइहरूले पनि कान्छी दिदीकै चिन्ता गर्नुहुन्थ्यो बारम्बार । ‘तो लुरी एक्लै हुने भई’ भनेर आमाले घरिघरि आँसु झारेको देख्थेँ मैले । मैले दिदीसित बाख्रा चराउन जाँदा, घाँस काट्न जाँदा, दाउरा खोज्न जाँदा, सेउला-पर्सेउला बटुल्न जाँदा, कोदो-मकै छर्न जाँदा, गोड्न वा सिहार्न जाँदा, आलु-पिँडालु खोर्सिन जाँदा, निउरो-कुरिलो टिप्न जाँदा पछि-पछि हिँडेको झलझली सम्झेँ । भिरको बाटो दिदीलाई घर छोड्न भनी सँगसँगै गएको सम्झेँ । सानैमा विवाह भएकाले माइत आएपछि, बालौटे घर फर्किने बेलामा दिदी चिच्याइ-चिच्याइ रोएको सम्झेँ ।
मैले सम्झेँ-
एक दिनको कुरो हो, कान्छी दिदी बालौटेबाट आउनुभयो जन्मघरमा, पानीकटेरी ।
‘कति दिनको भाका दिएर अइच्चेस् तो कान्छी ?,’ दिदी आउनेबित्तिकै आमाले सोध्नुभयो ।
‘तीन दिनको आमा ?,’ दिदीको स्वर सानो सुनियो ।
तीन दिन खेलखेलमै बित्यो । आमाले ताइ रोटी पकाएर, कुराउनी घोटेर, तरूल उसिनेर दिदीलाई घर जाने कोसेली तयार पार्नुभयो ।
जाने बेला हुन थालेपछि दिदी डाँको छाडेर रून थाल्नुभयो । ‘म अब जान्नँ आमा बालौटे । यहीँ बस्चु,’ दिदीले रुँदै आमालाई झम्टिनुभयो ।
‘त्यसो भन्न हुन्न बा । घर त जानुपर्च । मलाई पनि काँ हो, काँण यहाँ ल्याएका हुन् नि । तेरो कति टाढा छ र, तेइ बालौटे त हो नि । भाका दिएजति बस्, त्यसपछि फेरि भाका मागेर आउलिस् । छोरी मुन्चेलाई सधैँ माइत बस्न कल्लाई लेखिच्च र ?,’ आमाले आफैँ रुँदै सम्झाउनुभयो दिदीलाई । छोराछोरीको असाध्यै माया गर्ने बा पनि रूनुभयो त्यति बेला । अनि बाले दिदीलाई पुर्याउन जानुभाको थियो ।
सम्झिँदासम्झिँदै भक्कानो छुटेर आयो मलाई । भोटाको फुर्काले आँसुका धारा पुछ्दै खुरुखुरु उक्लिएँ माथितिर । माल्दाइ अघिअघि, म पछिपछि ।
सम्झिँदासम्झिँदै डाँडाकी जेठी आँको घर पुगिएछ । त्यहाँबाट हामी तेर्सो बाटो लाग्यौँ, नाउढुंगातिर ।
‘ओहो ! यही बाटो त हो नि मैले गाईबाख्रा चराउन हिँड्ने !,’ कल्पिदै हिँडे । अलि पर सिस्ने खोलो आउनुपहिले ठूलो ढुङ्गो देखियो । त्यही ढुङ्गो जहाँबाट गाईवस्तु चराउने सबै ठाउँ देखिन्थ्यो, वस्तुभाउ त्यहीँबाट पर लगाएर हामी त्यसमाथि चढेर गोटा खेल्थ्यौँ, बाघचाल खेल्थ्यौँ । मलाई एकपटक त्यसमाथि टेक्न मन लाग्यो । खुर्र दगुर्दै त्यतै गएँ ।
‘कहाँ गइस् कान्छा, तेता नजा ढिलो हुन्च’, माल्दाइ कराउनुभयो ।
‘अइहाल्चु’ भन्दै ठूलो ढुङ्गामा टेकेर तुरुन्तै फर्कें । मलाई थाहा थियो, यो अन्तिम टेकाइ हो ।
माल्दाइको पिठ्युँमा चरप्प भारी छ, म केटाकेटी भनेर रित्तै छु । हिजोअस्ति गाईबाख्रा खेद्दै टेकेका पाइलाहरू दोहोर्याउँदै हिँडिरहेको छु । सिस्ने खोलो आयो, खहरे खोलो आयो; गाईवस्तु चर्न रुचाउने बिसेबास्नीको घँसिलो चउरतिर आँखा गए, गब्बरखोलातिर आँखा गए । गाईबाख्रा चउरमा चर्न लगाएर हामी खुबै रमाईरमाई खेल्थ्यौँ । मलाई केही दिनपहिलेसम्मका रमाइला दिन झलझली सम्झना आउन थाले ।
