पदमपोखरीकी २९ वर्षीया संगीता वाइबा कुनै समय सामाजिक क्षेत्रमा सक्रिय थिइन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, ठूलोथली निवासी संगीता समाजमा हुने कुरीति र सामाजिक असमानताविरुद्ध पीडितहरूको पक्षमा आवाज बन्दै आएकी थिइन् ।
पछिल्लो ६ महिनायता भने संगीताले कृषिक्षेत्र रोजेकी छन् । हिजोआज उनी मेवाबारीमा भेटिन्छिन् । उनले मेवासँगै सयपत्री फूलको खेती पनि गर्दै आएकी छन् । सामाजिक अभियन्ता बनेर काम गर्दै आएकी संगीता आर्थिक उन्नतिबाट महिला सशक्तिकरण गर्न सकिन्छ भन्ने सन्देश दिनकै लागि हाल कृषि व्यवसायमा लागेको बताउँछिन् ।
महिलाहरूलाई पनि कृषि व्यवसायमा लाग्न प्रेरणा होस् भनेर यो पेसामा आएको उनकाे भनाइ छ । त्यसैले पनि महिला मिलन बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएर स्थानीय महिलालाई समेत कृषिबाट आयआर्जनको बाटो बनाउन सल्लाह र सहयोग संगीताले दिँदै आएकी छन् ।
उनकै सहयोग र सल्लाहअनुसार हेटौँडा उपमहानगरपालिका– १३, पदम पोखरीमा अन्य २२ जना महिलाहरूले पनि व्यावसायिक मेवा खेती गरिरहेका छन् । उनीहरूले एउटा समूह नै बनाएर पहिलोपटक मेवाखेती सुरु गरेका हुन् । यदि उनीहरू यो पेसामा सफल भए थप अरु महिलाहरूले पनि कृषि पेसा रोज्ने संगीताको विश्वास छ ।
व्यावसायिक रूपमै मेवा खेती गर्न थालेकी संगीता भन्छिन्, ‘४ सय २३ वटा मेवाका बिरुवा हुर्किएका छन् । स्थानीयस्तरमै उपलब्ध रेड लेडी मेवाका बिरुवा लगाएकी छु । यो दुई महिनादेखि केही बिरुवामा फूल लाग्छ । तीन महिनादेखि फल लाग्न सुरु हुन्छ ।’
व्यावसायिक मेवा खेती गर्दा लगानी कम उत्पादन धेरै गर्न सकिने हुँदा नै यो पेसामा लागेको संगीता बताउँछिन् । उनको बारीमा अहिले हरियाली देखिन्छ । अहिले मेवा उत्पादन हुन थालेपछि त झन् उनी खुसीले गद्गद् छिन् ।
उनले लगाएका मेवाका ५० प्रतिशतभन्दा बढी बोटले फल पनि दिन थालिसकेका छन् । गत वर्षको चैतमा तालिम लिएर चैतबाटै संगीताले मेवा खेती सुरु गरेकी हुन् । कृषि व्यवसायका लागि परिवारले पनि सहयोग गरेको र परिवारको सहयोगमा व्यावसायिक मेवासँगै सयपत्री फूलको खेती पनि थालेको उनले सुनाइन् ।
मेवा खेती गर्न पदमपोखरीमा रहेको त्रिवेणी कृषि सहकारी संस्थाले सहयोग गरेपछि यो पेसा रोजेको उनी बताउँछिन् । मेवा खेतीका लागि अहिलेसम्म करिब २ लाख ५० हजार रुपैयाँ र सयपत्री फूलका लागि १ लाख रुपैयाँ मात्र लगानी गरेको उनको भनाइ छ । पहिलोपटक फलेको मेवाबाट १० लाख रुपैयाँको व्यापार भइसकेको उनको दाबी छ ।
६ कट्ठा जमिनमा संगीताले मेवा खेती गरकी छन् । उनले मेवाबारीभित्र सयपत्री फूल र अन्य तरकारी खेतीसमेत गर्दै आएकी छन् । मेवा खेतीसँगै सयपत्री फूल र अन्य तरकारी खेती पनि मेवाबारीमै गर्नाले तेब्बर फाइदा भएको उनले बताइन् । मौसमले साथ दिए यस वर्षको असोजदेखि मंसिर महिनासम्ममा सबै खर्च कटाएर मेवा, सयपत्री फूल र तरकारीबाट १७ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य उनको छ ।
संगीता भन्छिन्, ’कृषि कर्ममा लागेर उत्पादन होइन, पैसा पो टिप्न थालेजस्तो लाग्न थालेको छ ।’ मेवा र सयपत्री फूलबाट आएको आम्दानीले गाउँमा बाँझो रहेका जमिन भाडामा लिएर तरकारी खेती गर्ने योजना रहेको संगीताको भनाइ छ ।
संगीताले सुनाइन्, ‘महिलाहरूलाई पनि कृषि व्यवसायमा ल्याउनुपर्छ भन्ने मान्यता राख्दै चुनौती मोलेर यो पेसामा आएकी हुँ । महिलाहरू चुल्होचौकोमा मात्रै सीमित हुनुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्किएर उद्यमशील बन्नुपर्छ भन्ने सोच मेरो छ ।’ ’महिलाहरूले घरको काम मात्र हेर्ने होइन । कृषि, व्यापार–व्यवसाय र उद्यमशीलतातिर पनि लाग्नुपर्यो । महिलाहरूले एक त कृषिको काम दैनिक गर्नुपर्ने बाध्यता छ । त्यही कामलाई पेसामा बदले पुग्छ’, उनले थपिन् ।
संगीताका अनुसार कृषि उत्पादन बिक्रीवितरणका लागि बजारको समस्या छैन । व्यापारीले बारीबाटै मेवा र सयपत्री फूल खरिद गर्न थालेका छन् । तर, संगीता महिलालाई कृषिमा लाग्न प्ररेणा दिँदै भन्छिन्, 'मेवा र सयपत्री होइन, पैसा टिप्दैछु ।'
बजारको मूल्य बुझेर मात्र बिक्री गर्दै आएकी छिन् उनले । धेरैजसो त उनी आफैँले बजारमा लगेर बेच्ने गरेकी छिन् ।
सरकारले कृषि पेसामा लागेका महिलालाई स्थानीय तहबाट तालीम, सहुलियतपूर्ण ऋण, बजारको व्यवस्था, आधुनिक खेतीका लागि घरेलु तालिम र महिला कृषि विकास कोष खडा गर्नुपर्ने उनको माग छ । घरेलु कृषिमा काम गर्दै आएका महिला सरकारले आधुनिक कृषिको तालिम दिए अहिलेभन्दा तीन गुणा उत्पादन बढ्ने संगीताको दाबी छ ।
पछिल्लो समय नेपालमा मेवाको माग बढ्दो छ । जन्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्न थालेपछि मेवाको माग बढेको उनको भनाइ छ । मेवा फाइदाजनक फलफूलको रूपमा चिनिन्छ । नेपालमा उत्पादन नहुँदा भारतलगायत देशबाट वार्षिक ५ अर्बको मेवा आयात हुने गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९ ०६:०३