सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाका सम्भावित उम्मेदवारको दौडधुप र चर्चा सुरु भएको छ । यद्यपि, सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुंगो भने लागिसकेको छैन । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध छन् । राप्रपा, लोसपा, जसपाबाट छुट्टिएका बाबुराम भट्टराईको पार्टी र वामदेव गौतम नेतृत्वको दललाई पनि गठबन्धनमा सहभागी गराउने प्रयास पनि भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ सिट छ । जसमध्ये डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको नाम अग्र पङ्क्तिमा छ ।
डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले र कांग्रेसका वीरबहादुर बलायर, अछामबाट एमालेका भीमबहादुर रावल, कञ्चनपुरबाट कांग्रेसका रमेश लेखक, एनपी साउद र माओवादी केन्द्रबाट विना मगरको नाम चर्चामा छ । यसैगरी, कैलालीबाट प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा, एमालेका लेखराज भट्टलगायत नेताको चर्चा छ ।
जनाधार कसको कमजोर, कसको बलियो ?
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको सांसदका लागि सबैभन्दा बलिया नेता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । प्रतिनिधिसभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका देउवा यसपालि पनि त्यहीँबाट चुनाव लड्ने निश्चित छ । देउवाले अहिलेसम्म संसदीय निर्वाचनमा हार्नुपरेको छैन ।
पछिल्लो समय उनलाई नेकपा माओवादी केन्द्रका खगराज भट्टले टक्कर दिँदै आएका छन् । तर, उनलाई हराउन भने सकेका छैनन् । २०६४ को निर्वाचनमा देउवसँग भट्ट झिनो मतान्तरले पराजित भएका थिए । यो चुनावमा पाँचदलीय गठबन्धन कायम रहे देउवाको प्रतिस्पर्धा एमालेसँग हुनेछ ।
यस्तै, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट एनपी साउदको चर्चा छ । २०६४ सालदेखि क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका साउद अहिलेसम्म एकपटक मात्रै विजयी भएका छन् ।
०७४ को निर्वाचनमा एमालेका नरबहादुर धामीसँग उनी पराजित भएका थिए । उनी २०७० मा निर्वाचित भएका थिए । २०६४ मा पनि साउद पराजित भएका थिए । साउद केन्द्रीय राजनीतिका प्रभावशाली नेता हुन् । साउदको निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका पर्छन् ।
स्थानीय चुनावमा बेदकोट र कृष्णपुर नगरपालिकाको मेयर/उपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो । शुक्लाफाँटा नगरपालिकाको उपमेयरमा पनि कांग्रेस विजयी भएको छ । यस्तै, कञ्चनपुर क्षेत्र नम्बर–३ बाट रमेश लेखकको सम्भावना बलियो छ । २०५६ देखि क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका लेखकले ०५६ र ०७० मा चुनाव जितेका थिए ।
०७४ को चुनावमा भने उनी नेकपा एमालेका नेता दीपकप्रकाश भट्टसँग पराजित भए । ०६४ को चुनावमा लेखकले शेरबहादुर देउवाका लागि सिट छोडेका थिए । स्थानीय तहको चुनावमा लेखकको भीमदत्त नगरपालिकाको मेयरमा कांग्रेस पदमा बोगटी निर्वाचित भएका थिए ।
कञ्चनपुर क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी विना मगरको चर्चा छ । २०७४ मा निर्वाचित मगर यसपालि पनि क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने चर्चा छ । अहिले उद्योगमन्त्री रहेका दिलेन्द्र बडू दार्चुलाबाट चुनाव लड्ने चर्चा छ । २०७४ को चुनावमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद भएका बडू योपटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।
०७४ को चुनावमा कांग्रेसका विक्रम धामी उम्मेदवार बनेका थिए । उनलाई एमालेका नेता गणेशसिंह ठगुन्नाले पराजित गरेका थिए । स्थानीय तहको चुनावी परिणामलाई हेर्ने हो भने बडूलाई जित्न त्यति सहज छैन । स्थानीय चुनावमा नौवटा पालिका रहेको दार्चुलामा कांग्रेस शून्य छ । दुई नगरपालिकासहित ५ पालिका एमाले र ४ पालिका माओवादी केन्द्रले जितेका छन् ।
डोटीबाट नेकपा एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्ने तयारीमा छन् । २०७४ को चुनाव कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गरेका आलेले योपटक पनि टिकटका लागि लविङ गरिरहेका छन् । तर, सिट बाँडफाँट गर्दा कांग्रेस र एकीकृत समाजवादी कसले पाउने हो, त्यो भने टुंगो लागेको छैन ।
अघिल्लोपटक एमालेबाट आलेले चुनाव जितेकाले बलायरका लागि कांग्रेसले नै डोटी लिनुपर्ने हुन्छ । तर, एकीकृत समाजवादीले त्यति सजिलै डोटी कांग्रेसलाई दिन तयार छैन । स्थानीय तहको चुनावी परिणाम केलाउने हो भने डोटीमा कांग्रेस हाबी देखिन्छ ।
दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । एमाले र माओवादी केन्द्रले एक-एक गाउँपालिका जितेका छन् । डोटीमा एकीकृत समाजवादीले कुनै पनि पालिकामा जित हासिल गर्न सकेको छैन । कैलाली क्षेत्र नम्बर–४ बाट २०७४ मा निर्वाचित लेखराज भट्टलाई यो पालिको चुनाव जित्न कठिन छ ।
०७४ मा माओवादी केन्द्रबाट जित हासिल गरेका भट्ट अहिले एमालेमा छन् । अघिल्लो चुनावमा भट्टले कांग्रेसका सुनिल भण्डारीलाई पराजित गरेका थिए । स्थानीय चुनावमा भट्टको गोदावरी नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको थियो ।
०६४ सालदेखि नै कैलाली-४ बाट चुनाव जित्दै आएका भट्टलाई योपटक भने जित्न सहज छैन । अछाम क्षेत्र नम्बर–१ बाट निर्वाचित एमाले नेता भीमबहादुर रावल योपटक पनि चुनाव लड्ने तयारीमा छन् । तर, उनलाई योपटक जित्न सहज छैन ।
निर्वाचन क्षेत्र एकमा चारवटा गाउँपालिका र एक नगरपालिका छन् । जसमध्ये स्थानीय तहको चुनावमा साँफेबगर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । चार गाउँपालिकामध्ये तीनवटा पालिकाको अध्यक्षमा समेत कांग्रेसले जित हात पारेको छ । २०७४ को चुनावमा रावलले कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गरेका थिए । योपटक कांग्रेससहितको पाँचदलीय गठबन्धन हुँदा रावललाई चुनाव जित्न कठिन हुने देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ १८:१२