‘हाम्रा खेलहरूः गिन्टी, गोटा, बाघचाल, सिन्का लुकाउने, एकखुट्टे । मेरा दावल, मसँगै खेल्ने साथीहरू: भीमे, खड्के, जुडे, गल्टे, भुन्टे, कइले, जिरे, हिरे, डल्ले, पुड्के, गिर्मती, हुमती, कान्छी, प्याकुली, जुम्ली । अब उनीहरू मबिनै ती खेलहरू खेल्नेछन् । मबिनै चुत्रो, गुएली, ऐँसेलु, काफल, दुधिलो, पैयुँ, खनियो, चरिम्लो, अमला टिपेर खानेछन् । वर्षात् महिनामा भोगटे, अमिलो, काँक्रो, पोलेका मकै, वनतरुल नुन, खुर्सानी, मरौटी, टिमुर र सिल्टिमुरको छोपसँग स्वाँस्वाँ गर्दै मबिनै खानेछन् । तिनीहरूले मबिनै गब्बरखोलामा पौडी खेल्नेछन्, मबिनै माछा मार्नेछन् र पोलेर खानेछन् । मेरो पनि सम्झना आऊला कि त्यतिबेला ? अनि म तराई गएपछि कोसित खेलूँला, के के खेलूँला ?’ भावुक भएँ म ।
मेरो मन अनेक कुराले हुँडलिइरहेको छ, उमेरअनुसार दाइको पनि त्यस्तै भयो होला । तर, दुई भाइ चुपचाप- चुपचाप हिँडिरहेका छौँ, नि:शब्द ।
धेरैजसो गाईबाख्रा बिसेबास्नीतिरै लैजान्थ्यौँ, त्यो पहारिलो र घँसिलो पाखो थियो । कहिलेकाहीं गब्बरखोलातिर पनि लैजान्थ्यौँ, किनकि त्यहाँ खेल्नको लागि फराकिलो चउर थियो । गाईबाख्राले भने गब्बरखोलातिर जान रुचाउँदैन्थे । गब्बरखोलातिर त खाली ढुग्यान मात्रै थियो, घाँस थिएन ।
गब्बर खोलो भन्नु मात्रै हो, वर्षात्मा पानी आउँदा हलल्ल बाढी आउँथ्यो, एकैछिनमा सुक्थ्यो । साउन/भदौमा माथि फलाटेको वन र नाउढुंगाको खरबारीबाट रसाएको सानो पानी बग्थ्यो । अरू समय पूरै सुक्खा ।
त्यो बाटो एक्लैदुक्लै हिँड्न डरलाग्दो पनि थियो, हामी केटाकेटीहरूका लागि । फलाटेमुनि फोस्रे ढुंगाले भरिएको भिर, पारिपट्टि नाउढुंगाको बाँदर लोट्नेजस्तो छाँगो । गाईबाख्रा हिँड्दा वा बाँदर हिँड्दा वा मान्छे हिँड्दा वा ठूलो हावाहुरी चल्दा माथिबाट साना-ठूला ढुङ्गा गुल्टेर मान्छे हिँड्ने बाटातिर आउँथे । तिनै ढुङ्गाले लागेर बटुवाहरू घाइते भएका थुप्रै घटनाहरू पनि सुनेको थिएँ मैले ।
खोँचो र कुइनेटो परेको स्थान भएकाले त्यहाँ भएका घटनाहरू मानिसहरूले झ्याप्प देख्दैन्थे । वरिवरि बस्ती थिएन । बा-आमाहरूले त्यहाँका अनेकन भुतका कथाहरू सुनाउनुहुन्थ्यो । केही यस्ता थिए:
- हिँड्दाहिँड्दै दिउँसै भुतले अगाडितिर ढुंगा खसाल्च, तर नडराई हिँड्यो भने केही देखिन्न ।
- राति त झन् राँके भुत आएर तर्साउँच, तेई बेलामा आगो बाल्यो भने भाग्च ।
- एकपटक बा एक्लै बाग्लुङबाट अउँदा झ्याप्पै अगाडितिरको रूख ढलेर बाटो छेकियो अरे । बाले भुत हो भन्ने जानेर ‘ए डाइना ! किन बाटो छेक्चस्, उता जा, म पुनि लामा हुम्’ भनेर थर्काउनुभयो अरे र खोल्टीबाट चकमक र झुलो निकालेर आगो बाल्नुभएछ अरे । अनि त, रूख जुरुक्क उठेर जस्ताको तस्तै भयो अरे । त्यसपछि बा सरासर घर आउनुभएको थियो अरे ।
- राति भुतले बटुवाको नामै काडेर बोलाउँच अरे- कान्छा, साइँला, काइला, जेठा, सम्मरे, भीमे, गुइँठे, जुठे भनेर । त्यतिबेला केही बोल्नुहुँदैन, चुपचाप हिँड्नुपर्च, नत्र भुतले छल्च भन्नुहुन्थ्यो आमाले ।
गब्बर खोलो भन्नु मात्रै हो, वर्षात्मा पानी आउँदा हलल्ल बाढी आउँथ्यो, एकैछिनमा सुक्थ्यो । साउन/भदौमा माथि फलाटेको वन र नाउढुंगाको खरबारीबाट रसाएको सानो पानी बग्थ्यो । अरू समय पूरै सुक्खा ।
