काठमाडौं महानगरले नर्भिक इन्टरनेसनल हस्पिटलको नक्सा पासबिना बनाएको टहरा अन्ततः हटाउने भएको छ । मंगलबार हस्पिटल र महानगर प्रमुख बालेनबीच टहरा भत्काउने सम्झौता भएको छ ।
गत सोमबारदेखि नर्भिक अस्पतालले नियमविपरीत भवन बनाएको बारे चर्चा चलेकाे थियाे । त्यसबीचमा नर्भिकले सरकारको जग्गा हडपेको, नियमविपरीत लिजमा लिइएको, टहराको नक्सा पास नगरेको जस्ता कुरा बाहिर आए । तर, महानगरले अन्य कुनै कारण नभई नर्भिकले टहरा निर्माण गर्न नक्सा पास नभएकाले हटाउने निर्णय गरेको स्पष्ट पारेकाे छ ।
सोमबार दिउँसाे काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगे । महानगर कर्मचारीसहित पुगेका उनले नर्भिक अस्पतालका केही भूभागहरूमा ‘नियमविपरीत निर्माण भएका घर/टहरा हटाउनेबारे’ लिखित सूचना टाँस्ने आदेश दिए । सूचनामा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५, क्षेत्रफल १–८–१–१ को उक्त जग्गा नर्भिक अस्पतालले लिजमा लिई बनाएका संरचनाहरू सम्झौताविपरीत र नक्सा पास स्वीकृत नगरी निर्माण भएकाे उल्लेख गरिएको थियो । साथै, २४ घण्टाभित्र सो भूभाग खाली गरिनुपर्ने जानकारी सूचनामा उल्लेखित थियो।
मेयर शाहको निर्देशनअनुसार काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले घर/टहरा हटाउन र नहटाए नियमअनुसार कारबाही गर्ने भनी सूचना जारी गरेका थिए ।
सूचना आएको भोलिपल्ट(मंगलबार) नर्भिकले पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपाल सरकारको भूमिसुधार कार्यालय, काठमाडौंका तत्कालीन भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटी र नर्भिक अस्पतालबीच भएको सम्झौता पेस गरेको थियो । नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आफूहरूले कुनै नियमविपरीत काम नगरेको पनि दाबी गरे । तर, नक्सा पास गरे/नगरेको बारे भने उनले स्पष्ट बताएका थिएनन् ।
मिश्रले महानगरले हटाउन आदेश दिइएको क्षेत्रमा उपचाररत बिरामीलाई आवश्यक उपकरण भएकाले तत्काल हटाउन नसकिनेबारे पनि स्पष्टोक्ति पेस गरेको थियो । उक्त क्षेत्रमा अक्सिजन प्लान्ट, विद्युत् वितरण प्यानल, खानेपानी र डायलाइसिस सप्लाइ रहेको नर्भिकले बताएको छ ।
साथै, अस्पतालले सोमबार नै महानगरलाई टहरा हटाउन नसकिने पत्र पठाएको दाबी पनि गरेको थियो । महानगरले त्यस पत्रको जवाफ पनि नदिएको गुनासो नर्भिकको थियो । तर, महानगरमा भत्काउने/नभत्काउने विषयमा कुनै पत्र नआएको जानकारी प्रवक्ता नवीन मानन्धरले दिएका थिए ।
यसैबीचमा २४ घण्टे अल्टिमेटम सकिएपछि महानगरका प्रहरी बलसहित बालेन नर्भिक पुगे । बालेन नर्भिक पुगेसँगै अस्पतालका कर्मचारीहरूले उनलाई संरचना नभत्काउन आग्रह गरेका थिए । पछि बालेनले नर्भिक अस्पतालले नक्सापासबिना बनाएका संरचना हटाउनका लागि अल्टिमेटम दिए ।
बालेनले उपचारमा नै समस्या आउने भएकाले अस्पतालका प्राविधिकहरूलाई पनि राखेर कति समय लाग्ने हो, त्यसका आधारमा निर्णय गर्न निर्देशन दिएका छन् । बालेनले भने लिज एग्रिमेन्टसँग आफूलाई कुनै समस्या नरहेको पनि बताए ।
काठमाडौं वडा १७ का अध्यक्ष र महानगरका प्रवक्ता नवीन मानन्धरले पनि नर्भिकलाई नियमविपरीत, नक्सा पास नगरी संरचना बनाएकाले महानगरले भत्काउने आदेश दिएको बताए ।
‘महानगरको ध्यानाकर्षण नक्सा पासबिनै टहरा बनाइएको विषयमा भएको हो । अन्य कारणले होइन । जग्गा लिजमा लिइएको भनिएको छ । उक्त कुरामा महानगरले छानबिन गरेको छैन । नेपाल सरकारसँग सम्झौता गरिएको भनिएकाले महानगरले हस्तक्षेप गर्दैन । तर, नक्सापास गरे/नगरेको कुरा महानगरले छानबिन गर्ने र आवश्यक कार्य गर्ने भएकाले टहरा भत्काउन निर्देशन दिएका हौँ’, मानन्धरले स्पष्ट पार्दै शिलापत्रसँग भने ।
अन्ततः महानगर र नर्भिकले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् । मंगलबार अस्पताल र महानगरबीच समिति बनाउने सहमति भएको हो । उक्त सहमतिको सिफारिसअनुसार काम हुने जनाइएको छ ।
नर्भिक अस्पतालले पनि भूमि सुधार कार्यालयका तत्कालीन भूमिसुधार अधिकारीसँग सम्झौता गरेको बताएको थियो । जग्गा लिज लिनेसम्बन्धी कुरामा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने नियम छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार भोगाधिकार दिन वा लिजमा दिन मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ ।
बालेनले पनि हिजो मन्त्रिपरिषद्ले निर्णय गरेर लिजमा दिए आफूलाई कुनै समस्या नरहेको बताउँदै नर्भिकबाट फर्किएका थिए । नर्भिकले ऐन अनुसार नै सम्झौता गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिएका छन् ।
तर, मंगलबार महानगरसँगको विवादले मन्त्रालयको उक्त कुरामा ध्यानाकर्षण भएको थियो । त्यसबाट प्रचलित भाडा दरभन्दा नर्भिकले दिने भाडा निकै कम रहेकोतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको हो ।
जोशीका अनुसार मन्त्रालयले प्रचलित भाडा दरअनुसार व्यवस्थापन गर्ने प्रक्रिया अघि सारेको छ । ‘महानगरसँगको विवादले मन्त्रालयमा नर्भिकलाई लिज लिएको कुरा छानबिन भयो । लिज ऐनअनुसार लिइएको छ । तर, प्रचलित भाडा दरअनुसार नर्भिकको भने निकै कम रहेकोले भाडा भने त्यस क्षेमा प्रचलित भएअनुसारको लिइनेबारे प्रक्रिया अघि बढेको छ । टहरा भत्काइए पनि जग्गा लिजमा लिन गरेको सम्झौता कायम नै रहनेछ’, जोशीले शिलापत्रसँग भने ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ १८:५०