दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको फैसला अझैसम्म हुन सकेको छैन ।
७ माघ २०७४ मा तस्करी गरेर ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिनेबित्तिकै हराएपछि सनमले सुराकी गरेर सुन लुटिएको भन्दै तस्कर समूहले सनम शाक्यको हत्या गरेका थिए ।
त्यही सुन तस्करी प्रकरणका मुख्य अभियुक्त मानिएका मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ गर्नुबाहेक हराएको ३३ किलो सुनका मालिक को हुन् र सुन कसले गायब गर्यो भन्ने सरकारले अझैसम्म पत्ता लगाउन सकेको छैन । गोरेलाई हाल सुन्धारा कारागारको गोल घरभित्र राखिएको छ ।
त्यस्तै, संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनसमेत गायब भएको छ । प्रतिवेदनमा के लेखिएको छ भन्ने कुरासमेत सार्वजनिक गरिएको छैन ।
गृह मन्त्रालयका अनुसार संगठित सुन तस्करीबारेको प्रतिवेदन समितिले प्रधानमन्त्री कार्यालयलाई बुझाइसकेको छ ।
१६ साउन २०७५ मै समितिले ७ सय ७२ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाएको गृह मन्त्रालयले जनाएको छ । सो सुनबारे अनुसन्धान गर्न १९ चैत २०७४ मा गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वर पौडेलको नेतृत्वमा समिति बनेको थियो ।
समितिले सुरुमा ४५ र पछि थप २५ दिन लगाएर अनुसन्धान गरेको थियो । हाल पौडेल अध्यागमन विभागका प्रमुख छन् ।
पौडेलको नेतृत्वमा गठन भएको टोलीले ७५ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यसमध्ये केही प्रहरी अधिकारी पक्राउ परेका थिए । पक्राउ परी थुनामा रहेका प्रहरी अधिकारीमध्ये अधिकांशलाई भने उच्च अदालत विराटनगरले प्रमाण नपुगेको भन्दै छाड्न आदेश दिइसकेको छ ।
सुन प्रकरणमा केही प्रहरी अधिकारीसमेत जोडिएकाले प्रहरीबाटै सुन प्रकरण गुपचुप बनाइएको आरोप छ ।
न्यायाधीश नै कारबाहीमा
३३ किलो सुन प्रकरणमा अभियुक्तलाई साधारण तारेख र धरौटीमा छाड्ने निर्णय गलत नियतका साथ गरेको भन्दै विराटनगर उच्च अदालतका ६ जना न्यायाधीशमाथि छानबिन भएको थियो । उनीहरुलाई न्यायपरिषदको सचिवालयमा तानेर छानबिन गरिएको हो ।
छानबिनका क्रममा न्यायिक फैसलामा विचलन आएको भन्दै न्यायाधीश उमेशकुमार सिंहलाई बर्खास्त गरिएको थियो भने न्यायाधीश साधुराम सापकोटा र थीरबहादुर कार्कीलाई दुई वर्ष बढुवा रोक्का गर्ने न्यायपरिषदले निर्णय गरेको थियो ।
अन्य न्यायाधीशलाई भने न्यायपरिषदले सफाइ दिएको थियो । सफाइ पाउने न्यायाधीशमा सारंगा सुवेदी, नागेन्द्रलाभ कर्ण र उमेशराज पौडेल छन् ।
उच्च अदालतका ६ जना न्यायाधीशलाई एकैपटक छानबिनका लागि न्यायपरिषद्ले तानेको यो पहिलो घटना हो ।
२९ जनाविरुद्ध आज निर्णय हुने
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा यसअघि अधिकांश आरोपी धरौटी र साधारण तारेखमा छुटेका छन् ।
उनीहरुलाई जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले रिहा गरेको थियो । अन्य २९ जनालाई भने साधारण तारेखमा छोड्न अस्वीकार गरेको थियो । यसपछि उनीहरु रिहाइको माग गर्दै सर्वोच्चसम्म पुगेका थिए ।
उनीहरुको मुद्दामा सर्वोच्चमा दुई सातादेखि बहस सुरु भएको थियो । सर्वोच्चमा निवेदन दिने आरोपितमा केही प्रहरी अधिकारीसमेत छन् । त्यस्तै, गोपालकुमार श्रेष्ठ, तुलाराम थारू, हेमन्त गौतमलगायत २९ जना छन् । उनीहरुको फैसला आज हुने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६ २३:०१