- एकपटक एक जना माइला बाले त्यही गब्बरखोलातिर गाई चराउन जानुभएछ । गाईहरूको बीचबीचमा अगाडिपछाडि गर्दै एकजना सानी नानी हिँड्दी रहिछ । अलि पर गएपछि पिलिक्क माइला बातिर हेरिछ । ठठ्यौलो मान्छे- ‘हुत्तिर नाक, हुत्तिर कान, हुत्तिर आँखा, हुत्तिर मुख, हुत्तिर निधार, हुत्तिर चिउँडो भएकी, गुन्यू चोलो लगाएकी, चिटिक्क कपाल बाटेकी सानासाना गाँठीकी, काँ हो नानी तिम्रो घर ?’ भनेर सोध्नुभएछ । त्यो केटी केही नबोली माइला बाको आँखामा आँखा जुधाएर त्यहीँ अलप भई अरे । त्यसपछि माइला बालाई भुत हो भन्ने लागेछ । त्यही रातिदेखि बेस्करी ज्वरो आउन थालेछ र त्यसको एक हप्तामा बित्नुभएको थियो अरे ।
- दिउँसै आफूले चिनेको मान्छेजस्तो भएर, गाईवस्तु जस्तो भएर भुत आउँछ अरे ।
त्यसै भएर कान्छी आमा र हाम्री आमाले ‘त्यतातिर गाईबाख्रा चराउन नलैजानू, एक्लैदुक्लै नहिँड्नू, साँझसम्म नबस्नू भुतले छल्च’ भन्नुहुन्थ्यो । हामी भने खेल्नका पिरले कहिलेकाहीँ त्यतै लैजान्थ्यौँ, गाईबाख्रा चराउन ।
हामी गब्बरखोलाकै बाटो हिँडिरहेका छौँ । भुतका कथा सम्झिँदा आङ नै जिरिङ्ग भयो ।

हिँड्दाहिँड्दै गब्बरखोलातिर गाईबाख्रा चराउँदा खेल्ने ठाउँ आयो । अस्ति एकखुट्टे खेल्नका लागि रेखा खिचेर बनाएका खानाहरू जस्ताको त्यस्तै रहेछन् । माल्दाइ अघि हुनुहुन्छ, म पछिपछि । ‘अब म फेरि कहिले खेल्नेछु र यहाँ एकखुट्टे’ भन्ने सोच आयो । ढुंगाको गोटी समातेँ, अगाडि फर्केर काँधमाथि दाहिने हात लगी गोटी पछाडि फालेँ, दाहिने खुट्टो उचालेर देउरे खुट्टाको बुढी औँठाले ढुंगाको गोटीलाई ट्याक-ट्याक हानेर सबै खानाहरूमा पुर्याएँ र बाहिर निकालेँ । अनि, पुलकित भएँ म । मेरा सखाहरू, दौँतरीहरूको फेरि सम्झना आयोः हिरे, कैले, गल्टे, राते माइलो, पुड्के, भीमे, गिर्मती, हुमती, जुम्ली, गुइँठे, जुठे...। र, माल्दाइलाई भेट्टाउन दगुरेँ ।
गब्बर खोलो कटेर हामी तेर्पाएँतेर्पाएँ हिँड्यौँ । फोस्रे ढुंगा, दर्शन ढुंगा, कमेरे ढुंगा, माटे ढुंगा, खरी ढुंगाका टुक्राहरूको गग्रेटो बाटो, भर्खरै पिच गर्न बेस गिटी बिछाएझैँ । खुट्टा बिजाएर हिँड्नै गाह्रो । सिउँडीहरूका (हाल सुवेदी) पाँच/सातवटा घर भएको नाउढुंगा पुग्यौँ हामी ।
चैत महिना, चारैतिर चरा चिरबिराइरहेका छन्, ढुकुरले ढुकुर कुरकुरकुर गरिरहेको छ, न्याउलीले न्याउलन्याउल गरिरहेको छ, चिबेले चिबिरचिबिर गरिरहेको छ, कौवाले काका गरिरहेको छ । फिस्टो, भ्याकुर, चुप्पी, सीम चरीहरू च्याँच्याँ, चिँचिँ र चुँचुँ गरिरहेका छन् । उता हाडफोरा गिद्द चुच्चामा जनावरको हाड च्यापेर माथि आकाशमा कावा खाँदै फलाँटेको ढुंग्यानतिर उडिरहेको छ । चिलहरू कुखुरा र परेवालाई झम्टिने दाउ खेल्दै अकाशमा हुइँकिएका छन् । नाउढुंगामाः पैयुँ फुलेर बारी-खरबारी राताम्मे भएका छन्, दुधिलोले पालुवा फेरेर गाईवस्तु लोभ्याइरहेको छ, बुकी फुलेर चउर सेताम्मे भएको छ ।
‘ओइ, काइँला पाठकका छोरा माइला हौ कि क्या हो ?,’ गोठमा भैँसी दुही ठेकीमा दूध लिएर घरतिर जान थालेका साइँला सेउडीले माल्दाइतिर हेरेर भने ।
‘हुम्, म माइलो हुम् दाइ ?’
