‘पाँच वर्षअघि छुटेका अनुहार अब उस्तै रहेनछन्,’ यतिका वर्षपछि काठमाडौंमा भेटिएका लक्ष्मी, क्षितिज र उमेशलाई देखेर सुजित बिडारी सोचमग्न भए । ‘तँ बाङ्गेको अनुहार अर्कै भएछ । स्वर पनि अर्कै । मान्छे पनि अर्कै । अरे ठूलो भइछस् भाइ ,’ उनले उमेशलाई जिस्क्याउँदै भने ।
सुजित मात्र हैन, यी तीन अनुहार जो एकअर्कालाई पहिलोपटक भेटेजसरी दङ्ग थिए । संखुवासभाबाट काठमाडौं विमानस्थलमा ओर्लिएपछि एकअर्काको मिलन यस्तो थियो, छुट्टिएको परिवार फेरि अचानक जोडिएको छ । ‘क्षितिज हेर्नु त । कति अग्लो भएको । ऊ त पूरै चेन्ज,’ लक्ष्मीले क्षितिजतर्फ औँलाले देखाउँदै भनिन् ।
लक्ष्मीको आवाज भने उस्तै छ, पाँच वर्षअघिकैजस्तो । अनुहारमा पनि खासै परिवर्तन त छैन । ‘उतिबेला यो चौध वर्षकी थिई । ९ कक्षामा पढ्थी । अहिले प्स टु सकेर झापामा पढाउन थालेकी रहिछ,’ सुजित भन्दै थिए, ‘अँ फिल्ममा ऊ जुन स्कुल पढ्न जान्थी, अहिले त त्यो स्कुलमा पढाउँदी रै'छ ।
लक्ष्मी चिमौरिया, क्षितिज लिम्बू र उमेश श्रेष्ठ यतिबेला काठमाडौं आएका छन् । निभिसकेको आशा पुनः बलेपछि उनीहरूमा उत्सुकता र खुसी भरिएको छ । पाँच वर्षअघि संखुवासभाको खाँदबारीमा सुटिङ भएको फिल्म ‘ऐना झ्यालको पुतली’का मुख्य पात्र हुन् उनीहरू । चार महिनासम्म घर र स्कुलको आँगन नै नटेकेकी उनीहरूले फिल्मको सुटिङ गरेका थिए । न दिन, न रात, न घाम, न पानी ।
फिल्ममा त्यो दुर्लभ जोस निकालेर खटेका थिए । काठमाडौंमा उनीहरूले दुई जनालाई सम्झिरहेका छन् । फिल्मको प्रमुख पात्र दिनेश खत्री र मितिनी पात्र विशा राई । ‘उनीहरूको परीक्षा चलिरहेको छ । आउन पाएनन्,’ कास्टिङ डाइरेक्टर केदार श्रेष्ठ भन्छन् ।
क्षितिज र उमेश पहिलोपटक काठमाडौं आएका । आएको दुई दिनपछि जु पनि घुम्न गए । पहिलोपटक आँखाअगाडि टाटेबाघ देख्दा उमेश त दङ्ग परे ।
छुटेका दुई पात्रलाई लक्ष्मी सम्झिरहेकी छन् । ‘मितिनीसँग म कति रोएको थिएँ छुट्नेबेलामा । भेट हुन्छ ठानेको थिएँ, भएन । भाइ वसन्त (दिनेश) सबैभन्दा सानो थियो । ठण्डीको बेला दिनभरि कता डुल्थ्यो । साँझ सुत्ने बेलामा मेरो ओढ्नेभित्र आएर घुस्रन्थ्यो । उसको कति न्यास्रो लागेको छ,’ लक्ष्मी सम्झन्छिन् ।
उमेश सुटिङको बेला कक्षा पाँच ५ मा पढ्थे । अहिले कक्षा १० मा पढ्दैछन् । ‘त्यतिबेला ऊ धेरै मिहिनेती । चिसो जाडोमा बिहान ५ बजे उठेर घरछेउको मन्दिर सफा गरेर, काम सकेर हाम्रो वर्कसपमा आउँथ्यो,’ केदार सम्झन्छन् ।
क्षितिज कक्षा ७ मा पढ्थे । अति चकचके, झगडालु, रिसालुु थिए उनी । अहिले कक्षा १२ मा इन्जिनियरिङ पढ्दैछन् । ती झगडालु क्षितिज अहिले शान्त स्वभावका भएका छन् ।
फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ गतेबाट प्रदर्शनमा जाँदैछ । एक्कासि आशा मारिसकेको फिल्म हलमा लाग्दैछ भन्ने कुरा सुनेपछि उनीहरूमा खुसीको सीमा थिएन । लक्ष्मी सुटिङ सकेर बिताएका लामा दिन सम्झन्छिन् । सबैले सोध्थे, ‘तेरो फिल्म कहिले आउँछ ?’ सुरुसुरुमा त जवाफ थियो, ‘छिट्टै ।’
तर, त्यो छिट्टै कहिल्यै आएन । जवाफ त दिनु नै थियो । उनले निर्देशक सुजित र केदारलाई कल गरेर सोध्थिन्, ‘कहिले आउँछ सर फिल्म ।’ उनीहरू भन्थे, ‘अर्को वर्ष ।’ त्यो अर्को वर्ष पनि कहिल्यै आएन ।
एकपल्ट गाउँमा फिल्मको पोस्टर टाँसियो । लक्ष्मी खुसीले गद्गद् भइन्, ‘अब त आउँछ ।’ तर, त्यसपछि पनि आएन । अनि त लक्ष्मी फिल्मको कुरा सोध्यो कि दिक्क मान्थिन् । २०७७ मा एसईई पास गरेपछि प्लस टु पढ्न लक्ष्मी काठमाडौं आइन् । त्यतिबेला सोचिन्, ‘अब त सरहरूसँग भेट हुन्छ । फिल्मबारे सोध्छु ।’ तर, उनको कसैसँग भेट भएन ।
एक दिन नेपाल यातायात चढ्दै गर्दा फिल्म युनिटका दुुई जनासँग भेट भयो । त्यतिबेला छक्क परेकी थिइन् उनी । ‘फिल्म कहिले आउँछ उहाँहरूलाई सोधेँ, अब आउँछ भन्नुभयो,’ उनी सम्झन्छिन् ।

क्षितिजलाई त सुटिङ सकेर फर्किएपछि स्कुलमा ‘भिलेन’ भन्न थाले । उनको पात्र फिल्ममा एन्टागोनिस्ट छ । ‘अनि कहिले आउँछ फिल्म ?,’ क्षितिजसँग जवाफ थिएन । कति साथीले खिसी टिउरी गर्दा कुटाकुट पनि गरे । उमेशले त फिल्म खेलेको भन्न पनि छाडिसकेका थिए । ‘खेलेको छु भन्दा कसैले नपत्याउने । तैँले फिल्म खेलेको रे भन्दै जिस्क्याउने साथीहरू । अनि भन्नै छाडेँ,’ उमेश भन्छन् ।
उनीहरूले काठमाडौं आएपछि मात्र थाहा पाए, आफूूहरूले खेलेको फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल बुसानको न्यु करेन्ट सेक्सनमा छनोट भएको । जुन त्यसरी छानिने नेपालको पहिलो फिल्म हो ।
बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिबलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको र अन्य थुप्रै महोत्सवमा छनोट भएको । यहीँ आएर यसको महत्त्व पनि बुझे उनीहरूले । आफूले खेलेको फिल्म आफैँले हेरे पनि । कतै रोऊँरोऊँ लाग्ने, कतै हाँसूँहाँसूँ लाग्ने भयो उनीहरूलाई ।
अब त घर जाँदा सबैलाई सुनाउने थुप्रै कुरा छन् उनीहरूसँग । लक्ष्मी, उमेश र क्षितिजसँग फिल्म कहिले आउँछ भन्ने पनि जवाफ छ ।
०००
काठमाडौंमा भेटिएछि धमिला यादहरू सङ्लिन थाल्छन् । उनीहरू ती क्षण कोट्याउन थाल्छन् । सुजित, केदार र आकाश ती पात्रहरू खोजेर भेटिएका क्षण सम्झन थाल्छन् ।
