सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ लागू हुने भएको छ । निर्देशिकाअनुसार परीक्षार्थीले ट्रायल दिँदा विभिन्न चरणमा ७० अंक ल्याए पास हुने प्रावधान छ ।
सोमबार संघीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलगायत सातै प्रदेशका यातायातमन्त्रीहरूको बैठकले उक्त निर्णय गरेको हो ।
सानो गल्तीमा पनि फेल भएर सेवाग्राही विचौलियाको चङ्गुलमा फसेको भन्दै यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका २०७७ बनाएको थियो । केही प्रदेशका मन्त्रालयहरूले भने यो निकै झन्झटिलो भएकाले तत्काल लागू गर्न नसकिने जनाएका थिए ।
बैठकले सवारीचालक अनुमतिपत्रका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागमार्फत प्रदेश कार्यालयहरूलाई लाइसेन्स छपाइ मेसिन दिने र कार्यालयहरू आफैँले छापेर वितरण गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, परीक्षणकालीन लाइसेन्सको हकमा सवारीचालक परीक्षा गर्ने सबै कार्यालयहरूले राजस्व बुझाएकै दिन परीक्षणकालीन लाइसेन्स जारी गरी वितरण गर्नुपर्ने निर्णय पनि भएको छ ।
कसरी दिइन्छ अंक ?
सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षार्थीहरू सानो गल्तीमा फेल हुने छैनन् । पहिलेकै प्रयोगात्मक परीक्षालाई सातवटा चरणमा छुट्याइएको छ । यी सात चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ । त्यस्तै लिखित परीक्षामा भने ६० अंक ल्याउनुपर्छ ।
कसरी हुन्छ पास/फेल ?
ए र के वर्गको हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एकपटक अंकित रेखा छोएमा ५ र एक पटक खुट्टाले भुइँमा टेकेमा ५ अंक काटिनेछ । त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा र सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।
दोस्रो चरणको साँघुरो फलेकको अंकभार १० कायम गरिएको छ । यो चरणमा खुट्टाले भुइँमा टेकेमा र फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाहिर निस्केमा परीक्षार्थीलाई अनुत्तीर्ण घोषणा गरिनेछ ।
त्यस्तै, तेस्रो चरणको यू–टर्नको अंकभार १० कायम गरिएको छ । यसमा इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।
चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ भने फेल भने हुने छैन ।
त्यसैगरी, पाचौँ चरणमा रहेको बम्पसको अंकभार १५ छ । यसमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । त्यस्तै, एकपटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा र एकपटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।
छैटौँ चरणमा रहेको र्याम्प (उकालो/ओरालो) को अंकभार २० छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।
त्यस्तै, अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूमा सामान्य निरीक्षण नगरे ३, हेल्मेटको लक नलगाई सवारी चलाए ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाए ३ नम्बर काटिनेछ ।
विभागले बी क्याटगोरीका लागि पनि सातवटा चरण बनाएको छ । पहिलो चरणको घुमाउरो ८ को अंकभार २० छ । यसमा दुई पटकसम्म अंकित रेखा छोएमा ५/५ अंक काटिनेछ ।
त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशा वा ठीक तरिकाबाट ८ नघुमाएमा, अगाडि बढ्ने क्रममा सवारीलाई पछाडि सारेमा भने परीक्षार्थीलाई अनुत्तीर्ण गरिनेछ ।
त्यसैगरी, दोस्रो चरणको उबडखाबडको अंकभार १० कायम गरिएको छ । यसमा एकपटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ भने एक पटकभन्दा धेरै स्टार्ट बन्द भएका परीक्षार्थीलाई फेल गरिनेछ ।
तेस्रो चरणमा यू–टर्नको अंकभार १० छ । यसमा ट्रेनिङ इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण गरिनेछ । त्यस्तै, चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ कायम गरिएको छ । संकेत पालना नगरे १५ नम्बर घटाइए पनि फेल भने नगरिने बताइएको छ ।
पाचौँ चरणमा रहेको र्याम्प (उकालो/ओरालो) को अंकभार १५ छ । यसमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थामा सवारी अगाडि र पछाडिको टायर ६ इन्चभन्दा धेरै सरेमा, उकालो पार गरी ओरालो झर्ने क्रममा रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अघि बढेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा परीक्षार्थी फेल हुनेछ ।
छैटौँ चरणमा रहेको ग्यारेज पार्किङको अंकभार २० छ । यसमा सवारीलाई पछाडि गुडाउने क्रममा एक पटकसम्म अगाडि सरेमा १० नम्बर काटिनेछ भने पछाडि गुडाउने क्रममा एक पटकभन्दा धेरै अगाडि सरेमा र अंकित रेखा छोएमा परीक्षार्थी फेल हुनेछ ।
त्यसैगरी, सातौँ र अन्तिम चरणमा परीक्षार्थीको व्यावहारिक पक्षको समग्र मूल्याङ्कनका लागि अंकभार १० कायम गरिएको छ । यसमा सवारी चलाउनुपूर्व ब्रेक, टायर र ऐनाहरूका सामान्य निरीक्षण नगरे, सिटबेल्ट नलगाई चलाएमा ४ र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ नम्बर काटिनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १६:४२