‘कान्छालाई लिएर काँ हिनिच्चौ तो ?,’ फेरि सोधे उनले ।
‘मेरो छुट्टी सकिन थालो, भाइलाई तराई लएर छोड्चु । आमा र दाइ पछि आउचन्,’ माल्दाइले थकित स्वरमा जवाफ दिनुभयो ।
‘अँ का, सबै तराई जानी होऊ अरे भन्नी सुनित्ते का । तेस्ता सोझा काइँला बुढा, बेथै नलाईकिन छिट्टै गए । के अर्ने, काल कइले आउँच, फ्याट्ट कल्लाई लान्च, पत्तै नहुने का । माइला भारी बिसाउन्नउ ?’
‘आज जसरी पुनि नाउडाँडा पुग्ने हो । अर्दा-अर्दै घरबाट निस्कनै अबेला भयो, भो बस्तैनम्,’ माल्दाइले उभिईउभिई भन्नुभयो ।
‘हो तो नि का अबेला भयो, के बात मारेर भुलाउनु । तिमी त धेरै बर्ख लाउरतिर हराएर आएका होउ अरे हे ?’
‘हो, एगार-बार बर्खपछि आएको, आउनेबित्तिको बा बित्नुभयो’, माल्दाइका आँखा आँसुले भरिए ।
‘चुचुचु.....थइय लेखेको ! कान्छाको बर्तुन नभएको, जेठा साइँला घर नाइ, तिम्ले मात्तै घाटमा गएर किरिया अर्न पायौ,’ भुसाहा तान्दै सेउडी साइँलाले भने ।
‘अँ का दाइ, देउताले जुराका ।’
‘बुढाले मन्दिरमा, झाँक्रीथानमा जहाँ गए नि ‘माइला छोरालाई घर फर्कालेउ’ भनेर धुप हाल्ते, भाकल अर्ते । घिड्किसो मेटिएर मरे बिचरा,’ सेउडी साइँलाले गफ लम्ब्याउन खोजे ।
यत्तिकैमा धेरै नाउढुंगेहरू जम्मा भइसकेका थिए । माल्दाइ आत्तिनुभयो र हिँड्न थाल्नुभयो ।
‘जाऊजाऊ, बालखसित, नाउडाँडा याँ हो र ?,’ नाउढुंगेहरूले मलिनो अनुहार लगाएर बिदा गरे ।
नाउढुङ्गाबाट अलि माथि उक्लेपछि दोबाटो आउँछ । सोझै माथि उक्ल्यो भने भकुण्डे सौरेको चउर, चउरबाट दाहिने मोडिए मकुण्डे गाउँ, बायाँ मोडिएपछि फलाटेहुँदै गाँजाको लेक र त्यहाँबाट सोझै अगाडि ओरालो लागे निफन्नी, तित्याङहुँदै बाग्लुङ बजार आउँछ । हामी सौरेको चउरतर्फ नगईकन दाहिनेतिर तेर्सियौँ झाँक्री थान, भन्ज्याङहुँदै बलेवातिर ।
यो बाटो म त्यत्रोचोटि हिँड्दै थिएँ । एकपटक बासित भैरवस्थान कुलाइनको पूजा गर्न जाँदा-आउँदा, अर्कोपटक आमासित घडेरी ठूलीआँकोमा जाँदा-आउँदा र यो अन्तिमचोटि घरै छाडेर मुग्लाङ जाँदा ।
खर्सु, अएरो, बाँझ, कटुस, झ्यानो, काफल, दबदबे, कोइरालो, लाँकुरी, सल्लो, उत्तिस, गुराँस आदिका बुटाहरू र चुत्रो, मुस्लेडी, ऐँसेलु, घएरी, थकाइलो आदिका काँडे बुट्यानहरूले छपक्कै ढाकिएको बिसेबास्नीको वनमा सिउरिँदै झाँक्रीको थानमा पुग्यौँ । झाँक्रीको थानमाथि पनि यमानको ठूलो ढुंगो छ, मलाई त्यहीमाथि गएर फेरि अन्तिमपटक मेरो प्रिय थलो हेर्न मन लाग्यो । माल्दाइले त्यता नजा भन्नुभएको थियो, म मानिनँ । माल्दाइले टुस्स डोको बिसाउनुभयो । झाँक्री थानबाट धेरै ठाउँ देखिन्थ्यो । मैले ढुंगामाथि चढेर देखिनेजति सबैतिर हेरेँ । पानीकटेरीबाट नदेखिएको मदानेको भिरतिर हेरेँ, पल्लो मौरीभिरतिर हेरेँ, फलाटेतिर हेरेँ, तल बिसेबास्नीको जंगलतिर हेरेँ । ती सबै ठाउँहरूले मलाई ‘कहाँ हिँडिस् र कान्छा हाम्लाई छाडेर’ भन्दै धरधरी रोइरहेको जस्तो लाग्न थाल्यो । मलाई थाहा थियो, झाँक्रीथान नाघेपछि यी सबै स्थानहरू क्रमशः अलप हुँदै जानेछन् ।