केदार ०७४ मा दसैँअघि फिल्म सुटिङका लागि एक्टरको खोजीमा निस्किए । आमा पात्र सिरु विष्टबाहेक सबै ननएक्टर चाहिन्थ्यो । त्यसमाथि मुख्य पात्र नै बालबालिका । निर्देशक सुजितले बताएको पात्रको इमेज र स्केच लिएर उनी बाल कलाकारको खोजीमा निस्किए । संखुवासभाका निकै स्कुलमा पुगे पनि इमेजअनुसारका पात्र भेटिएनन् । खाँदबारीमा रेडियोबाट अडिसनका लागि आह्वान गरे ।
खाँदबारीकै डान्स स्टुडियोमा पहिलो अडिसन सकियो । अडिसनमा त ४ सय जनाको लाइन । त्यो अडिसनबाट मितिनी पात्र विशा राई छनोट भइन् । करिबकरिब अडिसन सकिएपछि ४ बजे एउटी किशोरी लजाउँदै उनीहरूको अघि देखा परिन् । ‘अडिसन सकिएको हो,’ अप्ठेरो मान्दै बोलिन् । ती किशोरी देख्नेबित्तिकै केदारले आफूले बनाएको स्केच हेरे, ‘फिल्मको दिदी क्यारेक्टरमा मिल्दोजुल्दो छ ।’

उनी स्कुल पढ्दै गरेकी लक्ष्मी थिइन् । केदारले फोटो खिचे, नाम टिपे । अनि पुनः भेट्ने वाचासहित फर्काए ।
खराङमा एउटा उच्च माध्यमिक विद्यालय थियो । कलाकार खोज्दै हिँडेका केदार र आकाश मगरको आँखा स्कुलबाहिरको एउटा बालकमा गएर अडियो, ‘यो केटा मिलन क्यारेक्टरका लागि हुन सक्छ । वाच गरौँ ।’ दुई जना अपरिचित मान्छेले आफूलाई एकनाश हेरिरहँदा क्षितिज झस्किए, ‘मलाई यसरी किन हेरिरहेको होला ?’
ती अपरिचित मान्छेले भने, ‘भाइ फोटो खिच्न लाज लाग्छ ?’
क्षितिजले भने, ‘लाग्दैन ।’
त्यसपछि उनीहरूले क्षितिजको फोटो खिचे, घर सोधे । निबन्ध प्रतियोगितामा भाग लिन आएका उनी कार्यक्रम सकेर घर गए ।

एक दिन उनी बारीबाट घरतिर जाँदै गए, हातमा गुलेली थियो । घरमा आफ्नो फोटो खिच्ने दुई जनालाई देखेपछि अनौठो माने । ‘त्यो बेला क्षितिजले गुलेली बोक्दै आएको थियो, स्क्रिप्टमा पनि क्षितिजको पात्रले गुलेली बोकेको हुुन्थ्यो । दुरुस्तै मिल्यो,’ केदार सम्झन्छन् ।
क्षितिजले थाहा पाए, ती अपरिचितहरू आफूलाई फिल्म खेलाउन आएका रहेछन् । उनी फुरुङ्ग भए, तर बाले स्कुल बिग्रन्छ भन्दै मानेनन् । पछि मामा राजकुुमार राईले सम्झाएपछि मात्र बा राजी भए ।
क्षितिजले वर्कसपको बेला साह्रै सताएका छन् केदार र आकाशलाई । वर्कसपको अन्तिम दिन क्यारेक्टर फिक्स भयो । त्यही दिन क्षितिजले आफूूलाई न्यास्रो लागेको छ भन्दै घर जान आग्रह गरे । उनी घर गए, भोलिपल्ट आएनन् । उनी नआउने सोचसहित घर गएका रहेछन् । ‘उसको क्यारेक्टर एन्टागोनिस्ट थियो । उसले घर गएर रुँदै भनेछ- म गुन्डामा खेल्दिनँ । भोलिपल्ट मामालाई सम्झाउन लगाएर ल्यायौँ,’ केदार सम्झन्छन् ।
क्षितिजले हेर्ने फिल्महरूमा खलपात्र खराब र कमजोर हुन्थ्यो । सधैँ ‘हिरो’को कुटाइ खान्थ्यो । उनी त्यो पात्र बन्न चाहँदैनथे । ‘पछि सरहरूले सम्झाएपछि चाहिँ बुझेँ,’ उनी भन्छन् ।
