बुकर पुरस्कार विजेता, लेखक सलमान रुश्दीलाई अमेरिकामा २४ वर्षे हादी मतार नामका एक व्यक्तिले चक्कु प्रहार गरी गम्भीर घाइते बनाए । अहिले भेन्टिलेटरमा उनकाे उपचार भइरहेको छ । बाेल्न नसक्ने अवस्थामा रहेका लेखककाे एउटा आँखा गुम्ने आशंका छ । उनको कुममा पनि ठूलो चोट छ भने चक्कु आक्रमणको चोट कलेजोसम्मै परेको बताइएको छ ।
यो घटनालाई एफबीआईले समेत हेरिरहेको छ । घटनास्थलबाट प्रहरीले एक ब्याग र केही विद्युतीय सामान फेला पारेकाे छ । केही रिपोर्टको दाबीअनुसार आक्रमणबारी मतार इरानका समर्थक हुन् । उनको फेसबुक अकाउण्टमा समेत इरानका सर्वोच्च नेता भइसकेका अयातोल्ला खोमैनी र अहिलेका सर्वोच्च नेता अयातोल्ला खमेनेईको तस्वीर छ । सन् १९८९ मा खोमनीले रुश्दीको किताब ‘द स्याटेनिक वर्सेस’ को निन्दा गर्दै लेखकविरुद्ध फतवा जारी गरेका थिए ।
अमेरिकी मिडिया समूह एनबीसीका अनुसार हादी मतारले इरान र त्यहाँका सर्वोच्च नेताको निजी सेना-रेभोल्युसनरी गार्ड्सको समर्थनमा समेत कैयौं पोस्ट गरेका छन् । उनले शिया कट्टरपन्थीलाई समेत बढावा दिनुपर्नेमा जोड दिएका छन् । यही रिपोर्टमा लेखिएअनुसार, कार्यक्रममा मतार कालो कपडा र कालो मास्क लगाएर पुगेका थिए । प्रत्यक्षदर्शीले मिडियालाई बताएअनुसार, आक्रमणकारी स्टेजमा चढ्दा सबैले ऊ कुनै स्टण्ट गर्न गइरहेको ठानेका थिए । तर २० सेकेण्डमै उनको उद्देश्य आक्रमण गर्नु हो भन्ने कुरा खुलेको थियो ।
यो घटनाका क्रममा कार्यक्रम सञ्चालन गरिरहेका हेनरी रीजको टाउकोमा चोट लागेको छ । आक्रमणकारीले रीजमाथि समेत चक्कु हानेका थिए । कार्यक्रममा अलग-अलग देशबाट निकालिएका कलाकार र शरणको विषयमा कुराकानी भइरहेको थियो ।
रुश्दीलाई यसअघि पनि बारम्बार ज्यान मार्ने धम्की आउने गरेको थियो । आखिर यी लेखकको ज्यान कसले, किन लिन खोजिरहेको छ ?
रुश्दी भारतको मुम्बईमा १९ जुन १९४७ मा मुस्लिम परिवारमा जन्मेका थिए । तर, उनी आफूलाई नास्तिक मान्छन् । रुश्दी १९८१ को उपन्यास ‘मिडनाइट्स चिल्ड्रन’का कारण चर्चामा आएका थिए । किताबले त्यही वर्ष संसारकै प्रतिष्ठित साहित्यिक पुरस्कार ‘बुकर प्राइज’ जितेको थियो । यो किताबलाई बुकर पुरस्कार जित्नेमा दुईपल्ट (१९९३ र २००८ मा) संसारको सर्वश्रेष्ठ उपन्यासका रूपमा चुनिएको थियो ।
अनि भड्किए मुस्लिम देश
रुश्दी आफ्नो पुस्तक ‘द स्याटेनिक वर्सेज’ कारण संसारभर चर्चित बने । किताबमा प्यागेम्बर मुहम्मदबारे अपमानजनक कुरा लेखिएको मुसलमानहरूकाे आक्राेश छ । किताब सन् १९८८ मा प्रकाशित भएको थियो । प्रकाशत भएलगत्तै इस्लामिक देशमा यसले भूकम्प ल्याइदियाे । केही मुसलमानले यसलाई ‘ईशनिन्दा’ भने । इरान, भारतसहित केही देशमा यो पुस्तकमाथि प्रतिबन्ध लगाइयो । रुश्दीको यो किताब इरानमा सन् १९८८ देखि नै प्रतिबन्धित छ ।

इरानका पट्टरपन्थीहरुले उनलाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । इस्लाम धर्म मान्ने धेरै मानिसहरू किताबमा ईशनिन्दा गरिएको ठान्छन् । इरानका तत्कालीन नेता अयातुल्लाह रोहल्ला खुमैनीले रुश्दीको मृत्युको फतवा जारी गरेका थिए । उनको हत्या गर्नेलाई ३० लाख डलरभन्दा धेरै इनाम दिने घोषणा गरिएको थियो । यद्यपि, इरान सरकारले त्यो फतवालाई आफूभन्दा टाढै राखेको छ । तैपनि रुश्दीविरुद्ध उग्र भावना भने अहिले पनि छ । उनको विवादास्पद किताब भारतमा समेत प्रतिबन्धित छ । रुश्दी अंग्रेजीमा लेख्छन् । उनी लण्डनमा बस्छन् ।
द गार्जियनका अनुसार, इरानमा एक अर्ध-सरकारी धार्मिक संगठन ‘१५ खोरदाद फाउण्डेसन’ले रुश्दीको हत्याका लागि सुरुवाती इनाम २.८ मिलियन डलरलाई बढाएर ३.३ मिलियन बनाएको छ । त्यो समय धम्कीलाई बेवास्ता गर्दै रुश्दीले भनेका थिए, इनाममा मानिसहरूले चासो देखाएको कुनै प्रमाण छैन ।
बीबीसी रेडियोमा बोल्दै उनले आफ्नो पुस्तकको बचाउ गरेका थिए, ‘यो पुस्तकले ईशनिन्दा गरेको सत्य होइन । खुमैनी वा इरानमा कसैले यो पुस्तक बढेका छन् जस्तो मलाई लाग्दैन । उनीहरूले मेरो किताबको बारेमा बाहिरबाट केही चुनिएका कुरा मात्रै सुनेका छन् ।’ त्यही वर्ष, रुश्दीले फतवाको बारेमा एक संस्मरण, ‘जोसेफ एन्टोन’ पनि प्रकाशित गरेका थिए ।
उनको किताब ‘द स्याटेनिक वर्सेज’को अनुवाद र प्रकाशन गर्नेहरूको समेत हत्या प्रयास भएको थियो । यसपछि उनलाई बेलायत सरकारले प्रहरी सुरक्षा प्रदान गरेको थियो । रुश्दीले बेलायतमै स्कुलको पढाइ गरेका थिए । उनी करिब एक दशकसम्म भूमिगत रहे । सन् १९९० को दशकको अन्तमा इरानले उनको हत्याको समर्थन नगर्ने प्रस्ट पारेपछि उनी सार्वजनिक जीवनमा देखिएका थिए । केही समययता उनी न्युयोर्कमा थिए । उनी अभिव्यक्ति स्वतन्त्रताका पक्षधर हुन् ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ ११:४६