बिसेबास्नीको जंगलमा हामी गाईबाख्रा चराउन, घाँस काट्न, दाउरा खोज्न, वनतरुल खन्न, काफल टिप्न, चुत्रो टिप्न, ऐँसेलु टिप्न आउँथ्यौँ ।
प्रायः हामी गाईबाख्रा जंगलतिर चर्न पठाएर चउरमा खेल्न ब्यस्त हुन्थ्यौँ । घाम अस्ताउन थालेपछि सबै गाईबाख्रा हामी भएनजिकै आउँथे । आ-आफ्ना पशु गनेर घरतिर खेद्थ्यौँ । सधैँझैँँ त्यो दिन पनि गाईबाख्रा जंगलतिर लगाएर हामी गोटा खेल्न मस्त थियौँ । साँझ पर्न थाल्यो । सबै गाईबाख्रा हामी भएको चउरमा आएर जम्मा भए । सबैले आ-अफ्ना गन्यौँ । हाम्रो माउ बाख्रो देखिएन । भीमेलाई लिएर म जंगलतिर गएर बाख्रालाई बोलाउन थालेँ । ‘खस्र्याङखस्र्याङ’ पर्सेउला बजेजस्तो सुनियो । एकछिन कुर्यौँ । बाख्रो आएन । रात पर्न थालिसक्यो । हामी माउ बाख्रोबिनै घर फर्क्यौं । खोरमा बाख्रा हुलेर घर गएपछि म धरधरी रोएँ आमासित । आमाले ‘के भयो’ भनेर सोध्नुभयो ।
भोलिपल्ट बिहानै उठेर जेठी भाउजू र म बिसेबास्नीको जंगलतिर गयौँ । मैले ‘खस्र्याङखस्र्याङ’ गरेको ठाउँ देखाएँ भाउजूलाई । अलि पर जाँदा पर्सेउलाले अलिकति छोपेको मृत माउ बाख्रो भेटियो । घाँटीमा घाउ, भुईं रक्ताम्मे । तीन भागको एक भाग मासु खाइसकेको । मलाई एकदम डर लाग्यो ।
‘माउ बाख्रो हरायो,’ रूँदै उत्तर दिएँ ।
‘कता लएका थियौ र ?’
‘बिसेबास्नीको जंगलतिर ।’
‘बाख्रा जंगलमा छाडेर आफूहरू गोटा खेल्न थाले होउला, अनि कीराले खायो होला बाख्रो,’ आमाले पिर मान्नुभयो । ‘ती साना-साना पाठा कसरी हुर्काउने हो ? सालसालै दुईचोटि ब्याउँतो, खोरका सप्पै त्यसैका सन्तान हुन्,’ आमा झन्नै रूनुभएन ।
मलाई रातभरि राम्रोसँग निन्द्रा लागेन । झलझली त्यो माउ बाख्रोको सम्झना आइरह्यो । धेरै वर्षदेखि हामी सँगै थियौँ, परिवारको एक सदस्यजस्तै लाग्थ्यो । ती साना पाठाहरूको माया लाग्यो ।
भोलिपल्ट बिहानै उठेर जेठी भाउजू र म बिसेबास्नीको जंगलतिर गयौँ । मैले ‘खस्र्याङखस्र्याङ’ गरेको ठाउँ देखाएँ भाउजूलाई । अलि पर जाँदा पर्सेउलाले अलिकति छोपेको मृत माउ बाख्रो भेटियो । घाँटीमा घाउ, भुईं रक्ताम्मे । तीन भागको एक भाग मासु खाइसकेको । मलाई एकदम डर लाग्यो । ‘हिजो यहीँ नजिकै आएर फर्केको हो, ‘खस्र्याङ खस्र्याङ’ गरेको पुनि सुनिएको हो । धन्ना कीराले झम्टेन्च ।’
भाउजूले त्यो मृत बाख्रोलाई जुरुक्क उठाएर काँधमा राख्नुभयो र ‘हिँड कान्छा, कीरो नजिकै हुन सक्च, देखो भने खोस्न आउँच’ भन्नुभयो । म झन् डराएर पसिनै पसिना भएँ । र, भाउजूको अगाडिअगाडि हिडेँ ।
झाँक्रीको थान त्यस क्षेत्रमा निकै प्रसिद्ध थियो । मानिसहरू टाढा-टाढाबाट आएर पूजा गर्थे, भदौ महिनामा मकै चढाउँथे, दूधधारा दिन्थे, पाठो काट्थे, कुखुरा काट्थे, परेवा उडाउँथे ।