केदार बाङ्गे क्यारेक्टरको खोजीमा थिए । एक दिन एक जना बाजेले भने, ‘हाम्रो पनि एउटा भतिज छ । तपाईंहरूलाई काम लाग्न सक्छ, पठाइदिऊँ ?’ ‘हेरौँ न त’ भन्दै केदारले पठाउनू भने । भोलिपल्ट एउटा बालक टाढाबाट आफूहरूलाई हेरिबसेको छ । नजिक आउन सकिरहेको छैन । बिस्तारै नजिक आउँदा अनुहार प्रस्टिँदै आयो । ‘हामीले खोजेको बाङ्गे क्यारेक्टरको इमेज त मिल्यो,’ केदारले निर्क्योल गरे । त्यसपछि उमेशको फोटो खिचेर वर्कसपमा बोलाए ।

वसन्त क्यारेक्टरका लागि दिनेश खत्रीको अनुहार सुजितको बाल्यकालको फोटोसँग मिल्थ्यो । सुजितले केदारलाई भनेका थिए, ‘मलाई यो फोटोमा देखिनेजस्तो बालक भाइ पात्रमा चाहियो ।’
एक दिन केदारले उस्तै अनुहार देखिने बालकलाई एउटा स्कुलमा भेटे । तुरुन्तै सुजितलाई पठाए । फोटो त मिल्दो छ । त्यसपछि सोधखोज गर्दै दिनेशको घर गए उनीहरू । ‘त्यतिबेला नयाँ मान्छे गयो भने बच्चाहरूको किड्नी बेच्छ भन्ने हल्ला रहेछ । स्थानीयहरू एकमुख थिए । धन्न, त्यहाँ काठमाडौंको स्कुलमा पढाउने स्थानीय रहेछन् । उनले सहजीकरण गरिदिए,’ सुजित सम्झन्छन् ।
तीनमहिने वर्कसपमा उनीहरू स्कुल जान पाएनन् । तर, साँझ र बिहान केदारले नै उनीहरूलाई स्कुुलको कोर्स पढाउँथे । लक्ष्मीलाई सबैले भन्थे, ‘अब तेरो पढाइ त बिग्रियो ।’ जसले जे भनून्, तर उनलाई पढाइको वास्ता थिएन । फिल्मले तानिरहेको थियो ।
उमेश त उसै शिक्षकहरूको मूल्याङ्कनमा कमजोर दरिन्थे । ‘तँ फेल हुुन्छस् । यो पालि कक्षा दोहोर्याउनुपर्छ,’ सरहरू भन्थे ।
क्षितिज सधैँ पहिलो हुुन्थे परीक्षामा । लामो समय स्कुुल छुटाएपछि उनलाई पनि भन्थे, ‘तेरो एक्जाम बिग्रन्छ यो पालि ।’
तर, न लक्ष्मी र उमेश फेल भए, न क्षितिजले पढाइ बिगार्नुपर्यो । नपढी जाँदा पनि क्षितिज परीक्षामा दोस्रो भएछन् । त्यसपछि रिजल्ट लिएर उनी सरहरूको कक्षामा गएछन् । अनि निहुँ खोज्दै भनेछन्, ‘सर, तपाईंले मलाई के ठान्नुुभएको ? लास्ट आउँछु भनेको होइन ? यी दोस्रो आएँ त ।’
०००
सुटिङका बेलाका रमाइला स्मृतिहरू छन् उनीहरूसँग । सबै क्यारेक्टर तयार हुँदा पनि बाङ्गे तयार थिएनन् । उनी हाँसेको हाँस्यै गर्ने । केदार तनाविलो देखिए । एक दिन एउटा उपाय लगाए । ‘के उपचार गर्यौँ आजसम्म कसैलाई थाहा छैन । लागेको थियो भोलिबाट उमेश अब आउँदैन । तर, सबैभन्दा सुरुमा सुटिङमा ऊ नै आइपुग्यो,’ केदार सुनाउँछन् ।
वर्कसपमा उमेशको कट्टुु खोल्नुपर्ने स्क्रिप्ट थियो । क्षितिजले कट्टु खोलिदिए । साथीहरूको अगाडि लाजले गर्दा उनलाई रुन आयो । तर, सुटिङको दिन भने उमेश रोएनन् ।
