पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांक कलाउने हो भने वाणिज्य बैंकको प्रणालीबाट हरेक साउनमा निक्षेप घटेको छ । यसैगरी, असारको तथ्यांक पछ्याउने हो भने औसतभन्दा चार गुणाले बढेको छ ।
त्यसभन्दा अघिल्ला आर्थिक वर्षमा साउनमा औसतभन्दा कम निक्षेप संकलन हुने भए पनि आर्थिक वर्ष २०७५/७६ देखि भने लगातार घट्दो क्रममा देखिएको छ ।
वाणिज्य बैंकको निक्षेप संकलनको स्थितिलाई हेर्ने हो भने साउनमा अत्यन्तै घट्ने गरेको देखिएको छ । त्यस्तै, कात्तिक, माघ र वैशाखमा पनि बैंकिङ प्रणालीमा औसतभन्दा निकै न्यून रकम संकलन भएको छ ।
यस्तो छ पाँच आर्थिक वर्षको ट्रेन्ड

साउनमा घट्छ, असारमा बढ्छ
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैंकको प्रणालीबाट मात्रै १ खर्ब ३८ अर्ब रुपैयाँको निक्षेप घटेको छ ।
यदि गत आर्थिक वर्षभर बढेको निक्षेपसँग तुलना गर्ने हो भने साउनमा घटेको हिस्सा मात्रै ४० प्रतिशत छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ प्रणालीमा ३ खर्ब ४० अर्ब निक्षेप बढेको छ । तर चालू वर्षको पहिलो महिना अर्थात् साउनमा नै १ खर्ब ३८ अर्ब घटेको छ ।
आर्थिक वर्ष २०७५/७६ यता क्रमश: साउन महिनामा १५ अर्ब, २३ अर्ब, ८ अर्ब, ७८ अर्ब र १३४ अर्ब रुपैयाँ निक्षेप घटेको छ । त्यस्तै, असार महिनामा हेर्ने हो भने १ खर्ब १९ अर्ब, २ खर्ब ११ अर्ब, २ खर्ब १० अर्ब र १ खर्ब ४१ अर्ब रुपैयाँ बढेको छ ।
गत आर्थिक वर्षको मात्रै हिसाब गर्ने हो भने वर्षभरमा औसत हिसाबले मासिक २८ अर्ब रुपैयाँ निक्षेप उठेको देखिन्छ । तर, औसतको तुलनामा असारमा भने ५ गुणा बढी अर्थात् १ खर्ब ४१ अर्ब रुपैयाँ उठेको छ।
आर्थिक वर्ष २०७७/७८ मा महिनागत औसत ५९ अर्ब रुपैयाँ निक्षेप उठेकोमा असारमा करिब चार गुणा बढी अर्थात् २ खर्ब १० अर्ब निक्षेप संकलन भएको थियो ।
साउनमा संकलन घटबढ भएको निक्षेप र कर्जा

किन घट्छ साउन निक्षेप ?
पछिल्लो पाँच वर्षको हिसाब निकाल्ने हो भने साउनमा मात्रै २ खर्ब ६२ अर्ब निक्षेप बैंकिङ प्रणालीबाट बाहिरिएको छ । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली असार र साउनमा निक्षेप घट्नुको मुख्य कारण सरकारको खर्च तथा भुक्तानी प्रणाली नै भएको बताउँछन् ।
'असार अन्तिममा सरकारले ठूलो रकम भुक्तानी गरेपछि बैंकमा निक्षेप बढ्छ, साउनमा त्यसको प्रयोग गर्न थालिन्छ र बैंकबाट पैसा निकालेसँगै निक्षेप घट्छ,' ज्ञवालीले भने ।
तर, यसका अन्य कारण पनि देख्छन् पूर्वबैंकर भुवनकुमार दाहाल । यसको प्रमुख कारण ब्रान्च म्यानेजरको बाध्यता पनि हो ।
'ब्रान्च म्यानेजरहरूको असारमा कार्यसम्पादन मूल्याङ्कन हेरिन्छ । उहाँहरूको आग्रह ठूला कारोबारीलाई असारमा पैसा थप्न र भएको नझिक्न हुन्छ, यसले असारमा अस्वाभाविक निक्षेप बढ्छ र साउन लागेलगत्तै घट्न जान्छ,' उनले भने ।
यसलाई रोक्नका लागि ३६५ दिनकै वेटज एभरेज हेरेर कार्यसम्पादन मूल्याङ्कन गरिनुपर्ने तर्क उनको छ । कतिपय बैंकले भने यस्तो व्यवस्था गरेका छन् ।
यति मात्रै होइन, राष्ट्र बैंक स्रोतका अनुसार गत आर्थिक वर्षमा केही बैंकहरूले नक्कली निक्षेप पनि देखाएका थिए । यसको अर्थ एक बैंक अर्कोमा र अर्कोले फेरि अर्को बैंकमा निक्षेप राखेर बढाएका थिए । त्यसको प्रभाव साउनमा देखिएको हो ।
यस आर्थिक वर्षमा भने साउनमा निक्षेप घट्नुको अर्को कारण भने नेपाल आयाल निगमको भुक्तानी हो । आयल निगमका लागि सरकारले गर्नुपर्ने सोधभर्ना असार अन्तिम साता मात्रै गरेको र त्यस्तो रकम बैंकमा निक्षेपका रूपमा जम्मा भएकोमा साउन लागेसँगै इन्डियन आयल कर्पोरेसनलाई बुझाएले बैंकिङ प्रणालीमा निक्षेप ह्वात्तै घटेको देखिएको बैंकरहरूले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १६:००