हामी धेरै भुलेनौँ । जति अगाडि बढ्दै गयौँ, उति हाम्रो जन्मभूमि ओझेल पर्दै थियो । बाटाको छेउछाउतिर गुराँस फुलेर राताम्मे भएका थिए । फूलमाथि भमराहरू भुनभुनाइरहेका थिए । मैले दुइटा गुराँसका थुंगा टिपेँ र खाँदैखाँदै हिँडेँ । अमिलोअमिलो बडो मीठो हुन्छ गुराँसको फूल । न्याउली चरीको ‘न्याउलन्याउल’, ढुकुरको ‘ढुकुर कुरकुर, चिबेको चिब्बीचिब्बी, भ्याकुरको भ्याक्कभ्याक्क, चुप्पीको चुप्पुचुप्पु र भ्याङ्खुरीको र्या..र्याटटटट....ले वनै संगीतमय भएर गुञ्जिइरहेको थियो । अलि तल घाँसदाउरा गर्न आएका तन्नेरी-तरुनीहरूले गाएको गीत सुनिँदै थियो । गीतले गिद्देभिरको पहरो घन्किरहेको थियो । कसैकसैले पात बजाएर गीतका धूनहरू फालिरहेका थिए, कसैले ओलाको सिटीबाटै । थरी-थरीका भाखाहरू । आहा कति रमाइलो वन !
‘कहाँ गयो साइँलो दाइ, पानी खान न्याउली झुरायो.... ।’
‘म कसो गरूँ नि, छैन मेरो हितैको तरुनी....।’
‘कालीपारे दाइ कति नाम्रो, ढाका टोपी काँदैमा गल्बन्दी....।’
'छ मयाँ छपक्कै लाइदेउ, छैन मयाँ मूल बाटो देखाइदेऊ....।
‘ठ्याङठ्याङ’ दाउरा काटेको, मुढा चिरेको आवाज आइरहेको थियो । कतै आगोको धुवाँ उडिरहेको थियो, काठको गोल पारेर आरनमा लैजानका लागि । गुराँसको काठको गोल खुब गतिलो हुन्छ भन्थे, सिखादीपका आरन चलाएर आँसी, बाउसो, बन्चरो अर्जाप्ने आरनेहरूले ।
अलिबेर हिँडेपछि मैले तलतिर हेरेँ । बालौटे पौडेलहरूको गाउँ देखियो । मेरी कान्छी दिदीको घर नियालेँ- दक्षिणतिर पाली फर्केको, खरले छाएको घुमाउरो घर । त्यही घरमा म दिदीसित जान्थेँ- भिनाजुले माया गर्दै खिर पकाएर दिनुहुन्थ्यो, तरुल उसिनेर दिनुहुन्थ्यो । दिदीकी सासूले मीठा र घिउ हालेर पकाएका चिल्ला रोटी दिनुहुन्थ्यो । सबैले ‘कान्छा’ भनेर प्यारो गर्ने- जेठा भिनाजु-जेठी दिदी, माइला भिनाजु-माइली दिदी, साइँला भिनाजु- साइँली दिदी । लगभग मेरै उमेरका भान्जा-भान्जीहरू मलाई देखेर ‘मामा आए मामा आए’ भन्दै खुसी हुन्थे । दौडिँदै आउँथे म भएतिर र वरिपरि झुम्मिन्थे । रमाएर खेल्थ्यौँ हामी ।
बालौटे मायाको खानी ।
‘दिदी त्यही पानीकटेरी छन् कि हिँडी होलिन् बालौटेतिर ! को छोड्न जाला ? बा बिते, म पनि हिँडे तराईतिर । ठुल्दाइ जालान् कि ! ठुल्दाइले पुनि केके गरिसकुन् ! कति धपेडी छ । बरा ! बाटैभरि रूँदैरूँदै जालिन् दिदी ! भाका नाघो भने भिनाजुले पिट्चन भन्थिन् । भाका त हिजो अस्तिकै थियो अरे, भिनाजुले पिट्ने हुन् कि ! कति दुख्ला मेरी दिदीलाई ! कति रोलिन् !’ मनभरी तर्कना दौडिए । फेरि आँसुले आँखा भरिए ।
तर, हाम्रा पाइला रोकिएका छैनन् । माल्दाइ अघि-अघि म पछि-पछि । लुख्रुक लुख्रुक ।
हिँड्दाहिँड्दै एउटा चउर आयो । माल्दाइले उभिएर तल हेर्नुभयो र भन्नुभयो, ‘ऊ देखिस् कान्छा, तो घडेरी भन्ने गाउँ हो, घडेरीकी फुपै-पुसाजु भन्तेम् नि ! जानिस्, तेइ हो का घर । ऊ जुम्ली बाउन्दाइले बारीका कान्लाँ घाँस काटिच्चन्’, औँलाले इशारा गर्दै भन्नुभयो ।
हिँड्दाहिँड्दै एउटा वरपीपलको चौतारामा पुग्यौँ ।
‘भन्ज्याङ आइम् कान्छा ! अब एकछिन भारी बिसाउन परो । थाकियो,’ माल्दाइले ‘सुइअ...’ गर्दै डोको बिसाउनुभयो चौतारीको अखेटोमा ।