एउटा सिनमा मिलनले बाङ्गेलाई गालामा झापड हान्नुपर्ने थियो । २० टेक भइसक्यो, क्षितिजले आफ्नो साथीको मायालाग्दो गालामा त्यसरी हान्न सकेनन् । ‘आफ्नो साथीलाई कसरी कुुट्ने ? त्यो पनि बेस्करी । मैले बिस्तारी छोएँ मात्र । पछि बल्लतल्ल हान्नुपर्यो । त्यो दिनभरि उमेशको अनुहार निन्याउरो थियो,’ क्षितिज सम्झन्छन् ।
वसन्त र बाङ्गेले एउटा सिनमा १३ टेक खाए । तर पनि ओके भएन । केदारले भने, ‘अब तिमीहरूले गर्दैनौ सुटिङ, रोकौँ ।’ सुटिङ रोकियो । ‘तर, खाना खाने बेला भएर रोकेका थियौँ । यो कुरा उनीहरूलाई भनिनँ । साँच्चै रोकियो भनेपछि उनी चिन्तित देखिए,’ केदार सुनाउँछन् । १४औँ टेकमा भने उनीहरूले निकै राम्रो गरे ।
सुटिङको बेला सुजितले गरेको गाली लक्ष्मी अझै पनि सम्झिरहन्छिन् । ‘आमाको कुटाइ खाने सिनमा म हाँसेकै थिइनँ । सुजित सरले किन हाँसेको भनेर चित्त दुुख्नेगरी गाली गर्नुभयो । अनि रुन आएछ मलाई । त्यो रोएको टेक नै फाइनल भएछ,’ सुनाउँदै गर्दा लक्ष्मी सुजिततर्फ हेर्दै भन्छिन्, ‘त्यतिबेला किन गाली गर्नुभएको ? अहिलेसम्म नि चित्त दुखेको छ ।’
दिनरात नभनी उनीहरू सुटिङमा खटिए । रातभर जागा बस्दा आँखा अनिदो हुन्थ्यो । तर पनि त्यो क्षण फेरि कहिले आउनु फर्केर ? सुटिङ गर्दागर्दै छुट्टै संसार बनिसकेको थियो । जुन संसारबाट बाहिर जानै नपरोस्जस्तो । एक दिन सुटिङ सकेर सबै छुट्नुुपर्ने दिन आयो । एकअर्कामा रुवाबासी चल्यो । सबैको आँखा भरिएर धमिलो भयो ।
‘जाने बेलामा गीत गाएर रुवाएर पठाउनुभयो । आधी बाटोसम्म रोएँ,’ लक्ष्मी सम्झन्छिन्, ‘कति दिनसम्म ती कुराहरू याद आए ।’
लक्ष्मीको अहिले नर्सिङ गर्ने सपना छ । त्यही सपनाको पछि पाइला चाल्दै थिइन् । एक दिन अचानक काठमाडौंबाट फोन आयो, ‘अब फिल्म रिलिज हुँदैछ । काठमाडौं आउनुपर्यो ।’
काठमाडौं आउँदा त पुराना दिनहरू आँखाअगाडि नाचे । फिल्मको ट्रेलरले आफूलाई त धेरैमाझ चिनिने बनाइसकेछ । गुमनाम भएर बसेकी लक्ष्मी चकित भइन् । उमेश र क्षितिजलाई साथीभाइले फोन र म्यासेजबाट बधाई दिइरहेका छन् । नचिनेका मान्छेहरूको फ्रेन्ड रिक्वेस्ट धमाधम आइरहेको छ ।
उनीहरू छिट्टै घर फर्कंदैछन् । अहिले साथीभाइले भनिसके, ‘सेलेब्रिटी भयौ । अटोग्राफ देऊ है !’
तर, उनीहरूलाई बन्नु छैन सेलेब्रिटी । दिनु छैन साथीभाइलाई अटोग्राफ । ‘साथीहरूले त्यसो भन्दा चाहिँ चित्त दुख्दो रहेछ है,’ क्षितिज भावुक देखिँदै भन्छन् । उनको कुरामा सही थप्दै उमेश र लक्ष्मी टाउको हल्लाउँदै भन्छन्, ‘त्यही त है !’
तस्वीरहरूः सुशील श्रेष्ठ/शिलापत्र
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १७:१२