मलाई सम्झना आयो- यो त्यही भन्ज्याङ हो, जहाँ म पहिले पनि आएको थिएँ, बासित भैरवस्थान कुलाइन पूजा गर्न जाँदा अनि आमासित घडेरी ठूली आँकहाँ जाँदा । छेडबाट रुमानी हावा चलिरहेको थियो । हावाले वरपीपलको बुटाका डालाहरू हल्लाइरहेको थियो, मन्द-मन्द स्वाँ..... आवाज आइरहेको थियो । कति शीतल ! चौतारीमाथि बिछ्याइएको छपनीमा टेकेर चारैतिर हेरेँ । पूर्वतिर भैरवस्थानको डाँडो देखियो, जुन डाँडाबाट रातो घाम झुल्किन्थ्यो हाम्रोतिर । पानीकटेरी, रायडाँडा, बिसेबास्नी भने कतै पनि देखिएन । मन खिन्न भयो ।
एकछिन बिसाएपछि माल्दाइले ‘जाम कान्छा धेरै नबसम्’ भन्नुभयो र डोको बोक्नुभयो । त्यहाँबाट पनि दुइटा बाटा छुट्टिन्थे । दायाँतर्फ लागे भैरवस्थान, अमलाचउर, सतिपोखरा अनि देब्रेतर्फ लागे घडेरी, पैयुँपाटा, बलेवाचउर ।
हामी देब्रेपट्टि लाग्यौँ बलेवाचउरतिर । तेर्पाएँतेर्पाएँ ओरालै ओरालो ।
आहा ! त्यस्तो चैत महिनामा पनि कति चिसो हो ? यस्तो निसाम्म ओसिलो ठाउँमा पुस-माघ छेक कति जाडो हुँदो हो भन्ने लाग्यो मलाई ।
एघार-बह्र वर्ष हराएको, आएको केही दिनमै बालाई घाटमा पुर्याएर आएको, त्यसको केही दिनमै आफ्नो गाउँघर छाडेर सधैँका लागि परदेशिन थालेको, धेरै वर्षपछि भारी बोक्नुपरेको भएर होला, माल्दाइ त्यहाँसम्म आउञ्जेल खासै बोल्नुभएको थिएन ।
‘यहाँ त कहिल्यै नि घाम पर्दैनन् । जेठ, असार, साउनमा एकैछिन लाउचन् अरे,’ माल्दाइले भन्नुभयो । भित्तामा भुईं देखियो । टिपेँ । माल्दाइलाई दिएँ र मैले पनि खाएँ । अलिअलि गुलियो, अलिअलि अमिलो । सरर मुखबाट पानी आउने । बाटाको छेउतिर सानासाना फोहोट्यान बारी देखिन्थ्यो । घरमै बुनेको ऊनको खादी लगाएर, घुम ओढेर मगर्नी आमाहरूले फापर गोडिरहेका थिए, आलु खनिरहेका थिए । हाम्रो पनि फलाटेमा फापर र आलु हुन्थ्यो । आमाले कति मीठो फापरको रोटी पकाएर दिनुहुन्थ्यो । लेकको आलु पोलेर खान, उसिनेर खान, तरकारी बनाएर खान कति स्वादिष्ट हुन्थ्यो । आहा ! खाऊँ खाऊँ लाग्यो ।
हाम्रो पानीकटेरी रायडाँडा हाम्रो नजरबाट ओझेल परिसकेको थियो । सुस्तरी कालीगण्डकी पारि पर्वततिरका डाँडाकाँडाहरू- ज्ञादी, फलेबास, कुस्माका फाँटहरू र कार्कीनेटाका पर्वत शृङ्खलाले हामीलाई चियाइरहेका थिए । चिसो भए पनि बाटो ओरालो तेर्पाएँ थियो । सजिलो थियो । सुइँसुइँ हिँड्यौँ ।
एघार-बह्र वर्ष हराएको, आएको केही दिनमै बालाई घाटमा पुर्याएर आएको, त्यसको केही दिनमै आफ्नो गाउँघर छाडेर सधैँका लागि परदेशिन थालेको, धेरै वर्षपछि भारी बोक्नुपरेको भएर होला, माल्दाइ त्यहाँसम्म आउञ्जेल खासै बोल्नुभएको थिएन ।
खासमा माल्दाइ गफ गर्न, हाँसो ठट्टा गर्न, नाँच्न गाउन निकै सिपालु हुनुहुन्थ्यो । माल्दाइका गफ फुर्न थाले । लाहुरतिरका कुरा सुरु गर्नुभयो, 'पहिलोपटक डिलारे साइँल्दाइसित आसाम गएको, त्यहाँ अलपत्र परेको अनि त्यसपछि भौँतारिँदै बम्बई गएको । सुनिस् कान्छा ! बम्बईमा त कत्रा ठूला-ठूला घर हुन्चन् । आकाशै छोलान् जस्ता ! हाम्रो मदानेको पहरोजस्ता घर हुन्चन् का । माथि हेर्दै डर लाउने ! बाटा पुनि कति चाक्ला, चिल्ला, कमिलाको ताँतीझैँ बाटाभरि गाडी !’
माल्दाइले धारावाहिक बखान गर्न थाल्नुभयो लाहुरतिरको । म चुपचाप पछिपछि हिँडिरहेको छु । सुनिरहेको छु । त्यो आसाम भनेको के हो ? बम्बई भनेको के हो ? गाडी भनेको के हो ? मलाई केही पनि थाहा छैन ।
फेरि माल्दाइले फिलिमको कुरा गर्न थाल्नुभयो । ‘फिलिम हेरिच्चस् तैँले !,’ सोध्नुभयो ।
‘फिलिम भनेको के हो र ? कहाँ गएर हेर्ने हो ! हेरेओ छैन ।’
‘बाउलुङ गएर हेरिस् कि भनेर । ओहो ! फिलिम त कति रमाइलो हुन्च । धेरै मुन्छे अटाउने फिलिम हल हुन्च, टिकेट काटेर त्यसैभित्र पसेर हेर्नुपर्च । ठ्याक्कै अगाडि जिउँदो मुन्छे देखेजस्तै भित्तामा मुन्छे देखिन्चन् । मेरो त कमाएको पैसो धेरै फिलिममै खर्च हुन्च का,’ माल्दाइले भन्दै जानुभयो ।
माल्दाइ रोमान्टिक हुँदै फिलिमका नाम भन्न थाल्नुभयो- ‘वर्षात्, कटिपतङ्ग, चोरी-चोरी, प्यासा सावन, चल्तीका नाम गाडी, कागजके फूल, अनाडी, मुगले आजम, एक फूल दो माली, अनारकली, कस्मिरकी कली ......।’
मलाई भने केही पनि थाहा छैन । पहाड-पर्वतका नाम हुन् कि वा खोला-नालाका नाम हुन् कि वा गाउबस्तीका नाम हुन् कि वा गाईवस्तुका नाम हुन् कि वा रूख-बिरुवाका नाम हुन् कि ? सुन्दै हिँड्दै गरेँ । के हो के हो !
‘हिरो-हिरोइन पुनि कस्ता नाम्रानाम्रा हुन्चन् । हिरोइन त झन् अप्सराजस्तै’ भन्दै जानुभयो । हिरोहरूमा दिलीप कुमार, राज कपूर, सम्मी कपूर, शशि कपूर र हिरोइनहरूमा वैजन्तीमाला, मीना कुमारी, शायरा बानो.....। अहिले त झन् एउटा नाम्रो हिरो आइच्च- राजेश खन्ना ! ओहो कस्तो नाम्रो खेल्च फिलिम पुनि । हामी गोर्खालीजस्तै देखिन्च, कसैकसैले तेलाई गोर्खे भनेर खिसी अर्चन् । तेसको फिलिम हलमा लाइच्च भनेपछि म त काम छोडेर जान्चु हेर्न । हाउसफूल । टिकेट पाउनै धो । केटीहरू राजेश खन्ना भनेसी हुरुक्कै । मलाई पुनि कतिले ‘तँ त राजेश खन्नाजस्तो छस्, फिलिम खेल्न जा’ भनेर जिस्काउँचन् । हामी चौकीदारी अर्ने गोर्खालीलाई कुन देशीले पत्याउँच र ! नत्र .... !,’ माल्दाइले तनक्क जिउ तन्काउँदै भन्नुभयो । म वाल्ल परेर सुन्दै हिँडिरहेँ ।
हुन पनि हाम्रा माल्दाइको- अग्लो जिउडाल, कुँदेर बनाएको जस्तो गोरो-चटक्कको अनुहार, खैरो-दाह्री कपाल, कैला आँखा, मेसिनमा बनाएर राखेजस्ता दाँत ।
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९ ०७:००